पोखराको प्याराग्लाइडिङ बन्द हुने
५ वैशाख पोखरा - पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने निश्चित भएसँगै पर्यटनका अन्य आयामहरुबारे बहस प्रारम्भ भएको छ । समयमै निर्माण सम्पन्न भएमा अबको चार वर्षभित्र पोखरामा ठूला जहाजहरु आउन थाल्नेछन् । र, ती विमानबाट आउने पर्यटकको घुइँचो पोखरेली पर्यटनले थेग्नुपर्ने हुन्छ ।
विमानस्थल शिलान्यास भएसँगै पोखरामा सञ्चालित हवाइ खेलकुदको भविष्यबारे चिन्ता सुरु भएको छ । अहिले पोखराको प्रमुख पर्यटकीय आकर्षणका रुपमा प्याराग्लाइडिङ र अल्ट्रालाइट सञ्चालनमा छन् । तर, विमानस्थल बनेपछि दुबै गतिविधि विस्थापित हुने भएको छ ।
अहिले व्यावसायीहरुले सराङकोट र तोरीपानीबाट फेवातालको किनारमा प्याराग्लाइडिङ उडान गर्दै आएका छन् । यो क्षेत्र अन्तर्राष्ट्रिय विमानस्थलको ‘एप्रोच ट्रयास’मा पर्ने हुँदा प्याराग्लाइडिङ हटाउनुपर्ने नियामक निकाय नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले अनलाइनखबरलाई बताए ।
‘अन्तर्राष्ट्रिय उडानका लागि अहिले प्याराग्लाइडिङ उडाउने ठाउँ पुरै खाली गर्नुपर्छ, त्यतिमात्र होइन,’ महानिर्देशक गौतमले अनलाइनखबरसँग भने, ‘अहिलेको डोमेष्टिक विमानस्थल पनि एप्रोचभित्र पर्ने हुँदा पूर्णरुपमा बन्द गर्नुपर्छ र यसले अल्ट्रा फ्लाइटसमेत विस्थापित हुने देखिन्छ ।’
अन्तर्राष्ट्रिय उडानको चाप नभएमा नयाँ विमानस्थलबाट अल्ट्रालाइट भने उडाउन सकिने सम्भवना रहेको गौतम बताउँछन् । तर, अन्तर्राष्ट्रिय उडानको चाप भएमा अल्ट्रालाइट पूरै बन्द गर्नुपर्ने बाध्यता छ ।
तर, प्याराग्लाइडिङ भने ईञ्जिनविनाको हुनाले तत्कालै यताउता सारेर उडाउन नमिल्ने हुँदा अन्तर्राष्ट्रिय विमानस्थलका लागि बढी जोखिमपूर्ण हुन्छ, जसले गर्दा विमानस्थल बनेपछि प्याराग्लाइडिङ पूरै बन्द हुन्छ । सराङकोट क्षेत्र विमानस्थलको एप्रोच ट्रयासभित्र पर्ने हुँदा प्याराग्लाइडिङ बन्द गर्नैपर्ने गौतमको भनाइ छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन (आइकाओ)को नियमअनुसार अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रभित्र कुनै पनि हवाइ गतिविधि सञ्चालन गर्न पाइँदैन ।
प्याराग्लाइडिङको भविष्य अब के ?
पोखरामा स्वदेशी तथा विदेशी पर्यटक तानिरहेको प्याराग्लाइडिङको भविष्य अब के हुन्छ ? यो प्रश्नमा महानिर्देशक गौतमले भने- ‘अब प्याराग्लाइडिङ उडानका लागि बैकल्पिक ठाउँ खोज्नुपर्छ ।’
पोखरा उपत्यका बाहिर प्याराग्लाइडिङ उडाउन प्रशस्त सुन्दर र उपयुक्त ठाउँहरु रहेको उनको भनाइ छ ।
तर, प्याराग्लाइडिङ व्यावसायी भने ठूला जहाजहरु उडे पनि आफुहरु विस्थापित हुनु नपर्ने दाबी गर्छन् । विदेशमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै प्याराग्लाइडिङ उडान भइरहेको उदाहरण प्रस्तुत गर्दै हवाइ खेलकुद संघका महासचिव बसन्त दवाडी भन्छन्- ‘अहिले पोखराको प्याराग्लाइडिङ विस्थापित हुन्छ रे भनेर मनगढन्ते कुरा भइरहेको छ ।’
स्वीट्जरल्याण्डको विमानस्थलमा २/३ किलोमिटरको दूरीमा प्याराग्लाइडिङ उडाउन स्वीकृति दिइएको दवाडीले बताए ।
‘अहिलेसम्म प्याराग्लाइडिङ विस्थापित हुने प्राधिकरणबाट आधिकारिक जानकारी आएको छैन’ उनले भने- ‘सरकारले चाहेमा अन्तर्राष्ट्रिय उडानसँगै प्याराग्लाइडिङ सञ्चालन गर्न सकिन्छ ।’
पोखरामा लाखौं पर्यटक भित्राउने प्याराग्लाइडिङ बन्द गर्न नहुने व्यवसायीको तर्क छ । प्याराग्लाइडिङ बन्द हुने नियामक निकायबाट जानकारी नआएको व्यावसायीहरुले दाबी गरिरहँदा महानिर्देशक गौतम भने दुई वर्षअघिदेखि नै पोखराको उपयुक्त विकल्प खोज्न भनिसकेको बताउँछन् ।
‘व्यवसायीलाई हामीले यसअघि नै विकल्प सोच्न भनिसकेका छौं’ महानिर्देशक गौतमले भने- ‘अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोचमा आफ्नै सीमा र मापदण्ड हुन्छ, प्राइमरी र सेकेन्डरी एरिया हुन्छ, व्यवसायीले हचुवाका भरमा उडाउन पाइन्छ भनेर हुँदैन ।’
संघका अध्यक्ष योगेश भट्टराई पोखराबाट प्याराग्लाइडिङ हटाउने भएमा सरकारले विकल्पका लागि ठाउँ खोजिदिनुपर्ने बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा उनले उपयुक्त ठाउँ खोजेर प्याराग्लाइडिङ सिफ्ट गरिदिने जिम्मेवारी नियामक निकायको भएको बताए ।
तर, प्राधिकरणका महानिर्देशक गौतम प्याराग्लाइडिङ उडाउने ठाउँ खोज्ने काम आफूहरुको क्षेत्रभित्र नपर्ने बताउँछन् ।
‘यो नितान्त व्यवसायिक गतिविधि हो, यसलाई कुन ठाउँमा उडाउने भनेर उहाँहरुले नै निर्णय गर्ने हो’ गौतमले भने- ‘उनीहरुले खोजेको ठाउँ उपयुक्त छ वा छैन, टेक्निकल अध्ययन गरिदिने मात्रै हाम्रो काम हो, उनीहरुलाई रेगुलेट गर्ने हाम्रो काम हो ।’
प्याराग्लाइडिङ उडाउने व्यावसायीलाई नै कहाँ उडाउँदा राम्रो हन्छ भनेर बढी थाहा हुने गौतमको तर्क छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट कति दूरीमा हवाइ खेलकुद सञ्चालन गर्न पाइने भनेर आफुहरुलाई थाहा नभएको संघका अध्यक्ष भट्टराईको भनाइ छ । ‘कम्तिमा प्राधिकरणले यति दुरीमा उडाउन पाइन्छ, पोखराका यो-यो ठाउँमा उडाउन पाइँदैन भनेर देखाइदिनु त पर्यो नि’ उनले भने- ‘कहाँसम्म उडाउन पाइँदैन भनेर थाहा नहुँदासम्म कसरी ठाउँ खोज्ने ?’
प्याराग्लाइडिङ विस्थापित गर्नुपूर्व आफूहरुसँग छलफल गर्नुपर्ने उनीहरुको भनाइ छ । यत्तिकै विनाअध्ययन प्याराग्लाइडिङ विस्थापित गर्दा पोखराको पर्यटनको आकर्षण हराउने अध्यक्ष भट्टराईले बताए ।
यदि हटाउनै पर्ने भएमा विमानस्थल सञ्चालनमा आइसक्दा आफूहरुलाई स्थानान्तरण गरिसक्नुपर्ने उनले बताए ।
‘अन्तर्राष्ट्रिय उडान नै असुरक्षित हुन्छ र रोकिन्छ भने हामी स्थानान्तरण हुन तयार छौं’ संघका महासचिव दवाडीले भने- ‘त्यसभन्दा पहिला अध्ययन त हुनुपर्यो नि, यत्तिकै हचुवाको भरमा सिफ्ट होउ भनेर कहाँ सर्ने ? हामीलाई विकल्प त दिनुपर्यो नि ।’
0 comments
Write Down Your Responses