राजा फर्काउन काठमाडौंबाटै यसरी सुरु भयो निर्णायक आन्दोलन अब केहिदिनमै वारकिपार हुने घोषणा
काठमाडौं २५ चैत - मुलुकमा शान्ति र स्थायित्व स्थापना गर्न राजसंस्थाको भूमिका आवश्यक छ भन्ने नारासहित राष्ट्रिय जनसंघर्ष मोर्चाले काठमाडौंबाट बृहत सडक संघर्षको कार्यक्रम अघि बढाएको छ ।
यही क्रममा राजधानीका प्रमुख स्थानहरुको परिक्रमा गर्ने गरी चैत्र २६ गते लाठी जुलुसको कार्यक्रम तय गरेको छ ।
बहुसंख्यक नेपाली जनताको सुझाव लत्याएर बन्द कोठाबाट केही दलका केही नेताले नेपाल र नेपालीमाथि संविधान लादेकै कारण देश अहिले नयाँ चरणको द्वन्द्वमा फस्ने खतरा देखिएकोले राष्ट्र निर्माणको गतिलाई सही मार्गमा फर्काउन विरोध स्वरुप शक्ति प्रदर्शन गर्न लागिएको बताइएको छ ।
आयोजकको भनाइमा लाठी जुलुसमा संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र अखण्ड नेपालका पक्षपाती दल, समूह र व्यक्तिहरुको विशाल सहभागिता रहनेछ ।
युवाहरुको उल्लेख्य सहभागिता र नेतृत्वमा संचालन हुने जुलुसको तयारी अन्तिम चरणमा पुगीसकेको र आन्दोलनको क्रम निर्णायक मोडमा प्रवेश गरेको राष्ट्रिय जनसंघर्ष मोर्चाका संयोजक श्याम तिमल्सिना बताउँछन् ।
राप्रपा नेपाल समानान्तरको नेतृत्वमा सक्रिय रहेको जनसंघर्ष मोर्चामा २७ दल तथा संघ संस्थाको आवद्धता छ ।
बुधबार मात्रै राप्रपा नेपालका सहअध्यक्ष केशर बहादुर विष्टले मोर्चाको कार्यक्रम प्रति ऐक्यवद्धता जनाउदै छरिएर रहेका तमाम राष्ट्रवादी दल, समूह र व्यक्तिहरु एकजुट हुनुपर्ने विचार व्यक्त गरेका थिए । राप्रपा नेपाल समानान्तरको केन्द्रीय कार्यालयमा सम्पन्न मोर्चाको तयारी वैठकमा नेता विष्ट सहित राप्रपा नेपालका केन्द्रीय सदस्यहरु विष्णु भट्टराई, ऋषिबाबु परियार, श्याम केसी लगायत उपस्थित भएका थिए ।
कमल थापाले राजसंस्था बेचेर खाएको र कार्यकर्ताको करबलकै आधारमा मात्र बीरगंज वैठकबाट हिन्दु राष्ट्रको जाली कुरा गरेको भन्ने मत सहभागीहरुले तयारी वैठकमा उठाएका थिए । राष्ट्रवादी आन्दोलनको अन्तिम लक्ष्य प्राप्त गर्न नक्कली कित्ता छुटाएर बृहत एकता गर्नु पर्ने धारणा पनि सहभागीहरुले व्यक्त गरेका थिए ।
शक्ति प्रदर्शनको क्रममा सहभागीहरुले लाठी बोकेर जुलुस गर्नेछन्, नगर परिक्रमा गर्नेछन् । देश र जनताको हितको निम्ति आवश्यक परे जस्तोसुकै मूल्य पनि चुकाउन तयार रहेको भन्ने सांकेतिक सन्देश प्रवाह गर्दै लाठी जुलुस गर्न लागिएको आयोजकको दावी छ ।
संविधान सभालाई केही दलका केही नेताहरुले संविधानसभालाई रबर स्ट्याम्प बनाएकै कारण देशले दुर्गति बेहार्न परेको निष्कर्ष सहित आन्दोलनको क्रम अघि बढाइएको हो ।
लाठी जुलुसमा राजसंस्था पक्षधर लगायत हिन्दु राष्ट्र नेपालमा आवश्यक भन्ने विभिन्न राजनीतिक दल, संघ संस्था, व्यक्ति विशेषहरु सहभागी हुनेछन् । जुलुस शान्ति बाटीकाबाट सुरु भएर भद्रकाली, न्यूरोड, असन हुँदै भोटाहिटीमा सम्पन्न हुने छ ।


0 comments
Write Down Your Responses