ओरालो लागेका राजेश हमालः दिन सकिएकै हुन् ?
समय बलबान छ । यही समयसँगै फेरिन्छ समाज, फेरिन्छ रुची र फेरिन्छन् पात्रहरु ।
कुनै समय नेपाली चलचित्रमा राजेश हमालको एकछत्र थियो । ‘कुनै समय’ भन्दा उनीमाथि अन्याय हुन सक्छ, किनकी झण्डै दुई दशक नेपाली चलचित्रमा उनको राज चल्यो । झण्डै दुइ दशकसम्म उनका प्रतिस्पर्धि नै कोही भएनन् ।
तर, समयसँगै राजेश हमाल ओझेल पर्ने दिन पनि आयो ।
हामी कुरा गरिरहेका छौं, मैझारो हुने क्रममा रहेको वर्ष २०७२ को ।
एकै वर्षभित्र राजेश हमालका एक दर्जन फिल्म प्रदर्शन हुने समय पनि थिए । त्यो अतित बनिसकेको छ । यस वर्ष हमालको जम्माजम्मी एउटा फिल्म दर्शकमाझ आयो, बाग्मती । त्यही फिल्मको हालत पनि यति दयनीय रह्यो कि समिक्षकहरुले समिक्षा लेख्न नभ्याउँदै फिल्म हलबाट उत्रिसकेको थियो । तर, दुख यसमा छैन, कि फिल्म फ्लप भयो ।
दुख छ हाम्रा महानायकले सो चलचित्रमा निभाएको भूमिकामा । भोजपुरी फिल्मका स्टार फिल्मभरी छाउँदा हमाल सहनायक जस्ता मात्रै देखिए ।
त्यसो त, फिल्म निर्माण पक्षले राजेश हमाललाई अत्यधिक हाइलाइट गरेर नै प्रचारप्रसार गरेको थियो । तर, त्यसले दर्शकलाई पटक्कै आकषिर्त गरेन । चलचित्रको पहिलो शो हेर्नै दर्शक आएनन् । यसबाट नेपालमा राजेश हमालको स्टारडम सकिएको सहज अनुमान गर्न सकिन्छ ।
निकट भविष्यमा पनि कुनै आशालाग्दो चलचित्र उनीसँग छैन ।संख्यात्मकरुपमा राजेश हमालले कति फिल्म खेले भन्ने उनैलाई हेक्का छैन होला । तर, सम्झनलायक फिल्मको कुरा गर्दा देउता र बसन्तीपछि तेस्रो फिल्मको नाम लिन मुस्किल पर्छ । चलचित्रको कथा र आफ्नो भूमिकाको कुनै हेक्का नराखी भटाभट फिल्म साइन गर्दै गए । संख्याकै आधारमा उनी नम्बर वानका रुपमा स्थापित पनि भए ।
तर, नेपाली फिल्मले गुणात्मक फड्को मारेको समयमा भने उनी ओझेल परेका छन् । यसबाट उनले समय अनुसार आफूलाई बदल्न सकेनन् भन्ने देखिन्छ ।
यद्यपि पछिल्लो असफलताबाट राजेश हमालले नेपाली फिल्ममा बनाएको इतिहास भने मेटिदैन ।
नेपाली फिल्ममा उनको समय सकियो भन्ने पनि होइन । तर, उनले अब पहिलेकै जस्तो चरित्रमा निरन्तरता भने दिन सक्दैनन् । उनले आफूलाई हिरोबाट अभिनेतामा बदल्ने बेला आइसकेको छ । त्यसरी बदल्न चाहे भने अझै पनि नेपाली फिल्ममा उनका लागि स्थान हुन सक्छ । बलिउडमा ७० काटेका अमिताभ बच्चन अहिले पनि उत्तिकै सक्रिय छन् । तर, उनी हिरोबाट अभिनेतामा रुपान्तरण भएको धेरै भइसकेको छ ।


0 comments
Write Down Your Responses