भुन्टी कुकुरले यसरी पत्ता लगाई हत्यारा,यसरी भएको थियो हत्या
सल्यान–यही वैशाख १४ गते राति छायाक्षेत्रमा भएको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले छायाक्षेत्र–९ राणा गाउँका सञ्जय भारतीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानमा आज आयोजित पत्रकार सम्मेलनमा अभिुयक्तलाई प्रहरीले सार्वजनिक गरेको हो । मध्यपश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा कोहलपुरबाट ल्याइएको भुन्टी नामको कुकुरले अपराधी भागेको बाटो पत्ता लगाएका आधारमा भारतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।
अभियुक्तले अपराध स्वीकार गरिसकेको जनाइएको छ । वैशाख १४ गते राति घरमा सुतिरहेका अवस्थामा छायाक्षेत्र–९ राणागाउँकी २३ वर्षीया सीता खाँण, उनकै दुई वर्षीया छोरी पवित्रा र ११ महिनाकी छोरी सविता तथा सीताकी सहोदर १८ वर्षीया बहिनी गीता गिरीको अभियुक्तले हत्या गरेको बताइएको छ ।
“मलाई आन्टीले सेल रोटी खान ५ बजेतिर बोलाएका थिए तर म रक्सी खाएर ९ बजे पुगेँ, आन्टीले रिस उठ्ने कुरा गरेपछि बाहिर गएर गाइ बाँध्ने किलाले पालै पालो हानेर हत्या गरेँ” भारतीले पत्रकार सम्मेलनमा भने ।
प्रहरीले अभियुक्तलाई आजै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सीताका श्रीमान् काम गर्न भारत गएका छन् ।


0 comments
Write Down Your Responses