जोशमा होस नपुर्याउँदा पछुताउँदै युवती, अमेरिकनसेना आर्मीसँग बिहे गर्ने सपनाले डुबायो

काठमाडौं - खाईलाग्दो ज्यान भएका नुवाकोटको सामरी गाविसका जीवन तामाङका परिचय अनेक छन् । सन्तोष, विक्रम लगायतका नाम भएका उनी दुई वर्ष अगाडि ठगी मुद्दामा पक्राउ परेर चार लाख धरौटीमा छुटे, तर उनको ठगी धन्दा भने रोकिएन । धरौटी तिरेर छुटेलगत्तै उनले फेसबुकलाई ठगी धन्दाको माध्यम बनाए ।
उनको पहिलो रोजाईमा परिन् नुवाकोटकी २४ वर्षीया युवती । 
ठगीका लागि फोटोसपबाट बनाइएको बाराक ओबामासँग हात मिलाउँदै गरेको तस्बिर 

फेसबुकमा ती युवतीलाई अफलाईन म्यासेज पठाउँदै लेखे, ‘हाई ! मैले तपाईंको फेसबुक प्रोफाईल हेरें, म अमेरिकन आर्मी हुँ, अहिले क्यालिफोर्नियामा छु, नेपाल आउने तयारीमा छु । मेरो घर पनि नुवाकोट नै हो, आएपछि फोन गर्छु ।’ जीवनले उनलाई फेसबुकमै फोटोसपमार्फत डिजाईन गरिएको अमेरिकन आर्मीसँग विदाई भएको, राष्ट्रपति बाराक ओबामासँग हात मिलाएको, राष्ट्रसंघका महासचिव वान कि मुनसँगको फोटो पठाएपछि उनी मख्ख परिन् । गत वैशाखमा जीवनले आफू नेपाल फर्किएको भन्दै उनलाई फोन गरे । नुवाकोटकी उनी ललितपुर थसिखेलमा परिवारसँग बस्दै आएकी थिइन् । उनीहरुको भेट न्यूरोडको एउटा कफी सपमा भयो । 

जीवनले ‘तपाईं त फेसबुकमा राखेको फोटो भन्दा रियलमा धेरै राम्री’ भन्दै प्रशंसा गरे । परिवारले विवाहका लागि दुईचार केटासमेत हेराएर ‘रिजेक्ट’ गरिसकेकी उनले जीवनलाई भने पहिलो भेटमै विश्वास गरिन् । जीवनले परिवारलाई समेत भेटाउन आग्रह गरेपछि निरुले उनलाई घरमै लगिन् । ज्ञानज्ञुनका कुरा गर्दै विवाह गर्न चाहेको कुरा उनले त्यहाँ राखे । बिहेपछि अमेरिका लैजाने कुरा जीवनले उनका परिवारलाई बताए । जेठमा जीवनले एकाएक निरुलाई फोन गरेर विलाप गर्न थाले, ‘म बैंग्लोरमा छु, अंकलको साथीलाई अस्पताल ल्याइएको छ । जसरी पनि चार लाख चाहियो, नेपालको एटिएमले यहाँ काम गर्दो रहेनछ, नवलपरासीमा मेरो आफन्त छ, पैसा पठाइदेउ, म काठमाडौं आएलगत्तै तिरिदिन्छु ।’ 

फोटोसपबाट बनाइएको अमेरिकन आर्मीसँगको नक्कली फोटो
पटकपटकको फोनपछि निरुले परिवारलाई सबै कुरा बताइन् । जीवनलाई ज्वाइँ बनाउन राजी उनकी आमाले आईएमईमार्फत पैसा पठाउने जोहो गरिन् । पैसा पाएपछि जीवन एकाएका गायब भए । निरुलाई दिएका फोन नम्बर स्वीच अफ आउन थाल्यो । तबमात्रै निरुका परिवारमा आफूहरु ठगिएको आभास हुन थाल्यो । प्रहरीमा गत मंसिरमा उजुरी दिए । निरुकै जस्तो उजुरी चारपाँचवटा आउन थालेपछि महानगरीय प्रहरी परिसरले यो घटनालाई सुक्ष्मढंगले अनुसन्धान थाल्यो । 

अनुसन्धानकै क्रममा निरुजस्तै नौजना युवतीहरु जीवनबाट ठगिएको व्यहोरासहित प्रहरी परिसरमा पुगे । प्रहरीले जीवनलाई गत मंगलबार पक्राउ गर्यो । उनलाई पक्राउ गर्न पुगेका प्रहरी डेरामा पुगेपछि अचम्ममा परे । चावहिलस्थित डेरामा बसेका जीवनले मासिक ३५ हजार भाडा तिर्थे । एयर कन्डिस्नरसहित फ्ल्याट लिएर बसेका उनको कोठामा मन्त्रीस्तरको साजसाजावट थियो । नुवकोटकी उनी र पोखराकी अर्की युवतीसहित हालसम्म प्रहरीमा नौजनाको उजुरी परेको छ । सबै युवतीहरुलाई सुरुमा फेसबुकमा म्यासेज पठाउने, भेट्ने, फोटो देखाउने र विवाह गरेर अमेरिका लैजाने भन्दै झुटो आश्वासन दिएर दुईदेखि १० लाख रुपैंयासम्म ठगी गर्दै आएका अनुसन्धानबाट खुलेको छ । सबैलाई फरकफरक नम्बर दिएर फोन गर्ने, साँझ र विहान फेसबुकमा च्याट गर्ने गरेको अनुसन्धानले देखाएको छ । 
युवतीलाई ठगी गर्ने जीवन

यवतीलाई भेटेपछि आफन्त विरामी परेको भन्दै पैसा आईएमईमार्फत पठाउन रोईकराईको नाटक गर्दै आएका जीवनले पक्राउ परेपछि प्रहरीसमक्ष ठगीको धन्दा सहजै स्वीकारे । पतिको ठगी धन्दालाई साथ दिएर आईएमईमार्फत पैसा बुझ्न नागरिकता प्रयोग गरेको आरोपमा प्रहरीले जीवनकी पत्नी सुबी तामाङलाई पनि पक्राउ गरेको छ । सुबीले एक कन्सल्टेन्सीबाट राहदानी समेत चोरेर जीवनलाई बुझाएकी थिइन् । जीवनले सोही राहदानी प्रयोग गरि आईएमईबाट पैसा झिक्दै आएका थिए । महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले जीवन ठगीको ‘मास्टरमाईन्ड’ रहेको बताए ।
अमेरिकन आर्मीसँग विदा हुँदै गरेको भनि फोटोसपबाट बनाइएको तस्बिर 

‘सोझासाझा युवतीलाई मायाजालमा पारेर जीवनले फेसबुककबाट साथी बनाउँदै आफूलाई अमेरिकन आर्मीको परिचय दिएर ठगेको पाइयो', उनले भने, 'विवाह गर्ने नाटक रचेर लाखौं रुपैयाँ ठगी गरेकाले थप अनुसन्धान हुँदैछ ।’ एसपी कार्कीले प्रविधिको प्रयोग गरि ओबामा, वान कि मुन र अमेरिकमी आर्मीसँग फोटो खिचाएको देखाएर ठगी गर्दै आएकाले फोटो ल्याबमाथि पनि अनुसन्धान भइरहेको बताए । ‘फोनमा र भेटघाटमा पनि खुब राम्रो कुरा गर्यो, विवाह गर्छु भन्थ्यो', पीडितमध्येकी नुवाकोटकी ती युवतीले अन्नपूर्ण अनलाइनसँ भनिन्, 'सबै नाटक रहेछ, हाम्रो पनि गल्ती हो, जोशमा होस नपुर्ययाउँदा फसियो ।’

0 comments

Write Down Your Responses