नेपालमा रेलैरेल : चीनपछि नेपालसँग ५ वटा रेलमार्ग जोड्ने भारतको योजना
नयाँ दिल्ली – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दौरान चीन र नेपाल केरुङ काठमाडौँ लुम्बिनी बीच रेलमार्ग जोड्ने विषयले निकै चर्चा पायो । अहिले भारतले पनि नेपालसँग रेलमार्ग जाड्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
‘रणनीतिक रुपमा महत्वपूर्ण मानिएको भूपरिवेष्ठित नेपालमा भारतले ५ वटा नयाँ रेलमार्ग जडान गर्ने योजना बनाएको छ,’ भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।
सन् २००५ मा शुरु गरिएको भारत र नेपाललाई जोड्ने वीरगंज–रक्सौल रेलमार्ग अहिले सञ्चालनमा छ ।त्यसबाट नेपालले होइन, भारतले मात्रै बढ्ता फाइदा लिएको छ कारण के छ त भन्दा नेपालतर्फको सम्पर्क सन्जाल भने छैन ।
यस्तै दुई वटा रेलमार्ग आगामी दुई वर्षभित्र निर्माण भइसक्ने स्रोतलाई उद्धृत गर्दै लाइभमिन्टले लेखेको छ ।
उत्तर प्रदेश र विहारमा रहेका धेरै रेलवे स्टेसनहरु सीमाबाट निकै नजिक छन् । अब त्यहाँबाट रेलमार्ग थप गर्ने मात्र प्रश्न हो,’ नाम उल्लेख नगर्ने सर्तमा एक विज्ञले भनेका छन्, ‘बिहारमा निर्माण भइरहेको दुईवटा रेलमार्ग आगामी दुई वर्षभित्र सम्पन्न भइसक्ने अनुमान हामीले गरेका छौं ।’ हाल जग्गा अधिग्रहणको समस्याका कारण परियोजनमा केही ढिलाई भइरहेको उनले बताएका छन् ।
‘हामीले यस्तै तीनवटा नयाँ परियोजनाहरु शुरु गर्ने तयारी गरेका छौं । तर, ती अलि पछि शुरु हुनेछन्,’ उनले भनेका छन् ।
भौगोलिक बनावटका कारण नेपालमा रेलमार्ग जोड्नलाई चीनभन्दा भारतलाई सजिलो भएको विज्ञहरु बताउँछन् । चिनियाँ मिडिया रिपोर्टलाई उद्धृत गर्दै भनिएको छ, ‘चीनले अघिल्लो वर्ष नेपालसम्म रेलमार्ग जोड्ने बताएको थियो । तर, उनीहरुले यसका लागि सगरमाथामा सुरुङमार्ग बनाउने बताएका थिए । तर पछिल्लो सम्झौतामा सो विषय समेटिएको छैन ।
उक्त रेलमार्ग तिब्बत आउने रेलमार्गको विस्तार हुने बताइएको छ ।’
‘यदी नेपालमा रेलमार्ग जोड्न सके भारतको प्रभाव बढी हुनेछ,’ जवहारलाल नेहरु विश्वविद्यालयका प्राध्यापक विश्वजीत धर बताउँछन्, ‘यसले भुपरिवेष्ठित राष्ट्रलाई विश्वलाई जोड्न मद्दत गर्नेछ भने दुई देशबीचको सम्बन्ध सुदृढ हुनेछ ।’
यद्यपि, चीनको कारणले भारतले रेलमार्गको योजना अघि नसारेको भारतीय सरकारका अधिकारीहरुले बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।
‘हामीले सँधै हाम्रा छिमेकीहरुसँग राम्रो कनेक्टिभिटी बनाउनेमा जोड दिँदै आएका छौं,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुस्मा स्वराजको सम्पर्क सञ्जालको बारेमा विज्ञप्ति देखाउँदै ती अधिकारीले भने ।
नेपालको पोखरामा हालै सम्पन्न सार्क मन्त्रीस्तरीय बैठकमा पनि सार्क राष्ट्रहरुमा सम्पर्क सञ्जाल विस्तार गर्ने विषयमा छलफल भएको ती अधिकारीको भनाई थियो । उक्त बैठकमा स्वराजले यही विषयमा जोड दिएको उनको तर्क थियो ।
सम्पर्क सञ्जाल विस्तार गर्ने विषयमा सन् २०१४ को नोभेम्बरमा भएको १८ औं सार्क शिखर सम्मेलनमा नै हस्ताक्षर हुने भनिए पनि पाकिस्तानको कारणले अन्तिममा त्यो हुन सकेको थिएन ।कारण थियो त परस्पर विरोधी शक्तिबीचको सम्पर्क सन्जाल सहजै रुपमा स्थापना हुन सम्भव थिएन ।
गत जुनमा भने भारतले भुटान, बंगलादेश र नेपालसँग सवारी साधन सञ्चालनसम्बन्धी बहुपक्षीय सम्झौता (मोटर भेहिकल प्यासेज) सम्झौता भएको थियो ।
भारतले हालै बंगलादेशसँग जोडिएका ६ वटा रेलमार्ग पनि पुनर्निर्माण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका दौरान पनि काकडभित्ता र बंगालदेश कोरिडोर प्रयोग गरेर आयात तथा निर्यातलाई सहज बनाउने तथा विशाखापटनम बन्दरगाह प्रयोग गर्ने सम्झौता भएको थियो ।
प्राध्यापक धारका अनुसार दक्षिण एसियाली मुलुकहरुमा यसरी सम्पर्क सञ्जाल विस्तार भए यसले भविष्यमा तीव्र रुपमा विकास भइरहेको दक्षिण–पूवी एसियाली अर्थतन्त्रमा जोडिन मद्दत पुग्ने बताए ।
भारत पहिले नै एसियाली त्रिदेशीय राजमार्गको अंश छ जसले भारत, म्यानमार र थाइल्याण्डलाई जोड्छ । तर सो मार्ग हाल प्रभावकारी रुपमा सञ्चालनमा छैन । किनकी म्यानमारको विद्रोह र सैनिक शासनका कारण उक्त मुलुक भारतसँग भन्दा पनि चीनसँग नजिक रहन रुचाउँछ ।


0 comments
Write Down Your Responses