विवाह गर्न मुस्लिम धर्मबाट क्रिश्चियन परिवर्तन

काठमाडौँ - सौन्दर्य प्रतियोगितामा मुस्लिम धर्मावलम्बीको सहभागिता कमै हुने गर्छ । यस्ता प्रतियोगितामा सहभागी हुन कतिपय मुस्लिम समुदायले बर्जित नै गरेका छन् । तर रीमा फाकी यस्ती भाग्यमानी सुन्दरीमा परिन् जो मुस्लिम धर्मावलम्बी भए पनि सौन्दर्य प्रतियोगितामा सहभागी भई शिरमा ताज सजाउन सफल भइन् ।

मिस यूएसए २०१० को ताज जित्न सफल भएपछि रीमाको चर्चा अमेरिकामात्रै होइन विश्वभर हुन पुग्यो । तर तिनै मुस्लिम सुन्दरी रीमाले विवाह गर्नका लागि धर्म परिवर्तन गरेकी छन् । लेबनानीको मुस्लिम परिवारमा जन्मेकी रीमा क्रिश्चियन बनेकी छन् । फिलिपिन्सबाट ट्विट गर्दै उनले आफ्नो विवाहको तयारीका लागि धर्म परिवर्तन गरेको खुलासा गरेकी हुन् । उनले गत महिनामात्रै धर्म परिवर्तन गरेको उल्लेख गरेकी छन । 

उनले क्रिश्चियन धर्मावलम्बी वासिम सलिबीसँग गर्न लागेकी हुन् । वासिम म्युजिक प्रोड्युसर हुन् । लेबनानमा जन्मे पनि बाल्यकालदेखि नै न्युयोर्कमा बस्दै आएकी फाकीको परिवार लेबनानी गृहयुद्धबाट बच्न न्युयोर्क सरेका थिए । उनका बाबु अमेरिकाको म्यानह्याटनमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका छन् । फाकी मिस यूएसए हुनुभन्दा अगाडि एउटा मेडिकल सेन्टरमा अरब अमेरिकी समुदायको विकासमा क्रियाशील थिइन् । उनी मिस यूएसएको उपाधि चुम्ने पहिलो मुस्लिम महिला हुन् । 

निकै खुला र विन्दास स्वभावकी फाकीको ग्लामरस लुक्सको सामाजिक सञ्जालमा मुस्लिम धर्मावलम्बीले विरोध गर्दै आएका थिए । परिवारमा धार्मिक स्वतन्त्रता भएकाले मुस्लिम वा क्रिश्चियन कुनै पनि धर्म मान्न खुला रहेको उनले बताएकी छन् । विवाहका लागि धर्म परिवर्तन गरे पनि दुवै धर्मलाई सम्मान एवं अवलम्बन गरेको पनि उनले स्पष्ट पारेकी छन् । फाकीको बाबुले उनलाई मुस्लिम समुदायको बारेमा धेरै बुझोस् भन्ने चाहेको र आफूले पनि रमदान, बाइबलका धेरै हरफ कण्ठ बनाएको बताएकी छन् । आफ्नो जन्मथलो लेबनानमा मुस्लिम र क्रिश्चियन दुवै धर्मावलम्बी भएको र विवाह पनि जन्मथलोमै गर्न चाहेको उनले खुलाएकी छन् । एजेन्सी

,

0 comments

Write Down Your Responses