को हुन् राजदूत शर्मालाई छुरा हान्ने नेपाली,भारतीय कामदारलाई पनि छुरा हानेका थिए

साउदी - साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि बिहिबार कार्यकक्षमै छुरा प्रहार भयो । 


दूतावासकै आश्रयममा बस्ने सुनसरीका लक्ष्मणबहादुर राईले शर्मालाई योजनाबद्ध रुपमा कार्यकक्षमै पुगेर छुरा हानेका थिए । राईले हानेको छुराले राजदूत शर्माको मुख, काँध र औँलामा गम्भीर चोट लागेको छ । सामान्य उपचारपछि बिहीबार साँझ शर्मालाई डिस्चार्ज गरिएको छ । राजदूत शर्माको काँध र मुखमा टाँका लगाइएको छ । 

राजदूत शर्माको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको दूतावासका द्वितीय सचिव विजय राउतले जानकारी दिए । राईले बिहीबार बिहान ११ बजे राजदूतको कार्यकक्षमै पसेर ढोकाको चुकुल लगाएर सोफाले आक्रमण गरेका थिए । राई कार्यकक्षमा प्रवेश गरेर एक्कासि आक्रमण गर्न थालेपछि शर्मा ठूलठूलो चिच्याएका थिए । राजदूत शर्माले ठूलो श्वरमा चिच्याएपछि दूतावासका कर्मचारीको सहयोगमा साउदी प्रहरीले ढोका तोडेर शर्माको उद्धार गरेको थियो । राजदूत शर्मामाथि आक्रमण गर्ने राई एक महिनाअघिदेखि स्वदेश फिर्तीका लागि दूतावासमै बस्दै आएका थिए । 

दूतावासका अनुसार मानसिक रोगी रहेका राईलाई केही दिन भित्रैमा स्वदेश पठाउने तयारी भइरहेको थियो । राजदूत शर्मालाई छुरा हान्ने राईले यस अघि एक भारतीय कामदारलाई समेत चक्कु प्रहार गरेका थिए । भारतीय कामदारलाई चक्कु प्रहार गरेपछि राई दूतावासको शरणमा बस्दै आएका थिए । राजदूतमाथि छुरा प्रहार गरेपछि साउदी प्रहरीले राईलाई नियन्त्रणमा लिएको छ ।

0 comments

Write Down Your Responses