मोदीलाई आइलाग्यो अर्काे संकट, गुजरातमा ब्युतियो पटेल आन्दोलन सुरु भएकै दिन आन्दोलनले हिंस्रक रुप लियो
काठमाडौं ५ चैत - भारतमा फेरि एकपटक पटेल समुदायको आन्दोलन ब्युतिएको छ ।
यसअघि नरेन्द्र मोदी नेतृत्वको सरकारलाई हल्लाउने गरी भएको आन्दोलनका नेता हार्दिक पटेल जेलमै रहेका बेला आरक्षणको माग राख्दै आइतबारदेखि मोदीको गृहराज्य गुजरातमा पटेल समुदायले पुनः आन्दोलन चर्काएका हुन् ।
सुरु भएकै दिन आन्दोलनले आइतबार हिंस्रक रुप लिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अघिल्लो वर्षको अक्टोबरदेखि सुरतमा लाजपोर जेलमा बन्दी जीवन बिताइरहेका पाटीदार अनामत आन्दोलनका नेता हार्दिक पटेलको गिरफ्तारीविरुद्ध पटेल समुदायले आइतबारबाट राज्यव्यापी जेल भराउ आन्दोलनको घोषणा पनि गरेका छन् ।
गुजरातको मेहसाणा, सुरत, भावनगर र अन्य सहरमा हजारौंको संख्यामा जम्मा भएर आन्दोलन चर्काएका आन्दोलनकारी सडकमा उत्रेपछि मेहसाणामा आन्दोलनले हिंस्रक रुप लिएको छ ।
मेहसाणाका कलेक्टर लोचन सेहराका अनुसार मेहसाणा जेलतर्फ जाने कोशिश गरिरहेका पटेल समुदाय माथि प्रहरीले लाठीचार्ज पनि गरेको छ र पाटीदार समुदायका सदस्य जेलतर्फ पस्ने प्रयास गरेपछि पुलिसले रोक्ने कोशिस गरेको थियो ।
त्यो क्रममा पाटीदारको तर्फबाट प्रहरीमाथि ढुंगा हानिएको उनले बताएका छन् । त्यसपछि धारा १४४ अनुसार त्यो इलाकामा मोबाइल इन्टरनेटमाथि प्रतिवन्ध लगाइएको छ ।
अहमदाबाद दिल्ली राष्ट्रिय राजमार्गबाट प्रदर्शनकारीलाई तितरबितर पार्न पुलिसले अश्रुग्यास प्रहार गरेको छ ।
पाटीदारका नेता हरिस्केश पटेलका अनुसार शान्तिपूर्ण प्रदर्शनमाथि पुलिसले लाठीचार्ज गर्दा दर्जनौं घाइते भएका छन् । उनले पटेल समुदायका नेता लालजी पटेल पनि घाइते भएको बताए । उत्तर गुजरातमा स्थिति प्रहरी र स्थानीय प्रशासनको नियन्त्रण बाहिर गइसकेको समाचारमा जनाइएको छ ।
यसैबीच गुजरातको मेहसाणा जिल्लासहित कैयौ स्थानमा आइतबार भड्किएको पाटीदार आन्दोलनपछिमुख्यमन्त्री आनन्दीबेन पटेलले मानिसहरुलाई शान्तिपूर्ण आन्दोलनको अपील गरेकी छिन् । उनले हिंसा कुनै समाधान नदिनेभन्दै वार्तामा आउन आग्रह गरेकी छिन् ।
0 comments
Write Down Your Responses