भूइँचालोले थिचेको सुन्दर वस्ती सिंगटीबजार
सिंगटी दोलखा - चैत ३० गते बिहान हामी सिंगटी पुग्दा तुवाँलो र डढेलोको धुवाँले आकाश धमिलिएको थियो सिंगटीको । सिंगटीमात्रै होइन, दोलखाको पूरै आकाशमा कत्ला परेको थियो ।
गौरीशंकर हिमालका मनोरम दृश्यहरु कालो तुवाँलोले पूरै छोपिएका थिए । वातावरणमा प्रदूषण व्याप्त थियो । खडेरी परेका बेला मौसम खराब हुनु अस्वाभाविक थिएन ।
स्थानीय खिलबहादुर दुलाल भन्दै थिए, ‘खडेरीले गर्दा किसानले मकै छर्न पाएका छैनन् । छरेर टुसाउन थालेका मकैका बिरुवा मृगले चरेर सकिदिए । दाना लाग्नै नपाई गहूँबाली सुक्यो । अब पन्ध्र दिन पानी परेन भने सब खतम हुन थाल्दछ । जमीन जलेर चरचरी चर पर्न थाल्छ । तै, हावा चीसो छ । पानी मीठो छ । हाम्रो जीवन पनि यही चीसो र मीठोमा टिकेको छ ।’
दोलखाको उत्तरी भागमा रहेको सानो सिंगटी बजार सम्पन्न थियोः एकप्रकारले दोलखाको अनकण्टार खोंचमा रहेको समृद्धिको टापु । तामाकोशी र बिगु (सिंगटी) खोलाकोे दोभानले बनाएको बगरमा गुजमुज्ज बसेको बजारलाई छेउको भीरले बेला बेलामा चुनौति दिन्थ्यो । सिंगटी बजारले दोलखा जिल्लाको उत्तरी भेगमा रहेेका १८ गाउँ विकास समितिको क्षेत्रफलभित्र आफनो आर्थिक आधिपत्य जमाएको थियो । सिंगटीका व्यवसायीहरु मध्ये दुई चारजना बाहिरबाट आएका भए पनि १८ गाविसबाट आएका बासिन्दाकै प्रभूत्वमा बजार रहेकाले व्यवसायीहरु बजारसँग भावनात्मक हिसाबले जोडिएका छन् ।
भूइँचालो अघि निकै रमाइलो सिंगटी अहिले पनि रमाइलो छ । त्यो रमाइलोमा उदासीका थुप्रै रेखाहरु कोरिएका छन् ।
वैशाख १२ र त्यसपछि गएका भूइँचालोका कडा धक्काले यहाँका व्यवसायी र बासिन्दालाई निरीह बनाएको थियो । अहिलेसम्म घाउ राम्ररी पुरिएको छैन र पनि बासिन्दाहरुले निराशालाई थिचेका छन् । भूइँचालोमा परेर जीवन गुमाएका ३२ जना नागरिकको सम्झनाले सबैलाई गहिरो शोक र अवसादमा डुवाएको छ । धेरै मानिसको मनमा भूइँचालोले नराम्रो मानसिक धक्का दिएको छ । सिंगटी सामुदायिक अस्पतालका स्वास्थ्य सहायक आकाश भन्छन्, ‘भूइँचालोपछि ट्रमा बिरामीको संख्या हलक्क बढेको छ । अहिलेसम्म २०० बिरामीहरु उपचारका लागि अस्पताल आइसकेका छन् । अस्पतालमा छाला र आँखाका बिरामीहरुको संख्या पनि उल्लेखनीय हिसाबले बढेको छ ।’


0 comments
Write Down Your Responses