राहतका लागि पठाएको चामल दुई वर्षसम्म गोदाममै थन्के पछी

मुगु: दुई वर्षअगाडि किसानले लगाएको अन्नबाली घर भित्र्याउने बेला परेको असिनाले जिल्लाका आठ गाविसमा सम्पूर्ण बालीमा क्षति पुर्‍याएपछि सरकारले तत्काल राहतका लागि पठाएको चामल दुई वर्ष बितिसक्दा पनि वितरण नगरी गोदाममै थन्काएर लुकाई राखिएको पाइएको छ। 


विसं ०७१ कात्तिक ८ गते परेको असिनाले किसानले लगाएको अन्नबाली नष्ट गरेपछि सरकारले तत्कालका लागी भनेर जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड भेगका पाँच गाविस सदरमुकाम नजिकका दुई र सोरु भेगका एक गाविसका असिना पीडितका लागि तीन हजार १०४ क्विन्टल १० किलोचामल राहत पठाएको भए पनि ५४ क्विन्टल चामल दुई वर्ष बितिसक्दा पनि कोटडाँडा-१ देखि ४ सम्मका ११५ घरधुरीलाई वितरण गरिनुपर्ने चामल वितरण नगरी जुम्ला जिल्ला विराट गाविसस्थित गोठी ज्युला भन्ने स्थानको एक घरमा थन्काएर लुकाई राखिएको हो।

जिल्ला खाद्य व्यवस्थापन समितिको निर्णयले सरकारले असिना पीडितका लागी छुटाएको तीन हजार १०४ क्विन्टल चामल सुर्खेतदेखि खत्याड भेगका पाँच गाविसका लागि श्रीकोट डिपोसम्म ढुवानी गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्लास्तरका नेता पुरु नेपालीलाई जिम्मा दिएको थियो। खत्याड भेगका पाँच गाविसका लागि छुटाएको दुई हजार २२० क्विन्टल चामलमध्ये ५४ क्विन्टल खाद्यान्न वितरण नगरी ढुवानीको जिम्मा लिएका नेपाली र सेरी गाविसका जनक टमटा लगायतका अन्य व्यक्तिको मिलेमतोमा दुई वर्षसम्म गोदाममै थन्काएर राखिएको पाइएको छ। जिल्ला कृषि विकास कार्यालयले असिनाबाट पीडित गाविसको क्षतिपूर्ति मूल्याङ्कनअनुसार खत्याड भेगका श्रीकोटका लागि एक हजार २०० क्विन्टल ६० किलो, सेरीका लागि ५३३ क्विन्टल ९६ किलो, गम्थाका लागि २५१ क्विन्टल १० किलो, खमालेका लागि ६० क्विन्टल र कोटडाँडाका लागि २१९ क्विन्टल चामल राहतका रुपमा सरकारबाट प्राप्त भए पनि अहिले कोटडाँडा गाविस रिखिया गाउँको ५४ क्विन्टल चामल दुई वर्षदेखि गोदाममा थन्किएको छ। 


ढुवानीकर्ता नेपालीले डिपोसम्म चामल नपुर्‍याएपछि गोदामलाई सेरी गाविस-१ का राजबहादुर मल्ल, सोही वडाका प्रेम शाही र खाद्य संस्थान मुगुका कर्मचारी कर्ण रावलले गोदाममा रहेको घर मालिक लालसिंह बुढाको रोहवरमा प्रहरी चौकी गोठी ज्युलाले मुचुल्का उठाई गोदाम तालाबन्द गरेको गोठी ज्युलाका स्थानीयवासी कृष्णमान बुढाले बताए। राहतको खाद्यान्न हालसम्म पनि सिंजाको गोठी ज्युलामा रहेको तथा असिना पीडितले नपाएको भन्ने गुनासो नआएको तथा चामल वितरण गरिएको बिल भर्पाईअनुसार खाद्यान्नको ढुवानी रकम दिई सकिएको जानकारी मात्र प्राप्त भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए। असिना पीडितका नाममा आएको राहतको खाद्यान्न जुम्ला जिल्लाको गोठी ज्युलामा बेचिएको र केही अहिलेसम्म गोदाममा थन्किएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने कोटडाँडा गाविसका स्थानीयवासी मानबहादुर शाहीले बताए। राहतको खाद्यान्न गोठी ज्युलामा थन्किएको जानकारी आएपछि मुगुबाट सञ्चारकर्मीको टोली यसै हप्ता सिन्जाको गोठी ज्युला पुग्दा चामल ढुवानीकर्ता पुरु नेपालीले हालसम्म घर भाडा नदिएको भन्दै घर मालिक लालसिंह बुढाले गोदाम खोल्न मानेनन् । रासस

,

0 comments

Write Down Your Responses