'स्वाधीनताको लडाईं बिष्फोट हुनसक्छ' प्रचण्ड
काठमाडौँ - एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको लडाईं जुनसुकै बेला बिष्फोट हुनसक्ने बताएका छन् ।
एमाओवादीको भगिनी संगठन अखिल नेपाल महिला संगठन क्रान्तिकारीको छैठौ राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै दाहालले भने, ‘कुनै पनि बेला राष्ट्रिय स्वाधीनताको लडाईं बिष्फोट हुन सक्छ ।’
‘छिमेकीहरुसँग हामी राम्रो सम्बन्ध चाहन्छौ । कसैसँग पनि लडाईं र झगडा चाहदैनौँ । हामी हाम्रो आत्मसम्मान र आत्मनिर्णयको अधिकार चाहन्छौ,’ दाहालले भने, ‘बामपन्थीहरुको रणनीतिक मोर्चा जरुरी छ । देशभक्त र बामपन्थीहरु एकताबद्ध भएर बसेनौ भने राष्ट्र अप्ठ्यारो अवस्थामा पुग्न सक्छ ।
कुनै पनि बेला राष्ट्रिय स्वाधिनताको लडाईं बिष्फोट हुन सक्छ ।’
संविधान घोषणापछि राष्ट्रिय स्वाधिनको लडाई पेचिलो बन्दै आएको दाहालले बताए । माओवादी धारका विभिन्न पार्टीहरुलाई एकताबद्ध बनाएरै छाडिने दृढता पनि दाहालले व्यक्त गरे ।
प्रचण्डले आफनो नेतृत्वमा सञ्चालित जनयुद्धका सारथी टुक्रा टुक्रा भएर विभाजित भएका माओवादीलाई एकताबद्ध गराउने मिसनमा लागेको बताए । उनले आफूलाई आत्मसमर्पणवादी भन्ने नेताहरु साम्राज्यवादीको घेरामा रहेको समेत आरोप लगाए ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले बिहिबार केन्द्रीय समितिको बैठकबाट पार्टी एकताको प्रस्ताव पारित गर्ने अपेक्षा राख्दै दाहालले पूर्वसमूहको व्याज खाने अधिकार कसैलाई नरहेको बताए ।
एमाओवादी भित्र जनयुद्ध गर्ने र पूर्वएकता केन्द्रका पूर्वसमूह वेलावेलामा टकराउने गरेको बताए । दाहालले एमाओवादीभित्र जनयुद्धका हस्तीको अभाव भएको बताउदै भने, ‘सँगै जनयुद्ध लडेका बैद्यजी हामीसँग हुनुहुन्न । डाक्टर पनि हुनुहुन्न । हामी लाटागाँडा मात्रै छौँ ।’
प्रचण्डले वैद्य र बाबुराम भट्टराई अलमलमा परेको समेत आरोप लगाए । ‘बैद्य आफै अलमलिएका छन्,अरुलाई उपचार गर्नु पर्ने डाक्टर आफै उपचार गर्नु पर्ने खराव हालतमा छन्,’ उनले जनयुद्धबाट आएका कसैले घमण्ड गर्नुको अर्थ नभएको बताए, ‘हामी कसैले पनि घमण्ड नगरौँ, जनआन्दोलनबाट आएकाले साथ दिएका छन् । जनयुद्धबाट आएको भनेर घमण्ड गर्नुको अर्थ छैन ।’
माओवादी शक्तिमा नआएसम्म थाक्दिन
दाहालले माओवादीलाई शक्तिमा नपुर्याएसम्म आफू नथाक्ने बताए । ‘माओवादीलाई शक्तिमा नल्याएसम्म म थाक्ने छैन । एकथरी प्रतिक्रियावादीहरु माओवादी धाराहरुको वीचमा एकता नहोस भनेर कसरत गरिरहेका छन्[, दाहालले भने, 'हामीलाई आत्मसमर्पणवादी भन्ने माओवादी धाराभित्रकै कतिपय व्यक्तिहरु साम्राज्यवादीको घेरोमा छन् । बरु हामी जोखिम मोलेर राष्ट्रिय स्वाधीनताको लडाईमा छौँ,’
माओवादी विभाजित भएका कारण संविधानसभा निर्वाचनमा तेस्रो हुनु परेको तितो सत्य पनि दाहालले पोखे ।
‘अहिले माओवादी हेपिएको छ । हेपिएका माओवादीहरुको पुनर्गठन गर्नुपर्छ । हामीले एकले अर्काेलाई लछार पछार गर्यौ । एकले अर्कोलाई ताछन सक्नेसम्म ताछ्यौ । जुनसुकै माओवादी भएपनि एउटै काँक्राको चिरा हुन्’ दाहालले भने, ‘माओवादीलाई एकताबद्ध बनाइराख्न सकेको भए निर्वाचनमा हामी पहिलो वा दोस्रो पार्टी हुन्थ्यो । अहिलेको अवस्थामा हुदैनथ्यौँ । सबै माओवादीलाई एक ठाउँमा ल्याएर हेप्नेहरुबिरुद्ध संघर्ष गर्न तयार हुनुपर्छ ।’
जनयुद्धका घाइते, अपाङग र वेपत्ताका परिवारलाई सरकारका राजनीतिक नियुक्तिमा पहिलो प्राथमिकतामा राखिएको पनि दाहालले बताए । एमाओवादीले महिला,जनजाति, दलित, मुस्लिम लगायतका समुदायलाई जनसंख्याको आधारमा पार्टी र राज्यको बिभिन्न निकायमा प्रतिनिधित्व गराउने अभियानमा लागेको पनि दाहालले बताए ।
आफूहरुले गरेको संघर्षको परिणाम स्वरुप केन्द्रीय तहमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित भएको दावी गर्दै दाहालले अन्य राजनीतिक दलहरुमा पनि महिलाहरुको प्रतिनिधित्व बढ्नुमा आफूहरुले सञ्चालन गरेको जनयुद्धको योगदान रहेको बताए ।
संविधानसभाबाट घोषणा गरिएको संविधान गतिशिल दस्तावेज भएकोले जनताको चाहना, भावना र आन्दोलनका उपलब्धीलाई समेटेर संविधान संशोधन गर्न सकिने दाहालले बताए । तीन दिनसम्म सञ्चालन हुने संगठनको राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।


0 comments
Write Down Your Responses