अमेरिकालाई साउदी अरबको धम्की, २००१ सेप्टेम्बर ११ मा भएको आक्रमणका लागि आफूलाई दोषी नठहर्याउन चेतावनी
न्युयोर्क - साउदी अरबले अमेरिका र अमेरिकी सांसदहरुलाई धम्की दिँदै सन् २००१ सेप्टेम्बर ११ मा भएको आक्रमणका लागि आफूलाई दोषी नठहर्याउन चेतावनी दिएको छ ।
अमेरिकाले यदि त्यो आक्रमणमा आफूलाई दोषी ठहर्याएर सम्पत्ति जफत गर्ने कोशिस गर्यो भने त्यसअघि नै आफ्नो सबै सम्पत्ति बेचिदिने चेतावन साउदीले दिएको हो ।
अमेरिकामा साउदी अरबको सम्पत्ति करिब ७ सय ५० अमेरिकी डलर बराबर रहेको छ । साउदी अरबले कडा धम्की दिएपछि अमेरिकामा ओबामा प्रशासन संसदमा प्रस्ताव पारित हुनबाट रोक्ने कोशिशमा सक्रिय भएको छ ।
न्युयोर्क टाइम्सको एक समाचार अनुसार अमेरिकी संसद सेप्टेम्बर ११ को आतंककारी आक्रमणलाई लिएर एक कानुन पास गर्ने तयारीमा जुटेको छ ।
अमेरिकी संसद् सेप्टेम्बर ११ को भीषण आक्रमणका पछाडि साउदी अरबलाई पनि दोषी ठहर गर्ने गरी यो कानुन पास गर्न लागेको हो ।
अमेरिकी संसद्ले सेप्टेम्बर ११ को आक्रमण सम्बन्धी कानुन पास गरेमा अमेरिकामा रहेको आफ्नो अर्बौं डलर सम्पत्ति गुम्ने चिन्ताले साउदी अरबलाई पिरोलेको छ ।
साउदी अरबको धम्कीपछि ओबामा प्रशासनले साउदी अधिकारी तथा अमेरिकी सांसदसँग यस मुद्दामा छलफल अघि बढाएको छ ।
अर्थशास्त्रीका अनुसार अमेरिकामा आफ्नो सम्पत्ति बेच्न साउदी अरबलाई त्यति सजिलो भने छैन ।
यदि साउदीले यो सम्पत्ति बेच्यो भने उसको अर्थतन्त्रमा पनि प्रत्यक्ष असर पर्नेछ ।
तर साउदी अरबलाई आफ्नो सम्पत्ति जफत हुनु भन्दा बेच्नुमा धेरै गुणा फाइदा छ । अन्तत: यदि अमेरिकी संसद्ले त्यो कानुन पारित गरेमा अमेरिका र साउदी अरबबीचको सम्बन्धमा पनि तनाव बढ्ने पक्का छ ।
ओबामा प्रशासनले भने यदि यो बिल पास भयो भने साउदी अरबसँगको राजनीतिक सम्बन्ध मात्रै बिगर्ने छैन देशको अर्थव्यवस्थामा पनि गम्भीर असर पर्ने चेतावनी आफ्ना सांसदहरुलाई दिएको छ ।
साउदी अरबका विदेश मन्त्री अब्देल अल जुबेरले अघिल्लो महिना भ्रमणका क्रममा आफ्नो देशको तर्फबाट अमेरिका कडा चेतावनी दिँदै कुनै हालतमा कानुन पारित नगर्न भनेका थिए ।
0 comments
Write Down Your Responses