विवाह गरेर एक हजार नेपाली महिला कोरिया पुगे, अधिकांश शोषणको शिकार

१३ वैशाख, काठमाडौं । विवाहको बहानामा ठूलो संख्यामा नेपाली चेलीहरु चीन र दक्षिण कोरिया पुग्ने गरेको खुल्न आएको छ । यसरी बिहे गरेर जाने मध्ये अधिकांश महिलाले दासतापूर्ण जीवन बिताउनु परेको छ । राष्ट्रिय मानव अधिकार आयोगले सोमबार सार्वजनिक गरेको मानव बेचबिखनसम्वन्धी प्रतिवेदनले बिहेका नाममा नेपाली महिलाहरु चीन र कोरिया पुगेको देखाएको छ । सन् २००५ देखि २०१३ सम्म विवाह गरेरे एक हजार नेपाली महिला दक्षिण कोरियामा पुगेका छन् । यसमध्ये ३ सय जनाले मात्रै खुशीसाथ घर बसाएका छन् भने झण्डै ७ सय महिलाको अवस्था दयनीय छ । 

आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारीले भनिन्, ‘उनीहरुले दासतापूर्ण जीवन बिताउनु परेको छ ।’ बिहेको नाममा चीन पुगेकाहरुको संख्या भने प्रतिवेदनमा उल्लेख गरिएको छैन । यसअघि नेपाल प्रहरीले विभिन्न समयमा विवाह गरेर चीन तथा कोरिया पुगेको र त्यहाँ यौनदासका रुपमा रहेका केही महिलाको उद्दार गरेको थियो ।

 तर, अझै कति चेलीहरु त्यहाँ छन् भन्ने यकिन तथ्यांक आइसकेको छैन । मानवअधिकार आयोगको प्रतिवेदमा अहिले ८३ वटा नेपाली एजेन्सीले यस्तो विवाहको लागि चाँजोपाँजो मिलाउने गरेको उल्लेख छ । उनीहरुले विदेशी पुरुष मिलाइ दिएबापत दोहोरो कमिसन बुझ्ने गरेका छन् । 

सुखी भविष्यको आशामा विदेशी पुरुषसँग विवाह गर्ने अधिकांश महिलाहरु विभिन्न किसिमका शोषण र हिंसा सहन बाध्य छन् । मानवअधिकार आयोगको प्रतिवेदनले मानव बेचबिखनका लागि नेपाल-भारतसँगै नेपाल तिब्तत सीमा मुख्य रुपमा प्रयोग भइरहेको निष्कर्ष निकालेको छ ।

 वैदेशिक रोजगारीमा नाममा हुने मानव बेचबिखन बढेको मानवअधिकार आयोगको अध्ययनले देखाएको छ । शहरी क्षेत्रमा रहेका डान्सबार, रेष्टुरेन्ट, मसाज पार्लर लगायत मनोरञ्जन उद्योगमा काम गर्ने महिलाहरुले उचित पारिश्रमिक र ब्यवहार नपाइरहेको जनाएको छ । 

प्रायः ग्रामीण क्षेत्रका महिलाहरुलाई यस्ता केन्द्रहरुमा ल्याएर शोषण गर्ने गरिएको प्रतिवेदनमा उल्लेख छ । यिनै महिलाहरुलाई नै अन्तरदेशीय मानव बेचबिखनको मुख्य स्रोतका रुपमा प्रयोग गर्ने गरिएको भन्दै आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

 प्रतिवेदनमा काभ्रेका ८ गाविस मिर्गाैला बेचबिखन प्रभावित क्षेत्र बनेको औंल्याइएको छ । ३६ जना स्थानीयको मिर्गौला बेचिएकोमा २७ जनालाई आर्थिक प्रलोभनमा पारेर सहमतिमै झिकिएको आयोगले जनाएको छ । यसमध्ये १६ जना दलित परिवारका सदस्य छन् ।

0 comments

Write Down Your Responses