दृष्टिविहीन दम्पती : भूकम्पले घर भत्काईदिएपछिको जीवन
दृष्टिविहीन स्वस्तिका थापा (३०) लाई जीवन निर्वाह कसरी गर्ने भन्ने चिन्ता त छँदै थियो, त्यसमाथि गत वर्गाको भूकम्पले भएको सानो घर पनि भत्काइदिएपछि घर कसरी बनाउने भन्ने पिरलो थपिएको छ । भूकम्पले भत्काइदिएको घरको भग्नावशेष बल्लबल्ल पन्छाएर नजिकै टिनले बारेको टहरो बनाएर स्वस्तिका, उनका पति राजीव र आठ वषीया छोरी उषाले जसोतसो गरेर २०७२ सालको बर्खा र हिँउद कटाए । स्वस्तिका भन्छिन्, ‘सधैं जिन्दगी यसरी कसरी चल्ने हो चिन्तामात्रै लाग्छ ।
’
जीवनयात्राकै क्रममा संयोगले भेटिएका काभ्रे र्यालेनिवासी दृष्टिविहीन राजीव तामाङसँग मन मिलेपछि प्रेमविवाह गरेकी स्वस्तिका जीवनसँग निराश भइसकेकीचाहिँ छैनन् । अहिले कक्षा २ मा पढ्दै गरेकी उषाको लालनपालनदेखि लिएर उचित शिक्षादीक्षाको जिम्मेवारी पनि अब दृष्टिविहीन दम्पतीको काँधमा आएको छ । उषाका लागि स्थानीय एक बोर्डिङ स्कुलले केही सहयोग गरेको स्वस्तिका बताउँछिन् । भर्ना शुल्क र मासिक शुल्क छुट गरिदिए पनि नानीका लागि किताब, कापी, स्कुले झोला र ड्रेस जुटाउन आफूलाई निकै अप्ठ्यारो परेको राजीवले बताए ।
उदयपुरमा जन्मिएकी स्वस्तिकाले चैतन्य बहुमुखी क्याम्पसबाट दस जोड दुईको पढाइ सकेकी छन् । तर, अहिलेसम्म कतै केही काम पाउन सकेकी छैनन् । काम खोज्दाखोज्दै आजित उनी भन्छिन्, ‘दृष्टिविहीनलाई कसैले काम दिने मन गर्दैनन् ।’ यो देशमा सरकार छ भन्ने बोध आफूलाई हुन नसकेको थापा बताउँछिन् । ‘सरकारले हामी अपांगका लागि के गरेको छ थाहा छैन ।’
बाहिर काम खोज्दाखोज्दै नभेटिएपछि उनलाई आफैं स्वरोजगारी उद्यम गर्न मन नलागेको होइन । तर, लगानी कहाँबाट जुटाउने ? उपाय छैन ।
धितो राख्नका लागि सम्पत्तिको नाममा त्यही एउटा सानो घर थियो । त्यही पनि भूकम्पले ध्वस्त बनाइदिएपछि घरसँगै उनको जीवनका सपना तहस–नहस भएका छन् ।
उनलाई सरफ बनाउने उद्योग खोल्न मन लागेको छ । त्यसका लागि कम्तीमा पनि ५० हजार रुपैयाँ लाग्ने थापाको अनुमान छ । तर, पैसा जुटाउने ठाउँ कहीँ छैन । आयस्रोत केही नभएको हुनाले ब्याजमा ऋण खोज्दा पनि पाउन नसकेको उनका पति तामाङ बताउँछन् । कोही मनकारी दाताले सहयोग गरिदिएमा आफ्नो थिल्थिलो परेको जीवनले गति लिन्थ्यो कि भनेर उनीहरूले आशा गरेका छन् ।
कक्षा १० सम्म अध्ययन गरेका राजीव गत वर्ष भूकम्प आउनु अगाडिसम्म एउटा अगरबत्ती उद्योगको बजार व्यवस्थापन गर्ने काम गर्दै आएका थिए । तर, भूकम्प पछाडि उनको त्यो रोजगारी गुम्यो । त्यसयता उनी बेरोजगार छन् ।
हिजिोआज त साँझ–बिहानको छाक कसरी टार्ने भन्ने समस्यामा रहेको उनले सुनाए ।
सरकारले अपांगका लागि स्वरोजगार कार्यक्रम अगाडि सारेको राजीवले सुनेका छन् । तर त्यो तालिम कहाँबाट, कसरी, कोमार्फत लिने हो थाहा पाउन सकेका छैनन् । यसबारे न त उनलाई कसैले केही भनेका छन् । न त उनले नै कतै केही सोधेका छन् । यसबारे स्थानीय प्रशासनले खोजिनिती गरिदिए आफूजस्ताका लागि धेरै राहत हुने थियो भन्ने उनलाई लागेको छ ।
भूकम्पपीडितका लागि घर बनाउने भनेर सरकारले दुई लाख रुपैयाँ दिने भनेको उनीहरूले सुनेका छन् । यो कुरा पनि उनलाई चित्त बुझेको छैन ।
यो महँगी जमानामा दुई लाखमा कस्तो घर बनाउने हो उनी प्रश्न गर्छन् ।
आफ्नो घरमै प्राण त्याग्ने सपना अधुरै छाडेर उनका बुवाले गत माघ २ गते त्यहीं साँघुरो टहरोमा संसार छाडेर गए । आफ्नै घर नभएकोमा उनलाई त्यतिबेला निकै दुःख लागेको थियो ।
सरकारले दुई लाख दिनुको सट्टा एउटा सानो घर निर्माण गरिदिए भूकम्पपीडितका लागि निकै राहत हुने स्वस्तिकाले बताइन् ।
‘न घर निर्माणको केही ग्यारेन्टी छ न त जीविकोपार्जनकै लागि केही उपाय छ । यस्तो कुरा सम्झँदा पनि मन निराश हुन खोज्छ तर सास रहुन्जेल आस मार्नुहुन्न भनेर आफूले आफंैलाई सम्झाउने गरेका छौं,’ तामाङ दम्पती भन्छन् ।
आज दुःख पाए पनि भोलि त केही राम्रो होला भनेर बाँचिरहेका उनीहरूको पीर बाँड्न तयार कोही होलान् ? कोही त होला मनको पुकार सुनिदिने भन्ने सोचेर जीवनप्रतिको आशा कायमै राखेका उनीहरूको आशा पूरा गरिदिने कोही होलान् ?


0 comments
Write Down Your Responses