ज्यानमारा विज्ञापन, ज्यानै जान सक्छ
केही दिनअघि एक युवतीलाई आफन्तले अत्तालिँदै मेडिकेयर अस्पतालको इमर्जेन्सी कक्षमा पु¥याए । बेहोस अवस्थामा रहेकी युवतीको अवस्था गम्भीर थियो ।
इमर्जेन्सीका डाक्टरले आफन्तलाई सोधपुछ गरे । त्यसपछि थाहा भयो, ‘जाँडरक्सी र गाँजा छुटाउने भनेर प्रचारित औषधिको सेवनले उनको अवस्था त्यस्तो भएको रहेछ ।’ रक्सी र गाँजाकी अम्मली सिंह थरकी ती युवतीलाई उनकी आमाले सुटुक्क दालमा राखेर उक्त पदार्थ खुवाएकी रहिछन् । जसको असरले युवती त्यस्तो अवस्थामा पुगेकी थिइन् । अवस्था गम्भीर देखेपछि प्राथमिक उपचार गरेर त्यहाँबाट उनलाई शिक्षण अस्पताल महाराजगञ्ज पठाइयो ।
मेडिकेयरमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्माका अनुसार उनको अवस्था र आफन्तको प्रतिक्रिया सुन्दा उक्त औषधिमा ‘डाइसल्फिराम’ नामक केमिकल मिसाएको हुनसक्ने देखिन्छ । पत्रिकामा आएको ‘थाहै नदिई जाँडरक्सीको कुलतबाट छुट्कारा पाउने’ विज्ञापनका पछि लागेर ती महिलाले छोरीलाई उक्त औषधि दिएको डा शर्मा बताउँछन् ।
छोराछोरी, आफन्तलाई कुलतबाट छुट्कारा दिलाउन चाहने धेरै छन् । त्यो पनि ‘थाहै नदिई छुट्ने’ भनेर राष्ट्रिय स्तरका नाम चलेका पत्रपत्रिका र टिभीमा विज्ञापन आएपछि सर्वसाधारणले विश्वास गर्छन् नै । साइडइफेक्ट (प्रतिअसर) भएका औषधीय तत्व मिसाइएका तर हर्बल भनिने त्यस्तो औषधिले ज्यानै लिनसक्ने चिकित्सकहरु बताउँछन् । ती महिलाले जस्तै भ्रमपूर्ण विज्ञापनको पछि लागेर आफन्तलाई कुलतबाट छुट्कारा दिनुको सट्टा झन् रोगी बनाइरहेको घटना धेरै रहेको डा. शर्मा बताउँछन् । आफूकहाँ त्यसअघि पनि केही व्यक्ति यस्तो औषधि प्रयोगबाट बिरामी भएर उपचारका लागि आएको उनले बताए । ती बिरामीले प्रयोग गरेको ‘स्मार्ट–पी’ नामक ‘कुलत छुटाउने औषधि’ देखाउँदै उनले भने, ‘सम्बन्धित व्यक्तिलाई थाहै नदिइ बिरामी पार्ने गरेकाले आफन्तले के खुवाउँदा त्यस्तो भएको हो भनेर खोल्न चाहँदैनन् । यही औषधिका कारण गम्भीर बिरामी भएर अस्पतालमा आउनेको सँख्या निकै हुन्छ ।’
नजिक अस्पताल नभएकाहरुको त यसको असरबाट मृत्यु नै हुनसक्ने उनले बताए ।
‘जाँडरक्सीलगायतका कुलत थाहै नदिइ छुटाउन’ भनेर बिज्ञापन गरिरहेकाहरु मध्ये तिनकुने, कोटेश्वर, बागबजार तथा कलंकीका टेलिमार्केटिङ सेन्टरमा स्वास्थ्य खबरपत्रिकाको टोली ग्राहक बनेर पुगेको थियो । तिनकुनेस्थित सेन्टरमा पुग्दा आफूलाई प्रोपाइटर बताउने विनोद बोलाखेले नाम, लेबल, प्याकेट केही नभएका केही पोका दिएर बिना साइडइफेक्ट ठिक पार्ने बताए । तर, उनले हर्बल औषधि भएकाले कुनै साइडइफेक्ट नगर्ने भन्दै सक्दो सेवनकर्तालाई थाहै नदिई सेवन गर्न सुझाए । उनले भने, ‘यसले भोमिट गराउँछ र खानै मन नलाग्ने अवस्थामा ल्याउँछ ।’
उनले भनेको प्रतिअसर ‘डाइसल्फिराम’ नामक केमिकलले गराउनेसँग मिल्ने डा शर्माले बताए । उनले भने, ‘पहिले–पहिले चिकित्सकले अस्पतालमै भर्ना गरेर यो केमिकलबाट दुव्र्यसन छुटाउने प्रयास गर्थे ।’ तर, अहिले भने यसको प्रयोग हटिसकेको डा. शर्मा बताउँछन् । डा. शर्मा भन्छन्, ‘यो केमिकलको प्रयोग गरिएको हो भने त्यसले ज्यानै लिन सक्छ । त्यसैले छानविन गरी कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
त्यसबाहेकमा पनि हर्बल भनेर केमिकल मिसाइरहेको हुनसक्ने आशंका औषधिविज्ञ गर्छन् । औषधि व्यवस्था विभागका फर्मासिस्ट राजेश श्रेष्ठ भन्छन्,
‘यसरी समस्या समाधान गर्ने हर्बल भनिने कतिपय औषधिले तत्काल निको भएको महशुस पनि गराउँछन् । पछि गएर अनुहार सुन्निने, ज्वरो आउने, किड्नी बिग्रिनेसम्मका समस्या आउन सक्छन् ।’
मदिरा तथा लागुऔषधको कुलत छुटाउने औषधि भन्दै बजारमा छ्याप्छ्याप्ती विज्ञापन आइरहेका छन् । तिनकै पछि लागेर धेरैले ब्याच, सिरिज डेट, उत्पादक कम्पनीलगायत उल्लेख नभएका त्यस्ता पदार्थ सेवन गर्ने र समस्या भएपछि अस्पताल आउने गरेका छन् । उक्त पदार्थको सेवनपछि बिरामीले सुनाएको अनुभव र भएको असर हेर्दा त्यसमा ‘डाइसल्फिराम’ मिसाइएको हुन सक्छ ।
‘डाइसल्फिराम’ सँग अल्कोहल मिसिदा स्वास्थ्यमा घातक समस्या आउन सक्छ ।
तर, बेच्नेहरुले हर्बल दाबी गरिरहेका छन् । हर्बलमा एलोप्याथी औषधि मिसाउनु अपराध मानिन्छ । यस्तै केसमा डाक्टर जेल गएको उदाहरण भारतमा छन् ।
रक्सी खानेलाई डाइसल्फिराम खुवाउँदा शरीरमा एक प्रकारको विष उत्पादन हुन्छ । यसले बान्ता गराइरहने हुन्छ । ब्लडप्रेसर बढाउने गर्छ । यस्तो भएपछि तुरुन्तै स्वास्थ्य संस्था पु¥याउन सकिएन भने बिरामीको ज्यान जान सक्छ ।
बिरामीलाई थाहै नदिइ यो खुवाउनुपर्छ भनेर विज्ञापनकर्ताले भन्ने हुनाले झन् गम्भीर समस्या आउन सक्छ । सेवन गराइएको व्यक्ति बिरामी भएपछि सेवन गराउने व्यक्ति अत्तालिन्छ । आफूले गल्ती गरेको महशुस गरेर यथार्थ खोल्दैन । यो झन् डरलाग्दो अवस्था हो । त्यसैले यसबारे यथार्थ बुझेर यस्ता औषधिको प्रयोग बन्द गराउनुपर्छ ।


0 comments
Write Down Your Responses