काठमाडौँमा गर्भपतनको डरलाग्दो रूप : प्लस टु पढ्ने किशोरी सबैभन्दा धेरै
नेपालमा २०५८ सम्म गर्भपतन गर्नु र गराउनु कानुनी अपराध थियो । यदि कसैले गर्भपतन गराएमा त्यो कानुनको उल्लंघन हुने भन्दै धेरै डाक्टर तथा नर्स र स्वयम् गर्भपतन गराउनेले पनि जेलसम्म जानुपरेको थियो ।
यतिसम्म कि कतिपय घटनामा त बलात्कार तथा कम र बढी उमेरमा गर्भवती, बिरामी आदि भएमा पनि गर्भपतन गराउन ज्यादै समस्या थियो ।
गर्भपतनको विषयलाई लिएर महिला अधिकारकर्मी र स्वास्थ्यकर्मीले आन्दोलन नै गरेपछि सरकारले २०५८ देखि गर्भपतनसम्बन्धी कानुन ल्यायो र गर्भपतनलाई कानुनी मान्यता दियो ।
गर्भपतनले कानुनी मान्यता पाएपछि यतिबेला गर्भपतन सामान्य विषय बनेको छ ।
उमेर नपुगेका, उमेर बढी भएका, रोगी आदिमात्रै होइनन्, बच्चा जन्माउन सक्षम युवतीले पनि यो वा त्यो कारणले गर्भपतन गराइरहेका छन् ।
सामान्य अवस्थामा कुल गर्भवती भएकामध्ये १२ देखि १५ प्रतिशत महिलाको गर्भपतन हुने गर्छ । यस्तो अवस्था भनेको जटिलता आएर आफैँ गर्भपतन हुने र गराउने प्रक्रिया हो ।
तर, अनिच्छामा गर्भ बसेकोदेखि अहिले पनि लिंग पहिचान गरेर गर्भपतन गराउनेको संख्यामा कमी आएको छैन ।
काठमाडौँ जिल्लालाई हेर्ने हो भने गत आर्थिक वर्ष २०७१/०७२ मा २५ हजार ४ सय ६२ महिला सुत्केरी भएको देखिएको छ, जब कि सोही आर्थिक वर्षमा १३ हजार सात सय ५७ महिलाले कानुनी हिसाबले गर्भपतन गराएका थिए । जुन कुल सुत्केरी भएका महिलाको संख्यालाई हेर्ने हो भने गर्भपतन गराउने महिलाको प्रतिशत ३५ भन्दा बढी छ ।
जुन महिला स्वास्थ्यको दृष्टिकोणले यसलाई खराब भन्छन् जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका तथ्यांक अधिकृत पुष्कर बिजुक्छे ।
कुन उमेर समूहका कति महिला ?
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँमा उपलब्ध तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७१÷७२ मा गर्भपतन गराउने १३ हजार ७ सय ५७ महिलामध्ये तीन हजार चार सय ५८ त किशोरी थिए । २० वर्षभन्दा कम उमेरका किशोरी गर्भवती हुनु र बच्चा जन्माउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो होइन ।
तर पनि तथ्यांकले गर्भपतन गराएका महिलामध्ये २५ प्रतिशत महिला २० वर्षभन्दा कम उमेर समूहको रहेको देखाएको छ ।
तथ्यांकमा देखिएअनुसार गत आर्थिक वर्षमा गर्भपतन गराउने १३ हजार ७ सय ५७ महिलामध्ये १० हजार २ सय ९९ महिला भने २० वर्षमाथिका छन् । २० वर्षमाथिका भनिए पनि कति वर्ष सम्मकाले गर्भपतन गराए भन्ने उल्लेख भएको छैन ।
गर्भपतन गराउनेमा प्लस टु पढ्ने किशोरीको संख्या उच्च
– गर्भपतन गराउनेमध्ये अधिकांश अविवाहित
– बढी गर्भपतनले महिलालाई हानि
– भविष्यमा गर्भ नै नबस्ने खतरासमेत
कुन विधिबाट कति गर्भपतन ?
गर्भपतन सामान्यत दुईप्रकारबाट गराइन्छ । औषधि खुवाएर र अपरेसन गरेर । मेडिकल क्याक अर्थात् औषधि खुवाएर नौ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । गत आर्थिक वर्ष २०७१÷०७२ मा काठमाडौँ जिल्लामा भएका गर्भपतनमध्ये ४ हजार ९ सय ८० जनाको गर्भपतन औषधि खुवाएर गराइएको देखिएको छ ।
यसरी औषधि खुवाएर गराइएका गर्भपतनमध्ये १ हजार ४ सय ९७ गर्भवती किशोरी अर्थात् २० वर्षमुनिका थिए । बाँकी ३ हजार ५ सय २३ महिला भने २० वर्षमाथि उमेर समूहका थिए ।
यस आर्थिक वर्षको माघ मसान्तसम्म पनि गर्भपतन गराउने ७ हजार ६ सय ४२ गर्भवतीमध्ये ३ हजार ४० महिलाले औषधि खाएर नै आफ्नो गर्भ पतन गराएका छन् ।
जसमध्ये ८ सय ५९ गर्भवती २० वर्षभन्दा कम उमेरका छन् भने २ हजार १ सय ८१ महिला २० वर्षमाथिका छन् ।
सामान्य अवस्था र शिक्षाको स्तर राम्रो भएको देशमा सर्जिकल अर्थात् अपरेसन गरेर गर्भ तुहाउनेभन्दा औषधि खाएर गर्भपतन गराउने दर बढी छ । तर, ९६ प्रतिशत शिक्षित मानिस बस्ने भनिएको काठमाडौँमा भने औषधि खाएरभन्दा बढी अपरेसन गरेर गर्भपतन गराउने दर बढी छ ।
नेपालको कानुनले अहिले १२ हप्तासम्मको गर्भपतन गराउन छुट दिएको छ । डाक्टरको सल्लाह र स्वास्थ्य समस्या भएमा १८ हप्तासम्मको गर्भलाई पनि पतन गराउन पाइने कानुन छ ।
हाडनाता करणी तथा आमाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएमा अन्य जुनसुकै अवस्थामा पनि गर्भपतन गराउन सकिने कानुन छ । ९ हप्तासम्म पनि गर्भ रहेको थाहा नभएमा वा कुनै कारणवश ९ हप्तापछि पनि बच्चा जन्माउन नचाहेमा अपरेसन गरेर गर्भपतन गराउन सकिन्छ र गराउने हो ।
तर, ९ हप्तापछि पनि अपरेसन गरेर गर्भपतन गराउने दर भने उच्च देखिएको छ, काठमाडौँमा । गत आर्थिक वर्षमा काठमाडौँमा भएको कुल १३ हजार ७ सय ५७ गर्भपतनमध्ये ६३ प्रतिशतभन्दा बढी सर्जिकल एबोर्सन भएको छ ।
गर्भपतनमा किशोरीको संख्या पनि उच्च
काठमाडौँमा ८ हजार ७ सय ३७ महिलाले अपरेसन गरी गर्भपतन गराएका छन् । त्यसमध्ये १ हजार ९ सय ६१ गर्भवती किशोरी अर्थात् २० वर्षमुनिका छन् । ६ हजार ७ सय ७६ महिला भने २० वर्षमाथिका छन्, जसले अपरेसन गरी गर्भ तुहाएका छन् ।
त्यसैगरी यस आर्थिक वर्षको ७ महिना अर्थात् माघ मसान्तसम्ममा अपरेसन गरी गर्भपतन गराउने ४ हजार ६ सय २ मध्ये १ हजार २ जना २० वर्षभन्दा कम उमेर समूहका छन् । जुन खतरनाक अवस्था हो भन्छन् जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका तथ्यांक प्रमुख पुष्कर बिजुक्छे ।
तथ्यांकमा देखिएभन्दा दुई गुणा बढी छ गर्भपतन
यसरी देशको राजधानी काठमाडौँमा अहिले गर्भपतन गराउनेको संख्या बढिरहेको छ ।
यो तथ्यांक त सरकारी स्वीकृति लिएर सञ्चालनमा आएका सेवाकेन्द्र वा अस्पतालले उपलब्ध गराएका तथ्यांक हो । त्योबाहेक अहिले पनि आधाभन्दा बढी संस्था त जिल्ला जनस्वास्थ्य कार्यालयसँग सम्बन्ध नै राख्दैनन् र उनीहरूले कतिजनाको गर्भपतन गराए वा कसरी गराए त्यसको कुनै तथ्यांक नै छैन ।
कतिपयले आफैँ मेडिकलबाट औषधि किनेर खाने र गर्भपतन गराउनेसम्म गरिरहेका छन्, जसकारण तथ्यांक योभन्दा दुई गुणा बढी रहेको बताउँछन् ओम अस्पतालका निर्देशक डाक्टर भोला रिजाल ।
गत आर्थिक वर्षमा भूकम्प गएपछि गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको थियो ।
तर, यस आर्थिक वर्षमा पनि त्यसको अनुपातमा कुनै कमी आएको छैन । यस आर्थिक वर्षको अन्त्यसम्ममा गर्भपतन गराउनेको संख्या र अनुपात झन् बढ्ने देखिएको छ ।
प्लस टु पढ्ने किशोरी बढी गर्भपतनमा, गर्भपतन गराउनेमध्ये अधिकांश अविवाहित
अनिच्छामा गर्भ रहेमा गर्भपतन गराउनु नराम्रो होइन ।
तर, कुन उमेर समूहकाले गर्भपतन गराइरहेका छन् र किन गर्भपतन भइरहेको छ भन्ने महत्वपूर्ण विषय हो । अहिले गर्भपतन गराउने २० वर्षमुनिका धेरैजसो प्लस टु पढ्ने किशोरी रहेको बताउँछन् जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत बिजुक्छे । ‘अहिले २२ वर्षमुनिका जतिले गर्भपतन गराइरहेका छन्, उनीहरू अधिकांश अविवाहित छन्,’ बिजुक्छेले थपे ।
यसरी अहिले काठमाडौँमा गर्भपतन गराउनेको संख्या बढिरहेको छ । यसरी गर्भपतन बढ्नुमा असुरक्षित यौन सम्पर्क प्रमुख कारण रहेको देखिएको छ । यौन स्वास्थ्यबारे पर्याप्त जानकारी दिन नसक्दा र परिवारनियोजनको अस्थायी साधन प्रयोगमा बढ्दै गएको अनिच्छा नै यसरी गर्भपतन बढुनुको प्रमुख कारण हो ।
धेरै गर्भपतन गराएमा के हुन्छ ?
महिला स्वास्थ्यका दृष्टिकोणले गर्भपतन कदापि राम्रो हुनै सक्दैन ।
गर्भपतन भनेको अन्तिम अवस्थामा मात्रै गर्ने हो । तर, जसरी असुरक्षित यौन सम्पर्क वा अस्थायी साधन प्रयोगमा अनिच्छाका कारण बसेको गर्भ पतन गराइँदै छ,
यसले महिला स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । प्रसूति गृहका निर्देशक डाक्टर जागेश्वर गौतम भन्छन्, ‘पहिलो बच्चा अगाडि नै गर्भपतन गराउन थालियो भने भविष्यमा गर्भ नै नबस्न पनि सक्छ ।
’
गर्भपतनमा अविवाहित अगाडि
अहिले विवाहितले भन्दा बढी अविवाहितले बढी गर्भपतन गराइरहेको बताउँछन् निर्देशक गौतम ।
यसको अर्थ आफ्ना यौनसाथीसँग अस्थायी साधन प्रयोगमा पर्याप्त छलफल नहुनु नै प्रमुख कारण रहेको उनको दाबी छ । प्रेममा रहेका जोडीमा यो समस्या बढी रहेको गौतमको भनाइ छ ।
यतिसम्म कि अविवाहित युवतीले चारपटकसम्म गर्भपतन गराएको तथ्यांक भेटिएको उनको भनाइ छ ।
विवाहपूर्व नै पटक–पटक गर्भपतन गराइसकेपछि विवाहपछि चाहेर पनि गर्भाधान गर्न गाह्रो हुने गौतम बताउँछन् ।
अस्पतालमा बच्चा नभएर आउने धेरै महिलामध्ये विवाहपूर्व पटक–पटक गर्भपतन गराएका धेरै भएको गौतम बताउँछन् ।
महिलाले पटक–पटक गर्भपतन गराउँदा त्यसले महिला स्वास्थ्यमा पनि असर गर्ने बताउँछन् ओम अस्पतालका निर्देशक डाक्टर भोला रिजाल ।
गर्भ बसेको थाहा भएलगत्तै एक÷दुई महिनामै गर्भ पतन गराएमा कम जोखिम भए पनि आठ हप्तापछि गरिने गर्भपतनले महिलालाई गम्भीर असर गर्ने रिजाल बताउँछन् ।
नौ हप्तापछि औजार प्रयोग गरेर गर्भपतन गराउनुपर्ने भएकाले महिलाको पाठेघरमा घाउ हुने, भ्रुणका टुक्रा बाँकी बसे त्यसले इन्फेक्सन निम्त्याउने आदि समस्या हुन सक्छन् ।
गर्भपतनपछि नियमित रजस्वाला नहुने र गर्भपतनलगत्तै तीनमहिने सुई लगाउने वा अन्य औषधि खानुपर्ने हुन्छ । जब कि पहिलो सन्तानअगावै संगिनी सुई लगाउनाले महिलाको डिम्ब निष्कासनलाई पूर्णत रोकिदिन सक्छ, जसकारण भविष्यमा गर्भ नै नरहन पनि सक्छ ।
गर्भपतनपछि प्रयोग गर्ने औषधि र शारीरिक अवस्थाका कारण महिलाको तौल बढ्न सक्ने रिजाल बताउँछन् । त्यतिमात्रै होइन, गर्भपतनपछि महिलाको मानसिक अवस्था पनि पहिलेजस्तो तन्दरुस्त नहुन सक्छ ।
यसरी महिला स्वास्थ्यको दृष्टिकोणले गर्भपतन राम्रो हुँदै होइन, यद्यपि सामाजिक आर्थिक र मनोवैज्ञानिक कारणबाट यो खराब नै छ भन्नेचाहिँ होइन ।
तर, जुन रूपमा जसरी काठमाडौँमा गर्भपतनको संख्या बढिरहेको छ, त्यसले महिला स्वास्थ्यबारेमा सोच्नैपर्ने बनाएको छ ।
अझ २० वर्षमुनिका किशोरी, अविवाहितले बढी गर्भपतन गराउनुले अस्थायी साधन प्रयोगसम्बन्धी जनचेतना नै नपुगेको हो कि भन्ने पनि औँल्याएको छ ।



0 comments
Write Down Your Responses