हेर्दाहेर्दै भोटेकोसीमा मिसिए घरहरू

भोटेकोसीमा आएको बाढीको कटानले क्षतिग्रस्त नेपाल–चीन सीमाको मितेरी पुल क्षेत्र । तस्बिर : अनिश/कान्तिपुर असार २४, २०७३- राति पौने ९ बजेको थियो । भूकम्पको जस्तो आवाज आयो । कोही ड्युटीमा थियौं, कोही सुत्न लागेका थियौं । हामी सबै डरायौं । सबै जम्मा भएर घरबाट निस्कन खोज्दा भोटेकोसीको आवाज ठूलो आएजस्तो लाग्यो । ढुंगा बगाएको आवाज आयो । खोलाबाट माटोको गन्ध आयो ।

 लिपिङबाट करिब पौने किमि पश्चिमको कोदारी बजारमा थियौं । बाढी नै आएको भन्ने लाग्यो । तर जमिन भने थर्किरहेको थियो । हामी आफ्नो हतियार र सामानको सुरक्षामा लाग्यौं । १५ लिपिङ बजारबाट ठूलो आवाज आइरहेको थियो । पक्कै त्यहाँ केही भयो भन्ने लाग्यो । म टोली लिएर त्यता लागें । त्यहाँ पुग्न करिब १० मिनेट लाग्यो । अँध्यारो भएकाले निकै खतरा महसुस भएको थियो ।

लिपिङ खोलाको पुलमा पुगेर लाइट बालेर बजारमा हेर्न थाल्यौं । त्यतिबेलासम्ममा बसपार्क क्षेत्रकै १५ वटाभन्दा बढी घर ढलिसकेका रहेछन् । घरहरू ढल्दै थिए । त्यहाँ कोही छन् कि भनेर करायौं । कोही छ, हामी आएका छौं भन्यौं । कोही पनि बोलेनन् । एउटा घरको कुनामा ४०–४५ वर्षकी एक जना महिला देख्यौं ।

उनी कान नसुन्ने र बोल्न नसक्ने रहिछन् । हतार–हतार उनलाई बोकेर निकाल्यौं । लिपिङमा ढुंगा खस्न थालेपछि केही दिन पहिले हामी त्यहाँ आएका थियौं । भूकम्पले थिलथिलो बनाएको घरहरूमा १०–१५ परिवारमात्र बस्थे । धेरै घर रित्तै थिए । त्यसैले पनि मानवीय क्षति हुन पाएन । त्यसपछि आधा घण्टामा त सडक छेउका घरहरू धमाधम नदीमा मिसिन थाले ।

0 comments

Write Down Your Responses