युवा संघका नाममा युएईमा मानव तस्करी

वैशाख युएई - सत्तारुढ नेकपा एमालेको भातृ संगठन प्रवासी युवा संघका नेताहरु नेपाली युवतीलाई युएई पठाउने अवैधानिक धन्दामा सक्रिय रहेको एक प्रतिवेदनबाट खुलासा भएको छ । त्यसरी दुबई पुर्‍याइएका युवतीले नेपाली दूतावासमा जागिर माग्दै बायोडाटा बुझाएपछि युवा संघका नाममा मानव तस्करीको धन्दा सार्वजनिक भएको हो ।

एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषद अन्तरगत वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिले हालै तयार पारेको एक प्रतिवेदनले एमालेको भातृ संगठनका नेताहरु नेपाली युवतीलाई झुक्याएर दुबई पठाउने कार्यमा संलग्न रहेको देखाइएको छ । त्यसरी दुबई पुर्‍याइएका चेलीहरुबाट लिइएको पैसा फिर्ता गरेर पीडितलाई न्याय गरिनुपर्ने कल्याण समितिका संयोजक धरम केसीको प्रतिवेदनमा उल्लेख छ । 

कसरी मुछिए युवा संघका नेता ? 

हालै युएईमा एमालेको भातृ संस्था प्रवासी नेपाली मञ्च मातहतको युवा संघको आयोजनामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा एमाले कार्यकर्ताले कलाकार बनाएर केही युवतीहरु लगेका थिए, जसले कुनै पनि सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएनन् र उनीहरु उतै बसेर जागिरको खोजीमा भौंतारिन थाले । दुबई पुर्‍याइएका १० युवतीमध्ये ४ जनामात्रै कलाकार रहेको र एकजना आयोजककै परिवारको सदस्य रहेको दूतावासले जनाएको छ । 

लाखौं रुपैयाँ असुलेर जागिर लगाइदिने बाहनामा ५ युवतीलाई युएई पुर्‍याएर अलपत्र छाडिएपछि उनीहरुले दूतावासमा निवेदन दिएको दूतावासले बताएको छ । ती नेपाली चेलीहरु एमालेका युवा नेतालाई डेढ लाखदेखि तीन लाख रुपैयाँसम्म तिरेर युएई पुर्‍याइएको जनाइएको छ । हाल उनीहरुले नेपाली दूतावासमा दलालहरुविरुद्ध उजुरी दिएका छन् र दूतावासले उनीहरुलाई न्याय गर्ने बचन दिएको केसीको प्रतिवेदनमा उल्लेख छ ।

0 comments

Write Down Your Responses