ताप्लेजुङको तमोर नदी पहिरोले थुनियो, तीन बजार जोखिममा
२६ असार ताप्लेजुङ - ताप्लेजुङको सावादिन गाविसमा गएराति गएको पहिरोले तमोर नदी थुनिएर खोलाको धार परिवर्तन हुँदा नदी किनारमा रहेका तीनवटा बजारहरु जोखिममा परेका छन् ।
खोला थुनिएरे फुरुम्बु गाविसमा रहेको मितलुङ बजार नजिकै भएर बग्न थालेपछि मितलुङ बजार सहित तमोर नदी किनारमा रहेका हान्द्रुङ र दोभान बजार पनि जोखिममा परेका छन् ।
राति करीव दुई बजेको समयमा तमोर नदी पारी सावादिन गाविसको नाक्ला भिरबाट पहिरो झरेपछि तमोर नदी केहि समय थुनिएको थियो । अहिले खोलाको धार परिवर्तन भई बग्न सुरु भए पनि थुनिएको भाग पूर्ण रुपमा नखुलेकाले सँगै रहेको मितलुङ बजार सहित केहि किलोमिटर तल नदी किनारमा रहेको दोभान र हान्द्रुङ बजार पनि जोखिममा रहेको प्रहरीले बताएको छ ।
मितलुुङ बजारमा रहेका स्थानीय शिक्षक चन्द्र तामाङले मितलुङ बजारको तल्लो भाग पुरै थुनेर पानी बस्तीमा पस्न थालेको जानकारी दिए । नदी थुनिएर बनेको पोखरीको भागबाट पानी निकास हुन थालेको भएपनि थप पहिरो झर्ने क्रम जारी रहे बस्ती बगाउने संभावना उच्च रहने उनको भनाइ छ ।
अहिले मितलुुङ बजारका स्थानीय बजार छाडेर माथिल्लो भागमा सर्न थालेका छन् भने दोभान र हान्दु्रङका स्थानीयलाई पनि सचेत भएर बस्न आग्रह गरीएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुुख इन्सपेक्टर शैलेन्द्रकुुमार यादवले बताए ।
मितलुङ बजारमा २१ घर रहेका छन् भने हान्द्रुङमा ३० भन्दा बढी र दोभानमा ७० भन्दा बढी व्यापारीक घरहरु रहेका छन् ।
घटना स्थलमा सिवा प्रहरी चौकीबाट प्रहरी पुगिसकेको प्रमुख यादबले बताए । अहिले मितलुङ बजार नजिकैको जिवन लाबुङ र दिलबहादुर लाबुङको घर डुवानमा परेको छ भने जिवन लाबुङको एक हल गोरु रातिनै बगाएको प्रहरीले बताएको छ । क्षतिको विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।

0 comments
Write Down Your Responses