नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो रगतमै देशभक्ति भएको भन्दै कसैले राष्ट्रवादीको सर्टिफिकेट दिनु नपर्ने टिप्पणी

२६ चैत, काठमाडौं - शुक्रबार काठमाडौंमा भएको ‘वैकल्पिक राजनीतिक चिन्तन र शक्तिको आवश्यकता’ विषयक अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले पुर्खाहरुले देशको लागि लडेको स्मरण गर्दै आफ्नो रगतमै देशभक्ति र स्वाधीनता रहेको बताए । 

अहिलेका शासकहरुले पञ्चायती शैलीमा नै देशभक्तहरुलाई अराष्ट्रवादीको ट्याग लगाइदिने गरेको उनको भनाइ थियो । पञ्चायतकालमा कांग्रेस, कम्युनिष्टलाई अराष्ट्रिय तत्व भन्ने गरेको र अहिले प्रगतिशील राष्ट्रवादको कुरा गर्दा आफूहरुमाथि वामपन्थको खोल ओडेकाहरुबाटै अराष्ट्रवादीको आरोप लाग्ने गरेको भन्दै उनले आफूलाई कसैले राष्ट्रवादीको सर्टिफिकेट दिनु नपर्ने बताए । 

नक्कली राष्ट्रवाद भन्दा छिमेकीहरुसँग सन्तुलित सम्बन्ध कायम राख्ने र नेपाललाई दुई विशाल अर्थतन्त्रको बीचमा गतिशील पुल बनाउनुपर्ने उनले बताए । भट्टराईले वामपन्थी भनिएकाहरु व्यक्तिगत स्वार्थ, भ्रष्टाचार तथा बेथितीमा लिप्त भएको भन्दै उनले त्यही कारण आफूले पुरानो पार्टी छोडेको बताउनुभयो । अबको मुख्य एजेण्डा आर्थिक विकास र समृद्धि नै भएको उल्लेख गर्दै उहाँले देशभित्रको पूँजी परिचालन तथा लगानीमैत्री वातावरण निर्माण गरेर वाह्य पूँजीलाई समेत भित्रयाएर आर्थिक विकास र समृद्धिमा जान सकिने बताए । 

उनले भूकम्पपछिको पुनःनिर्माण र नवनिर्माणको आशा वर्तमान सरकारबाट गर्न नसकिने बताए । भूकम्प गएको एक वर्ष बित्न पुग्न लागेको बेला पीडितहरु च्यातिएको त्रिपालमुनी नै बस्नुपरेको भन्दै उनले यो सरकारबाट पुनःनिर्माण र नवनिर्माणको कार्यभार पूरा हुन नसक्ने बताए । कार्यक्रममा कांग्रेस नेता प्रदीप गिरीले संविधान लेखिए पनि त्यसको कार्यान्वयन नभएको बताए । राज्यविहिनताको अवस्था रहेको उल्लेख गर्दै उनले यो अवस्थालाई तत्काल अन्त्य गर्नुपर्ने बताए । 

नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले व्यंग्यात्मक शैलीमा घरघरमा ग्यास भएको, मधेसमा आन्दोलन नभएको, महंगी र कालोबजारी नभएको बताउँदै सरकारको आलोचना गरे । प्रधानमन्त्रीको बोलीले मधेस आन्दोलनमा नुनखुर्सानी थपेको उनको भनाइ थियो ।

0 comments

Write Down Your Responses