प्रसिद्व बिस्केट जात्राको चौथो दिन भेलुखेलस्थित च्यासिंमण्डवअगाडि ५५ हाते बिस्केटको लिंगो ठडयाइयो
वैशाख १, २०७३ प्रसिद्व बिस्केट जात्राको चौथो दिन भेलुखेलस्थित च्यासिंमण्डवअगाडि ५५ हाते लिंगो ठडयाइएको छ।
लिंगो बाजागाजासहित तान्त्रिक विधिपूर्वक ठडयाइएको हो।
८ रात ९ दिनसम्म मनाइने बिस्केटको चौथो दिन मंगलबार तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको शरीर) लिंगो उभ्याइएको थियो। पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनमा लिंगो उभ्याइन्छ। भैरवनाथको प्रतीक मानिने लिंगोको शीर्ष भाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ।
टुप्पोमा नाग र नागिनीको प्रतीक स्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक ८ डोरीले बाँधी लिंगो उभ्याइएको हो।
लिंगोको टुप्पामा झुन्डयाइएका दुई ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरवका ध्वजासमेत भनिन्छ। लिंगो उभ्याउने क्रममा नवदुर्गा देवगण उपस्थित हुन्छन्। लिंगो उभ्याएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ। चैत मसान्तका दिन भैरवनाथ र भद्रकालीको रथ भेलुखेल पुर्याइएको छ। लिंगो उठ्नासाथ स्थानीयले बाराही देवीको तिंप्वा: जात्रा मनाएको छ।
चैत मसान्तको साँझमा उभ्याइएको लिंगो नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते ढाल्ने परम्परा छ। नयाँ वर्षको दिन बिहान भैरवनाथ, इन्द्रायणीको पूजा गरी तान्त्रिक विधिपूर्वक उभ्याइएको लिंगो ढाल्ने परम्परा छ।
वैशाख २ गते मध्यपुर ठिमीको बोडेमा बिस्केटको छैटौं दिन बिहान सिन्दूर जात्रा गरी दिउँसो जिब्रो छेड्ने जात्रा गरिन्छ। जात्राको आठांै दिन भक्तपुरका सम्पूर्ण देवीदेवताको सगुन पूजा गरिन्छ।
यसलाई नेवारी भाषामा द्यो सगं बिइगु भनिन्छ। जात्राको नवौं दिन वैशाख ५ गते तालाक्वस्थित कुमाले टोलमा उभ्याइएको ल्हामरु म्ह लिंगो ढालिन्छ र बेलुका यो जात्राको पहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सम्पन्न हुन्छ।


0 comments
Write Down Your Responses