ट्राफिकको कारबाही झोक चल्दा मात्रै हो ? ट्राफिक चिन्हबिनै कारबाही गर्दा सवारी चालकलाई सास्ती
९ वैशाख, काठमाडौं - ट्राफिक जवान गंगा राजवंशी बिहीबार विजुलीबजार पुल नजिकै सवारी व्यवस्था मिलाउन खटिएकी थिइन् । पुल क्रस गरेर बुद्धनगरतिर मोडिएका मोटरसाइकलहरुलाई धमाधम फर्काउँदै थिइन् उनी ।
उनको आदेश मान्दै मोटरसाइकलहरु पुलमुनिबाट क्रस गरेर आए । तर ती मोटरसाइकललाई पनि चिट काट्न थालिन् । सँधै यो बाटो ओहोर-दोहोर गर्दै आएका यात्रुहरु केहीबेर एकतर्फी बाटोको कुनै संकेत चिन्ह राखिएको छ कि भनेर हेर्न थाले । तर त्यहाँ कुनै ट्राफिक चिन्ह वा संकेत थिएन ।
करिब १० मिनेटसम्म राजवंशीले त्यहाँ उभिएर मोटरसाइकल चालकलाई कारवाही गरिन् । उनी हिँडेपछि त्यहाँ साविककै शैलीमा मोटरसाइकलहरु ओहोर-दोहोर गर्न थाले । सडकमा सवारीचालकले नियम उल्लंघन गरे कारबाही गर्ने निकाय ट्राफिक प्रहरी हो । ट्राफिक चिन्हअनुसार सवारी नचलाउने वा नियमविपरित सवारीसाधन चलाउनेहरु ट्राफिक प्रहरीको कार्वाहीमा पर्ने गर्छन् । तर ट्राफिक चिन्ह नराखिएका सडकहरुमा पनि पासो थापेर बस्ने ट्राफिक प्रहरीको कारण थुपै्रले सास्ति पाइरहेका छन् ।


0 comments
Write Down Your Responses