सरकारलाई कुर्दाकुर्दा आत्तिइसके भूकम्पको केन्द्रबिन्दु बारपाकवासी
बारपाक (गोरखा) - भूकम्पको केन्द्रबिन्दु बारपाकवासीको दुःख अझै घटेको छैन। बारपाक-१ इसिनानका माइला गुरुङ आइतबार काठ ठोकठाक गर्दै घर बनाउँदै थिए।
भुइँचालोले पोहोर घर भत्काएपछि अर्काको बारीमा टिनको टहरामा ओत लागेका उनलाई आउने बर्खाअघि घर बनाइसक्नु छ।
सरकारले २ लाख देला र घर बनाउँला भनेर कुर्दाकुर्दा उनी आत्तिइसके। पानी पर्न थालिसकेकाले उनलाई सरकारको भर परेर बस्दा दुःख पाइएला भन्ने डर लाग्यो। 'त्यस्तो राम्रो त होइन, पुरानै काठपात जोडेर बनाउन लागेको', उनले भने।
सरकारले घर बनाउन २ लाख रुपैयाँ दिने भन्ने उनले सुनेका छन् । तर त्यो कहिले आउँछ थाह छैन । त्यो पैसा लिन पनि इन्जिनियरले लेखिदिएको कागज र लालपुर्जा चाहिन्छ भन्ने पनि उनले सुनेका छन् । तर त्यसरी कहिले पाउने हो पैसा भन्ने थाहा नभएकाले आफ्नै सुर गर्न थालेको उनले बताए।
उनको गाउँका अरू २५ घर पनि भूकम्पले सोत्तर भएका थिए। ६ जनाको ज्यान गएको थियो।
'गाउँका सबै टहरामै छौं', उनका छोरा मनबहादुरले सुनाए।पुरानो घर भएको ठाउँमा मनबहादुरले कुखुरा पालेका थिए। त्यही व्यवसाय गर्न पनि उनलाई पुरानै ठाउँमा बस्नुपरेको छ।
'कुखुरा पनि नपाले के खाने', उनी प्रश्न गर्छन् । पोहोर वैशाख १२ को भूकम्पले बारपाकलाई केन्द्रबिन्दु बनाउँदा बारपाकमै पनि सबैभन्दा धेरै क्षति उनको गाउँ इसिनान, मान्द्रे र पोखरीमा पु'याएको थियो । यी तीन गाउँका ३ सय जति घरधुरी थातथलोबाट विस्थापित भए।
'जमिनमा धँजा फाट्यो', बारपाकका अगुवा जितबहादुर घले भन्छन्, 'सरकारले २ लाख रुपैयाँ दियो भने पनि घर बनाउने ठाउँ छैन विस्थापितसँग ।' त्यसमाथि ५० हजार रुपैयाँ पहिलो किस्तामा दिने र त्यसबाट केही काम भएपछि अरू किस्ता दिने भनिएको छ। '५० हजार आयो भने पनि घडेरी नै नभएकाले कहाँ घर बनाउनले होला? '
जितबहारको अर्को प्रश्न छ।
घर बनाउने पैसा छुट्याउनुअघि विस्थापितका लागि जग्गा खोज्दिनुपथ्र्यो भन्छन् जितबहादुर। सरकारले पैसा दिने हो भने व्यक्तिगत पाखोबारी किनेर विस्थापितलाई स्थापित गराउन सकिने उनको भनाइ छ।
'सरकारले जग्गा दियो भने विस्थापितले पुरानो जग्गा सरकारलाई दिन पनि तयार छन्', उनी भन्छन्, 'तर सरकारी टोली आएर यहाँ छलफल गर्दैन।' सरकारले भुइँचालो गएको वर्ष दिन पूरा हुने दिन आउँदो १२ गतेदेखि पुनर्निर्माण थाल्ने योजना सार्वजनिक गरिसकेको छ। तर वास्तविक पीडितको समस्या के छ भन्ने थाहै नपाइ के गर्ने होला भनेर जितबहादुर छक्क परेका छन्।
बारपाक गाविस भरिका १ हजार ४ सय ४७ घर भुइँचालोले भत्काएको थियो। २४ वटा पक्की घरमा आंशिक क्षति भएको थियो। सरकारको भर परेर बस्दा केही होलाजस्तो नलागेपछि अहिले बारपाक गाउँका अधिकांशले अस्थायी नै भए पनि घर बनाएका छन्।
केहीले आफ्नै सुर गरेर पक्की घर पनि ठड्याइसके। स्थानीयको चाहना भनेको एकीकृत बस्ती विकास होस् भन्ने हो। तर त्यसका लागि कहाँबाट बाटो लैजाने र कहाँकहाँ घर बनाउने भन्ने योजना बनाउन सरकारले सिन्को भाँचेको छैन। त्यसैले सक्नेले पनि कहाँ घर बनाउने होला भन्ने यकिन गर्न सकेका छैनन्।


0 comments
Write Down Your Responses