राजधानीको पुरानो बसपार्क खुलामञ्चमा सारिएपछि कोलाहलले वीरमा बाधा
काठमाडौं- राजधानीको पुरानो बसपार्क खुलामञ्चमा सारिएपछि दैनिक हजारौं बिरामीको उपचार गराइरहेको मुलुककै सबैभन्दा ठूलो र पुरानो वीर अस्पताल र त्यसैसँग जोडिएको राष्ट्रिय ट्रमा सेन्टरको सेवा प्रभावित भएको छ ।
बसपार्कको कोलाहल, धुलो र धुवाँले बिरामी त आजित भएका छन् नै चिकित्सकलाई समेत उपचारमा बाधा पुगेको छ ।
अस्पताल परिसरमै जोडिएका दुई ठूला सडकमा दैनिक लाखौं सवारीसाधन चर्को र लामो हर्न बजाउँदै ओहोरदोहोर गर्छन् । काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बी कोई कम्पनीले ‘काठमाडौं भ्यु टावर' निर्माण गर्न पुरानो बसपार्कलाई अस्पताल शान्तिक्षेत्र भएको ख्यालै नगरी त्यसको छेउमै सारिएको थियो ।
अस्पताल वरपर चर्को हर्न बजाएर ध्वनि प्रदूषण निम्त्याउने, होहल्ला गर्ने, भीडभाड गर्ने, नाराजुलुस वा भाषण गर्न नपाइने नियम भए पनि त्यसको बेवास्ता गर्दै बसपार्क सार्दा बिरामी र चिकित्सक आजित बनेका हुन् ।
कुर्ने ठाउँ अभावमा दिनभरिजसो अस्पताल परिसरमै टन्टलापुर घाममा बस्न बाध्य बिरामीका आफन्त तीव्र गतिमा चर्को हर्नमा धुवाँ निकाल्दै कुद्ने सवारीसाधनबाट हैरान छन् ।
‘नजिकै सडकमा गाडी गुडे पनि पहिले त यो ठाउँ शान्त थियो, हामी दिनभरि यहीं बस्थ्यौं तर अहिले बसपार्कले गर्दा निकै भीडभाड हुन थालेको छ,' अस्पताल परिसरमा बिरामीलाई कुरेर बसिरहेकी सिन्धुपाल्चोक बाह्रबिसेकी लक्ष्मी श्रेष्ठले अन्नपूर्णसँग भनिन्, ‘अस्पताललाई शान्ति क्षेत्र भन्छन् । यसको वरपर हर्न बजाउनु हुन्न, हल्लाखल्ला हुनुहुन्न र भीडभाड हुनुहुन्न भन्ने सुनेकी थिएँ तर यहाँ कसैलाई मतलब छैन ।'
अस्पतालनजिकै बसपार्क सारेर हर्न बजाउँदै सवारीसाधन गुडाएकोमा वीरमै उपचार गराउन आएकी बानेश्वरकी रामकुमारी बिष्ट पनि आक्रोशित छन् । ‘हामी आफ्नै टेन्सनमा अस्पताल आएका हुन्छौं । कहिले आफू बिरामी भएर आउनुपर्छ । कहिले सिकिस्त बिरामी ल्याएर अस्पताल धाउनुपर्छ । तर यहाँ बसिनसक्नु छ । शान्तले आराम गर्ने ठाउँ नै भेटिएन । कानै खाने गरी बज्ने हर्नले मेरो टाउको फुट्लाझैं हुन्छ', उनले भनिन्, ‘खै यसको कसलाई मतलब छ र? सबैलाई कमाउने कसरी भन्ने मात्रै सोच छ ।
नियमकानुन त कागजमा लेख्नमात्र बनेका हुन् ।'
बसपार्कले वीर र सेन्टरको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामी र उनीहरूको उपचारमा खटिने चिकित्सकलाई सबैभन्दा बढी बाधा पुर्याएको छ । विभागका प्रमुख डा. केदार सेञ्चुरीले वरिपरिको होहल्ला र सवारीसाधनका कारण काममा निकै बाधा पुगेको बताए । ‘शान्त वातावरण भएपछि मात्र अस्पतालमा काम गर्न सकिन्छ । बिहानैदेखि साँझसम्म थरीथरीका हर्न बजिरन्छन् । अनावश्यक मानिसको भीड थुप्रिन्छ । गेटैकै अघिल्तिर हिलाम्मे छ,' उनले भने, ‘खाल्डाखुल्डीले गर्दा सवारीसाधन चलाउन गाह्रो छ । यस्तो वातावरणमा हामीले काममा ध्यान दिनै सक्दैनौं । तर हामी बाध्य छौं यही वातावरणमा काम गर्न ।
यो विषयमा सोच्ने कसैलाई फुर्सद छैन ।'
काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने अस्पताललाई बाधा पुग्ने गरी काम गर्नु हुन्न भन्ने जानकारी भएर पनि बाध्यतावस बसपार्क वीरको छेउमा सार्नुपरेको बताए । ‘ठाउँ अभावले गर्दा हामी खुलामञ्चमै बसपार्क सार्न बाध्य भएका हौं । त्यो केही समयका लागि मात्र हो । त्यतिन्जेलसम्मका लागि दुःखकष्ट झैल्नैपर्ने देखिन्छ', उनले भने, ‘तैपनि त्यो ठाउँ वरपर हर्न बजाउन, होहल्ला नगर्न तालिम दिन लगाउँछौ सवारीसाधनका चालकलाई त्यसबाट बिरामी र चिकित्सकलाई पुगेको बाधा कम गराउन सहयोग होस् ।'
अस्पताल वरपर हर्न बजाउनु हुन्न भन्ने विषयमा कसैले ख्याल गरेको पाइँदैन । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० अनुसार कुनै पनि अस्पताल धुवाँ, धुलो, ध्वनि, जल तथा जमिन प्रदूषणबाट मुक्त हुनुपर्छ । वातावरण संरक्षण ऐन, २०५३ अनुसार तोकिएको मापदण्डविपरीत कुनै यान्त्रिक साधन, औद्योगिक प्रतिष्ठान वा अन्य ठाउँबाट ध्वनि, ताप, रेडियोधर्मी विकिरण तथा फोहरमैला निष्कासन गर्न–गराउन पाउँदैन । त्यस्तो कार्यमा रोक लगाउने अधिकार वातावरण मन्त्रालयलाई छ ।


0 comments
Write Down Your Responses