काठमाडौँमा गर्भपतनको डरलाग्दो रूप : प्लस टु पढ्ने किशोरी सबैभन्दा धेरै

काठमाडौँ– नेपालमा २०५८ सम्म गर्भपतन गर्नु र गराउनु कानुनी अपराध थियो । यदि कसैले गर्भपतन गराएमा त्यो कानुनको उल्लंघन हुने भन्दै धेरै डाक्टर तथा नर्स र स्वयम् गर्भपतन गराउनेले पनि जेलसम्म जानुपरेको थियो । यतिसम्म कि कतिपय घटनामा त बलात्कार तथा कम र बढी उमेरमा गर्भवती, बिरामी आदि भएमा पनि गर्भपतन गराउन ज्यादै समस्या थियो । 

गर्भपतनको विषयलाई लिएर महिला अधिकारकर्मी र स्वास्थ्यकर्मीले आन्दोलन नै गरेपछि सरकारले २०५८ देखि गर्भपतनसम्बन्धी कानुन ल्यायो र गर्भपतनलाई कानुनी मान्यता दियो । गर्भपतनले कानुनी मान्यता पाएपछि यतिबेला गर्भपतन सामान्य विषय बनेको छ । उमेर नपुगेका, उमेर बढी भएका, रोगी आदिमात्रै होइनन्, बच्चा जन्माउन सक्षम युवतीले पनि यो वा त्यो कारणले गर्भपतन गराइरहेका छन् । सामान्य अवस्थामा कुल गर्भवती भएकामध्ये १२ देखि १५ प्रतिशत महिलाको गर्भपतन हुने गर्छ । यस्तो अवस्था भनेको जटिलता आएर आफैँ गर्भपतन हुने र गराउने प्रक्रिया हो । तर, अनिच्छामा गर्भ बसेकोदेखि अहिले पनि लिंग पहिचान गरेर गर्भपतन गराउनेको संख्यामा कमी आएको छैन । 

काठमाडौँ जिल्लालाई हेर्ने हो भने गत आर्थिक वर्ष २०७१/०७२ मा २५ हजार ४ सय ६२ महिला सुत्केरी भएको देखिएको छ, जब कि सोही आर्थिक वर्षमा १३ हजार सात सय ५७ महिलाले कानुनी हिसाबले गर्भपतन गराएका थिए । जुन कुल सुत्केरी भएका महिलाको संख्यालाई हेर्ने हो भने गर्भपतन गराउने महिलाको प्रतिशत ३५ भन्दा बढी छ । जुन महिला स्वास्थ्यको दृष्टिकोणले यसलाई खराब भन्छन् जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका तथ्यांक अधिकृत पुष्कर बिजुक्छे । प्लस टु पढ्ने किशोरी बढी गर्भपतनमा, गर्भपतन गराउनेमध्ये अधिकांश अविवाहित अनिच्छामा गर्भ रहेमा गर्भपतन गराउनु नराम्रो होइन । तर, कुन उमेर समूहकाले गर्भपतन गराइरहेका छन् र किन गर्भपतन भइरहेको छ भन्ने महत्वपूर्ण विषय हो । 

अहिले गर्भपतन गराउने २० वर्षमुनिका धेरैजसो प्लस टु पढ्ने किशोरी रहेको बताउँछन् जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत बिजुक्छे । ‘अहिले २२ वर्षमुनिका जतिले गर्भपतन गराइरहेका छन्, उनीहरू अधिकांश अविवाहित छन्,’ बिजुक्छेले थपे । यसरी अहिले काठमाडौँमा गर्भपतन गराउनेको संख्या बढिरहेको छ । यसरी गर्भपतन बढ्नुमा असुरक्षित यौन सम्पर्क प्रमुख कारण रहेको देखिएको छ । यौन स्वास्थ्यबारे पर्याप्त जानकारी दिन नसक्दा र परिवारनियोजनको अस्थायी साधन प्रयोगमा बढ्दै गएको अनिच्छा नै यसरी गर्भपतन बढुनुको प्रमुख कारण हो ।

, ,

0 comments

Write Down Your Responses