ओली सरकारले कालोबजारी र भ्रष्टाचार रोक्न सकेनः कोइराला

धादिङ - कांग्रेस महामन्त्री शशाङ्क कोइरालाले सरकारले कृत्रिम अभाव, कालोबजारी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनताले दुःख पाएको बताएका छन् । 

शुक्रबार कांग्रेस धादिङले गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने, ‘देशमा व्याप्त कृत्रिम अभाव, कालोबजारी र भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल हुँदा जनताले दुःख पाइरहेका छन् ।’ कोइरालाले जनता र देशका समस्या समाधानमा सरकार केन्द्रीत नभएको समेत टिप्पणी गरे । कोइरालाले सरकारका कामप्रति सरकारमै सहभागी मन्त्री पनि सन्तुष्ट नभएको बताए । 

‘मधेसको समस्या यथावत् छ । सरकारको कामको सन्दर्भमा सरकारमै सहभागी दलका नेताहरु तथा जिम्मेवार मन्त्री नै असन्तुष्ट छन्,’ कोइरालाले भने । पार्टीको सन्दर्भमा बोल्दै कोइरालाले लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा हुने बताए । उनले भने, ‘लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा हुन्छ, यसलाई अन्यथा मान्न हुन्न र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच संसदीय दलको नेताका लागि भएको प्रतिस्पर्धाले पार्टीमा फुट ल्याउँदैन, अझ एक बनाउन सहयोग गर्नेछ ।’

0 comments

Write Down Your Responses