पोस्टमार्टम रिपोर्ट भन्छः ह्याङ्गिङबाट मनिषाको मृत्यु

चिकित्सकले फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषाको पोस्टमार्टमको अन्तिम रिपोर्ट प्रहरीलाई बुझाएका छन् । त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज फोरेन्सिक विभागका चिकित्सकले मंगलबार प्रहरीलाई बुझाएको रिपोर्टमा घाँटीमा परेको दबावले मनिषाको मृत्यु भएको जनाइएको छ । 

 रिपोर्ट अनुसार मनिषाको गालामा सामान्य चोट छ र घाँटीमा २५ सेन्टिमिटरको डाम छ । ‘हाम्रो अनुसन्धानले उहाँको मृत्यु हृयाङ्गिङबाट भएको पुष्टि गरेको छ’, विभागका प्रमुख डा. हरिहर वस्तीले अन्नपूर्णसँग भने,’ हृयाङ्गिङको अर्थ आत्महत्या वा हत्या जुनसुकै पनि हुन सक्छ । 

यसको अनुसन्धानले प्रहरीले गर्नु पर्ला ।’ १७ वर्षीया मनिषा गत जेठ १३ गते बिहान नवलपरासी बर्दघाट ८ स्थित आफ्नै घरमा मृत भेटिएकी थिइन् । प्रहरीले घटना प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने भन्दै अनुसन्धान अघि बढाएको छ । 

 मनिषाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनका प्रेमी अशिष चौधरीलाई नियन्त्रणमा लिएको छ । चौधरीले मनिषाको मृत्यु अघि उनीसँग झगडा भएको तर आफुले हत्या नगरेको बयान दिँदै आएका छन् । अनुसन्धानका क्रममा नवलपरासीमै प्रहरीले उनको पोलिग्राफ पाँच घण्टा लगाएर गरेको छ ।

0 comments

Write Down Your Responses