राजधानीकै मुटुमा रहेको सगरमाथा कम्प्लेक्सको २०२ नम्बर कोठाबाट यसरी हुन्छ मानव तस्करी, नेपाली युवाहरूसँग लिएको रकमबाट फिलिपिन्समा घर
काठमाडौं १३ वैशाख - दर्जनौ युवाको लाखौँ रुपियाँ लुटेर बन्द भएको बालुवाटारको ‘जेनेक्स इन्टरनेशनल प्रा.लि.’ले अर्को नामबाट आफ्नो अस्तित्व बनाएको छ ।
नयाँ अस्तित्वमा आएसँग सो प्रालिका सञ्चालकहरूले युवाहरूलाई मेडिकल शिक्षादेखि राम्रा विदेशी मुलुक पठाउने बहानामा लाखौँ उठाउने धन्दा सुरू गरिसकेका छन् ।
जेनेक्सका सञ्चालक अभीषेकध्वज शाहले नक्सालस्थित सगरमाथा कम्प्लेकसको २०२ नम्बर कोठामा कार्यालय राखेर ‘इर्मा इन्टरनेशन कन्सल्टेन्सी’ स्थापना गरेका हुन् । इर्मामार्फत अभीषेकध्वजले फेरि ठगी धन्दा सुरू गरेको पीडित युवाहरूले बताएका छन् ।
ठगी धन्दामा अभीषेकलाई उनकी पत्नी सृष्टि राणाले पनि साथ दिने गरेकी छिन् ।
सर्वसाधारण युवाहरूलाई अमेरिका, क्यानडा, दुबई, यूरोपलगायतका मुलुकमा पठाउनेभन्दै प्रभाकर विक्रम शाह र आयुष्मा राणाले पनि अभीषेकध्वजलाई साथ दिने गरेका छन् । प्रभाकर र आयुष्मा पतिपत्नी हुन् । यो जोडीले नेपाली युवाहरूसँग लिएको रकमबाट फिलिपिन्समा घर किनेको छ । फिलिपिन्स र भारतमा बसोबास गर्दै आएको प्रभाकर र आयुष्मा नेपालमा आक्लझुक्कल आउने गर्छन् । आएपनि लुकेर हिँड्ने गरेको पीडित युवाहरूले बताएका छन् ।
यो समूहले खगेन्द्र सिटौलाको ५० लाख, जीवन शाहीको २२ लाख, कैलाश चौधरीको ५ लाख, शम्भु यादवको ५ लाख, गोविन्द गुरुङको २ लाख ज्ञानेन्द्र पाण्डेको ३ लाख, प्रकाश लामाको ५ लाखा र नील चौधरीको १० लाख रुपियाँ लिएर खाइदिएको आरोप छ ।
फिलिपिन्समा चिकित्सा अध्ययन र अमेरिका तथा अन्य राम्रा मुलुकमा पठाइदिन्छु भनेर उनीहरूले लाखौँ रकम उठाएको एक पीडितले बताए । ‘पैसा माग्दा दिँदैनन्’, ती पीडित युवाले भने, ‘धम्की दिएर भेट्नै चाहँदैनन । उजुरी पनि दिएका छौँ । कारबाही नै भएको छैन ।’
अभीषेकध्वज, सृष्टि, प्रभाकर र आयुष्माविरुद्ध श्रम विभागमा उजुरी पनि परेको छ । उजुरी परेपनि उनीहरू भागेर हिँडेकाले कारबाही हुन सकेको छैन । विभाग र प्रहरी प्रशासनले कारबाहीतर्फ ध्यान नदिएको पीडित युवाहरूको गुनासो छ ।
पीडित युवाहरूले ‘इर्मा’ कन्सल्टेन्सीले फेरि सुरू गरेको ठगी धन्दा र मानव तस्करी तत्काल बन्द गर्न सरोकारवाला निकायसँग माग गर्दै आफूहरूको डुबेको पैसा फिर्ता गराइदिन आग्रह गर्दै आएका छन् ।



0 comments
Write Down Your Responses