चामत्कारीक स्वास्थ्य सेवा, अहोरात्र खटे स्वास्थ्यकर्मी, नर्स र डाक्टर गत वर्ष भूकम्पको बेला

‘नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र हो । भूकम्प त जान्छ तर कहिले जान्छ भन्न सकिन्न ।’ वर्षांैदेखि सरोकारवालाहरुले यस्तो चेतावनी दिए पनि न यो विपत्तिलाई सामना गर्ने संयन्त्र थियो, न तयारी नै । 


यस्तो अवस्थामा वैशाख १२ गते ७.६ रेक्टर स्केलको भूकम्प आएपछि धेरैलाई लागेको थियो– हजारौँ घाइते उपचार नपाएर मर्नेछन् । धन्न त्यस्तो परिस्थिति बेहोर्नुपरेन । बरु क्लिनिकतिर धेरै देखिने चिकित्सक, स्वास्थ्यकर्मी र नर्सको समेत भूकम्पकै कारण नयाँ परिचय बन्यो – सेवामुखी । अघिपछि बिरामी खल्ती छामेर मात्रै भर्ना गर्ने निजी अस्पतालसमेत सेवामा तम्तयार भएर बसे । बिदामा बसेका चिकित्सक हुन् वा स्वास्थ्यकर्मी, सेवाभाव लिएर तुरुन्तै कार्य क्षेत्र पुगे । र, घाइतेले विपत्तिले दिएको चोटमाथि उपचार नपाएको पीडा लिएर छटपटाउनु परेन । सबैले चामत्कारीक सेवा गरे । उपत्यकाभित्रका ठूला अस्पताल वीर, त्रिवि शिक्षण, पाटन, सैनिक, निजामती कर्मचारी, भक्तपुरदेखि उपत्यकाबाहिर बढी प्रभावित जिल्लाका अस्पताल र धुलिखेल अस्पतालको सेवा प्रशंसनीय छ । 

तीव्र राजनीतिकरण, कमजोर व्यवस्थापनले भवनजस्तै जर्जर बनेको वीर काठमाडौंमा सबैभन्दा बढी घाइते भएको धरहरा वरपरको क्षेत्रका लागि ठूलो भरोसा बन्यो । शनिबार परेकाले सबै अस्पतालमा न्यून संख्यामा मात्रै चिकित्सक र नर्स थिए । तर, जहाँ जुन अवस्थामा थिए, त्यही अवस्थामा भूकम्पको केही समयमै अस्पताल परिसरमा हाजिर भइसकेका थिए । एमबिबिएस, एमडी÷एमएस, लगायत नर्सिङ र थुप्रै सामान्य चिकित्सा विषयका पढाई हुने आइओएम अन्तर्गतको त्रिवि शिक्षण अस्पतालमा स्वतःस्फुर्त रुपमा स्वास्थ्यकर्मीहरु सेवामा ओर्लिएका थिए । जापान सरकारको सहयोगमा बनेको त्रिवि शिक्षण अस्पताल भवन तुलनात्मक रुपमा सुरक्षित छ । भूकम्पलगायतका प्राकृतिक विपत्तिका समयमा पनि निरन्तर स्वास्थ्य सेवाका लागि केही तयारी गरेको थियो अस्पतालले । 

अस्पतालको विपद् व्यवस्थापन कमिटी तत्काल सक्रिय भयो । अस्पतालमा पुगेका घाइतेलाई अवस्थाका आधारमा हरियो, पहेँलो र रातोमा वर्गीकरण गर्ने सिस्टम (ट्रियाज) लागू गरियो । अस्पतालका निर्देशक डा. दीपक महराका अनुसार सोही आधारमा कम जोखिम भएका (हरियो) समूहका घाइतेलाई अस्पतालको चौरमै राखेर, पहँेलोलाई अस्पताल टिकट काउन्टरअगाडि र रातो अर्थात् गम्भीर घाइतेलाई काउन्टरभित्रको प्यासेजमा राखेर उपचार थालिएको थियो । भवन तुलनात्मक रुपमा सुरक्षित भएकाले पनि अस्पतालका वरिष्ठ चिकित्सकहरुले परकम्पनको वास्ता नगरी शल्यक्रिया गरे । ‘ठूलो संख्यामा घाइते आउँदा त्रिवि शिक्षण अस्पतालमा रहेको ब्लड बैंकमा करिव ३० पिन्ट मात्रै रगत थियो,’ डा महराले भने, ‘अस्पताल प्रशासनले पुराना दातालाई फोन गराएर बोलाएको थियो । दोस्रो दिनमै ६ सय पिन्ट रगत जम्मा भयो ।’ 

शिक्षण अस्पतालमा फिजिसियन, गाइनोजस्ता विधाका चिकित्सकले बिरामीको गम्भीर अवस्थालाई हेर्दै तत्काल शल्यक्रिया गर्नुपर्नेको सूची बनाएका थिए । शल्यक्रियाका लागि ढिलाइ गरे पनि फरक नपर्नेका लागि पर्खाइमा राखिएको थियो । भूकम्पअगावै शल्यक्रियाको पर्खाइमा रहेकालाई डिस्चार्ज गरिएको थियो । केही दिनपछि डिस्चार्ज गर्ने योजनामा रहेकालाई समेत प्रशासनले तत्काल डिस्चार्ज गरेर शैया खाली गराएको थियो । ‘यसले गर्दा थुप्रै बेड खाली भए, त्यसपछि अप्रेसन सुरु भयो । पहिलो रात नै २४ वटा मेजर अप्रेसन भए,’ डा.महराले भने, ‘दोस्रो दिनसम्म त १ सय ५० मेजर शल्यक्रिया नै भइसकेका थिए ।’ अस्पतालले प्रयोगशाला जाँच, डे«सिङ, खानाको प्रवन्धका लागि स्वयंसेवकको माग गर्दा हजारौँको दरखास्त परेको थियो । ठूलो अस्पताल वीरले कमजोर भौतिक पूर्वाधारको बीचमा पनि उल्लेखनीय सेवा पु¥याएको थियो । 

‘अस्पताल प्रांगणदेखि बाटोसम्म पनि घाइते थिए,’ वीरका निर्देशक डा. स्वयंप्रकाश पण्डित भन्छन्, ‘मोबाइलले काम गरेको थियो, प्रहरीको सञ्चार सम्पर्कबाट सकेसम्म अस्पताल आउन नसकेमा नजिकैको अस्पतालबाट सेवा दिन सबै डाक्टर र नर्सलाई आग्रह ग¥यौं ।’ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीरमा तीन सयको हाराहारीमा रेसिडेन्ट चिकित्सक रहने भएकाले चिकित्सकको अभाव भएन । विपत्तिमा सेवा अवरोध नहोस् भनेर केहीले सामान्य तयारी गरेका भए पनि अधिकांश अस्पताल तयार थिएनन् । न अहिले कार्यरत जनशक्तिले यो अवस्थाको सामाना नै गरेको थियो । 

‘म आफैं पनि त्यो दिन विदामा थिएँ, भूकम्पपछि अस्पताल पुग्दा त्यहाँको अवस्था देखेर के गर्ने सोच्नै सकिनँ, जताततै रगताम्य घाइते छट्पटाइरहेका थिए,’ पण्डित थप्छन्, ‘सबै विभागीय प्रमुखलाई फोन गरेर पूर्ण टिम अस्पताल बोलायौं ।’ निरन्तर कम्पनका कारण अस्पतालमा भर्ना भएका बिरामीसमेत आत्तिदै कम्पाउन्डमा झरे । वीर मात्रै होइन, अधिकांश सरकारी अस्पतालले घाइतेलाई वर्गीकरण गरेर गम्भीरताका आधारमा सेवा दिएका थिए । ‘यो वर्गीकरण गर्नुपर्छ भन्ने चाहिँ थियो तर यसको अभ्यास थिएन,’ स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा.गुणराज लोहनीले भने । अधिकांश अस्पतालका संरचना भूकम्प प्रतिरोधी नभएकाले धैर्य भएर काम गर्ने वातावरण थिएन । अस्पतालभित्रैकै बिरामी भवनमा बस्न नमानिरहेको अवस्थामा अस्पतालका प्यासेज, परिसर बिरामीले भरिभराउ थिए । 

यस्तो अवस्था आएपछि अस्पतालको व्यवस्थापनले विकल्प खोजिरह्यो । चिकित्सक र स्वास्थ्यकर्मी आउन थालेपछि गम्भीर अवस्थाका बिरामीको शल्यक्रिया गर्ने टिम तयार भयो । तर, पुरानो भवनबाट सेवा दिन कोही तयार भएनन् । २२ शैयामात्रै सञ्चालनमा आएको ट्रमा सेन्टरको माइनर शल्यकक्षमै शल्यक्रिया सुरु भयो । तुलनात्मक रुपमा सुरक्षित ठानिएको र भूकम्प प्रतिरोधी भवन भएकाले धक्काका बीचमा पनि चिकित्सकहरुले ट्रमामा शल्यक्रिया सेवा दिए । यसपटक वीर र त्रिवि शिक्षण अस्पतालमा घाइतेलाई गाडीबाट भित्र लैजान, उनीहरुका विभिन्न परीक्षण एवं निदान गर्ने स्थलसम्म लैजान र ल्याउन, लासको व्यवस्थापन गर्न स्वतःस्फुर्त रुपमा खटिएका स्वयंसेवकले महत्पूर्ण भूमिका निर्वाह गरे । 

पहिलो दिनमै ट्रमाको एउटा आकस्मिक शल्यकक्षबाट आठ जनाको शल्यक्रिया भएको थियो । बैशाख १३ गते नै वीरले पुराना भवनमा रहेका अपरेसन थिएटर (ओटी)का सामान झिकेर ट्रमा सेन्टरभित्रका पाँचवटै ओटी सञ्चालनमा ल्याएको थियो । भोलिपल्टै ट्रियाज सिस्टमलाई लागू गराएको वीरमा अविच्छिन्न स्वास्थ्य सेवाका लागि अस्पतालको सिंगो टिमले उत्तिकै साथ दिएको निर्देशक डा. पण्डितको अनुभव छ । अस्पताल पुगेका घाइतेले उपचारको अभावमा ज्यान गुमाउने अवस्था नआओस् भनेर थुपै्र निकायले अस्पताललाई आवश्यक सहयोग गरेका थिए । ‘पानीको अभाव सेना र प्रहरीले पूरा गरिदिए, बिरामी र चिकित्सकलाई समेत विभिन्न गैरसरकारी संस्थाका स्वयंसेवकले खाना खुवाए,’ उनले भने । पूर्ण रुपमा नचलेको भए पनि ट्रमाको भवन तयार भएकाले यसपटक वीरको साख मात्रै जोगिएन, थुपै्र घाइतेले उपचार समेत पाए । ट्रियाज सिस्टमको प्रभावकारी लागू गराएको अर्को अस्पताल पाटनले तत्कालै फिल्ड अस्पताल स्थापना ग¥यो । लगातार परकम्पन आउन थालेपछि भर्ना भएका बिरामी अस्पतालबाट बाहिर निस्किए । घाइते आउने क्रम बढेपछि भने व्यवस्थापन केही असहज भयो । पाटनका निर्देशक डा. पवन शर्माले भने, ‘म पुग्दा भित्र भएका बिरामीसमेत भवन भत्किने डरले बाहिर निस्केका थिए । अस्पताल परिसरमै ४० शैया राखेर उपचार सुरु गराएँ ।’ 

अस्पतालले फिल्ड अस्पतालबाट प्रसूति शल्यक्रियाबाहेकका सबै सेवा सुरु गरायो । दोस्रो दिनदेखि अस्पतालले नजिकैको फुटबल मैदानमा अर्को आपतकालीन फिल्ड अस्पताल बनाएर सेवा दियो । प्रशस्त खाली ठाउँ र भूकम्पप्रतिरोधी भवन भएको निजामती कर्मचारी अस्पताल पनि ठूलो भरोसाको केन्द्र बन्यो । सिन्धुपाल्चोक, भक्तपुर, रामेछाप, दोलखाबाट ल्याइएका घाइते मात्रै होइन, बानेश्वर क्षेत्रका थुपै्र घाइतेको उपचार भयो । छिमेकी जिल्ला भक्तपुर जिल्ला अस्पताल, काभ्रेस्थित धुलिखेल अस्पताल र अरु बेला सर्वसाधारणको पहँुच नभएको सैनिक, सशस्त्र प्रहरी र प्रहरी अस्पताल समेत विपत्तिमा सर्वसुलभ हुँदा राहत महसुस भयो । भूकम्प बढी प्रभाव पारेका सिन्धुपाल्चोक, नुवनकोट र रसुवामा जिल्ला अस्पतालका भौतिक संरचना ध्वस्त भए पनि जिल्ला अस्पतालहरुले हजारौँ घाइतेलाई सेवा पु¥याएका थिए । निजी अस्पतालहरुले समेत भूकम्पका समयमा उल्लेखनीय भूमिका निर्वाह गरे । 

सुविधा सम्पन्न र भूकम्प प्रतिरोधी भवनयुक्त दावी गर्ने ठूला अस्पतालभन्दा स्थानीय तहमा देखिएका घाइतेको उपचारमा साना निजी अस्पतालले समेत महत्वपूर्ण भूमिका पु¥याएका थिए । निजी अस्पताल तथा नर्सिङ होम एसोसिएसनका महासचिव गोपि न्यौपानेले निजी अस्पतालले पनि विपद्को समयमा पैसाभन्दा सेवालाई प्राथमिकतामा राखेर काम गरेको बताए । धेरै ठाउँमा बाटो बन्द भएका, आपतकालीन अवस्थामा ठूला अस्पतालसम्म पु¥याउने सम्भावना नरहेको र ठूला सरकारी अस्पतालमा भीड बढेका बेला निजी अस्पतालहरुले समेत ठूलो राहत दिए । कतिपय अस्पतालले भवन चर्चिएका कारण केही दिन अस्पतालभित्रबाट शल्यक्रिया लगायतका महत्वपूर्ण सेवा दिन नसके पनि प्राथमिक उपचारका काम भने जारी राखेका थिए ।

,

0 comments

Write Down Your Responses