जताततै अस्पताल नै अस्पताल तर खै नर्सलाई दरबन्दी ?

काठमाडौं - नर्सिङ पेसाप्रति मेरो आकर्षण सानैदेखि थियो । बिरामीको सेवा गर्ने भित्रि रहर पुरा गर्न नै नर्सिङ पढेको हुँ । मेरो दिदी पनि नर्स हुनुहुन्थ्यो । उहाँले नेपालमा नर्सलाई राम्रो अवसर छैन नपढ भन्नुभएको थियो । तर मैले मानिन । 

नेपालमा अस्पतालहरु चोकचोकमा गल्लीगल्लीमा खुलेका छन् । तर, त्यहाँ दक्ष र सिप भएका नर्सलाई जागिर भने छैन । अस्पताल प्रशासनले नर्सलाई दरबन्दीमा राख्नुपर्ने भए पनि दरबन्दीको ठाँउमा सित्तैमा काम गराउन भोलुन्टर नर्सहरु राख्ने चलन रहेछ । मेरो दिदीले यो समस्यालाई राम्ररी बुझेकाले मलाई नपढ्न सुझाउनु भएको रहेछ । त्यो कुरा अहिले आएर मैले बुझिरहेको छु । वास्तवमै यहाँ दक्ष नर्सको योग्यता र क्षमताको उचित कदर नै छैन । जताततै अस्पतालहरु छन् । अस्पतालको संख्या हेर्दा लाग्छ सबै नर्सहरुले जागिर पाइरहेका छन् । र, नर्स पढ्ने वित्तिकै सहजै जागिर पाइहालिन्छ । तर, त्यो सबै भ्रम हुन् । यहाँका अस्पतालहरु भोलुन्टरका रुपमा काम गरिरहेका सयौँ नर्सहरुको निःशुल्क सेवाका कारण चलिरहेका छन् । 

अस्पताल शैयाका आधारमा अनिवार्य रुपमा अस्पताल प्रशासनले नर्सहरुलाई दरबन्दीमा जागिर दिनुपर्ने हो । नर्सकै सेवाका कारण चलेका अस्पतालले नर्सिङ पेशाको सम्मान गर्नुपर्ने हो । विडम्बना यहाँ त्यस्तो छैन । शुरुमा भोलुन्टर काम गर अनि जागिर दिन्छु भन्छन् । ६ महिनाजति काम गरेपछि उसको स्थानमा फेरी नयाँ नर्सलाई त्यही आश्वासन दिएर ल्याइन्छ । एउटा अस्पतालमा ६ महिनाभन्दा बढी भोलुन्टरका रुपमा पसिना बगाएकी नर्सले फेरी अर्को अस्पतालमा पुन भोलुन्टरका रुपमा काममा लगाइन्छ । त्यसपछि कति नर्स फ्रस्टेसनमा जान्छन् । कति बिदेशिन्छन् । मुस्किलले जागिर पाइहाले पनि तलब सुविधा निकै कम हुन्छ । शुरुमा तोकिएको तलबमा पनि सार्वजनिक विदा, साप्ताहिक विदाको पैसा काटेर दिन्छन् । दिनरात बिरामीको सेवामा हँसिलो अनुहारमा सेवा गर्ने नर्सहरुको भित्र भने निकै पिडा हुन्छ । र पनि अस्पतालको प्रतिष्ठानमा र नर्सिङ पेशामा कुनै औँला उठाउने ठाँउ नहोस भनेर नर्सहरुले मुस्कानसहितको सेवा दिइरहेका हुन्छन् । 

सिनियर मोवाइलमा व्यस्त, भोलुन्टरलाई काम अस्पतालमा दरबन्दीमा काम गरिरहेका सिनियर नर्सहरुले पनि भोलुन्टरलाई राम्रो सहयोग गर्दैनन् । सबै सिनियर नर्स दिदीहरुमा यस्तो समस्या छैन । तर, मेरा साथीहरु तथा भोलुन्टरका रुपमा काम गर्दा मैले भोगेको समस्या हेर्दा भर्खरै अस्पतालमा छिरेकी भोलुन्टर नर्सलाई सिनियरले सबै काम गर्न लगाउँछन् । उनीहरु भने मोवाइलमा वा अन्यत्र कतै व्यस्त हुन्छन् । नयाँ आउने जुनियरहरुलाई आफ्नो डिउटीसँगै गरेर सहयोग गर्दै सिकाउनुपर्नेमा दोहोरो जिम्मेवारी सुम्पेर हिँड्छन् । एकातिर पैसा पनि नहुने अनि अर्कोतिर दोहोरो डिउटी गर्नुपर्ने बाध्यतामा हुन्छन् जुनियर नर्सहरु । सिनियर नर्सहरु नयाँलाई कार्यभार थपेर डिउटी समयभन्दा पनि अगाडी समेत हिँड्छन् । 

अस्पतालनै अस्पतालको भिडमा समेत नर्सले काम पाउन नसकिरहेको अवस्थामा स्वयम यही पेशाका केही सिनियरहरुले समेत सहयोग नगर्दा नयाँ आउने नर्सहरु बढी मारमा पर्ने गरका छन् । त्यसरकाण सिनियरले जुनियरलाई माया गर्दै नर्सहरुको हकहितका लागि आवाज बुलन्द पार्नुपर्छ । भोलुन्टर तथा अन्य विभिन्न नाममा खोसिएका नर्सका अधिकारलाई हासिल गर्नैपर्छ । होइन भने हामी सँधै यति धेरै अस्पताल छन् तर खै नर्सलाई जागिर मात्र भन्दै हिँडिरहेका हुनेछौँ ।

, ,

0 comments

Write Down Your Responses