निर्दयी भाउजु, जसले आफ्नै देवरको हत्या गरिन्

२९ वैशाख, सप्तरी । हाम्रो समाजमा देवर भाउजुको रामायणको सीता र लक्ष्मणको जस्तो हुनुपर्छ भन्ने मान्यता अझै छ ।

 भाउजुले देवरलाई गर्ने माया, स्नेह तथा देवरले भाउजुलाई गर्ने मान, सम्मान र आदर सबै परिवारले चाहेका हुन्छन् । तर, सप्तरीकी एक जना निर्दयी भाउजुले आफ्नै देवरको हत्या गरेका छन् । प्रसङ्ग हो, मंगलबार बिहान राजविराज ५ मा मृत फेला परेका सात वर्षीय बालक प्रमोद साहको । प्रमोदको हत्या उनकै भाउजुलेे गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । 

 जिल्ला प्रहरी कार्यालय राजविराजका अनुसार मारिएका बालक प्रमोद साहलाई उनकै भाउजु संजिला साहले हत्या गरेकी हुन् । हत्यामा संलग्न संजिलालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।

 यसरी भयो प्रमोदको हत्या ! 
 संजिला आफ्नो पति बिनोद साहसँग राजविराज ५ स्थित मदननगरमा बस्दै आएकी थिइन् । पढाईको सिलसिलामा प्रमोद र उनकी दिदी रंजनकुमारी पनि बिनोदकै घरमा आएर बसेका थिए । वैशाख २७ गते सोमबार संजिलाका पति बिनोद विवाहमा सहभागी हुन भारतको बिहार राज्य अन्तर्गत निर्मली गएका थिए । प्रमोदकी दिदी पनि साथी ऋतिकाको जन्म दिन मनाउन उनको घर गएकी थिइन् । 

दिदी आफ्नो साथीको जन्म दिन पार्टी मनाउन जाँदा ‘म पनि जान्छु’ भन्दै प्रमोदले ढिप्पी कसे । तर, दिदीले नलगेपछि उनी रुन कराउन थाले । त्यसपछि ‘हल्ला नगर’ भन्दै संजिलाले गाली गर्दै प्रमोदको घाँटी मिचेकी थिइन् । घाँटी मिचेपछि प्रमोद बेहोस भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

 प्रमोद बेहोस भएपछि संजिलाले अर्कै दिमाग लगाइन् । प्रमोद जिवित रहेमा सासु ससुरा लगायत घर परिवारका सदस्यहरुलाई भन्ने र आफू घर परिवारबाट तिरस्कृत हुने डरले पुनः घाँटी थिची कर्तव्य गरी मारेको बयानको क्रममा बताएको प्रहरीको भनाइ छ ।

 संजिलाले देवर प्रमोद हराएको भन्दै मार्नुअघि नै फकिरा गाविस ५ स्थित आफ्नो घरमा रहेका ससुरा उमेश प्रसाद साहलाई फोन मार्फत जानकारी गराइसकेकी थिइन् । 

 थोरै पनि डराइनन् संजिला 
 घाँटी थिचेर प्रमोद कुमार साहको ज्यान गएपछि पनि उनी थोरै पनि आतिइनन् । घटना राति ८ बजेर २० मिनेटतिर भएको थियो । प्रमोदको शव राति करिब ११ बजेसम्म कोठामा नै राखेकी थिइन् उनी । राति करिब ११ बजेको समयमा नन्द हराएको बहाना गरी घरबाट करिब आठ सय मिटर दक्षिण पश्चिम राजविराज न.पा. वडा नं. ६ पुल्चोक भन्ने स्थानसम्म पुगेर मानिसहरुको चहलपहलको यकिन गरिन् । 

 कुनै पनि मान्छेको चहलपहल नदेखेर उनी पुनः घर फर्किन र पुगी प्रमोद कुमार साहको शव बोकेर राजविराज ६ पुल्चोक भन्ने स्थानमा रहेको पक्की कल्भर्ट नजिक पुर्वपट्टी पुर्‍याई फालेको बयान दिएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्की बताउँछन् ।

 अन्तरजातीय विवाह गरेकी थिइन् संजिला
 आफ्नै देवरको हत्या गर्ने संजिला भने बिनोदसँग अन्तरजातीय विवाह गरेकी युवती हुन् । २० बषर्ीया उनी एक बर्ष अगाडि मात्रै बिनोदसँग लभ गरेर विवाह गरेकी हुन् । संजिता बिनोद साहसँग विवाह गरेपछि दुबै परिवारबाट तिरस्कृत भइन् । उनको माइती र सासु ससुरासँग पनि राम्रो व्यबहार नभएको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses