टावरको निर्माण अवधिभर पुरानो बसपार्कमा आउने र त्यहाँबाट छुट्ने सवारीहरुको व्यवस्थापन खुलामञ्चबाट गरिने

काठमाडौं ९ वैशाख - काठमाडौं टावरको निर्माण अवधिभर पुरानो बसपार्कमा रोकिन आउने र त्यहाँबाट छुट्ने सवारीहरुको व्यवस्थापन खुलामञ्चबाट गरिने भएको छ । 


राजधानीको पुरानो बसपार्कमा निर्माण गर्न लागिएको उक्त टावरको निर्माणको समयमा मात्र खुलामञ्चमा यातायातको साधन राखिने काठमाडौं महानगरपालिकाले बताएको छ । काठमाडौं महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार टावर निर्माणका लागि हाल खुलामञ्चमा जस्ताले बार्ने काम भइरहेको छ । उक्त काम सकिनेबित्तिकै यातायातका साधनलाई स्थानान्तरण गरी टावर निर्माणको काम सुरु गरिने छ । 

‘टावर निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि टावरको संरचना फरक भएकाले निर्माण प्रक्रिया ढिला भएको हो,’ प्रवक्ता कार्कीले भने । भूकम्प पूर्वको योजनाअनुसार टावर २९ तला बनाउने तयारी रहेको थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाइने छ । अहिले १२ तलाको बनाउने नक्सालाई स्वीकृति दिइएको छ । प्रस्तावित सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कनसमेत तयार भइसकेको कामपाले बताएको छ ।

राजस्व महाशाखा प्रमुख महेश काफ्लेका अनुसार उक्त टावर निर्माणका लागि जलेश्वर, स्वच्छन्द र विकोइसँग सम्झौता गरिसकेको छ । सम्झौताअनुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउने छन् । काम सुरु भएको पाँच वर्षभित्र सो टावर बनाइसक्नुपर्ने छ भने त्यसपछिका २५ वर्ष सञ्चालन अवधि रहनेछ । यो टावर नेपालमा अहिलेसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिक हुने बताइएको छ । सो टावरको लागत तीन अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान महानगरपालिकाले गरेको छ । 

भवनको सबैभन्दा तल्लो तलामा बसको पार्किङ रहनेछ । त्यसमाथिका दुई तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित सिनेमा हल, पौडी पोखरी, रेस्टुराँ, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् । भवनका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । नेपाली कला र संस्कृतिको झलक सो भवनमा देख्न पाइने छ । रासस

,

0 comments

Write Down Your Responses