पौरख : ३० हजारको तालिमले बदलिएको रसनाको जीवन
पाँच वर्ष अगाडिबाट टेम्पो चलाउन थालेकी उनले टेम्पो चलाएबापत साहुबाट मासिक १२ हजार तलब पाउँछिन् । उनले दैनिक रिङरोडमा चार ट्रिप सवारी चलाउनुपर्छ । साहुलाई दैनिक चार हजार बुझाएर बचेको पैसाले खाना खानदेखि घरखर्च चलाउनसम्म पुर्याउनुपर्छ ।
सामान्यतया दैनिक तीन सयदेखि एक हजारसम्म बचत हुने उनी सुनाउँछिन् । काठमाडौंमा टेम्पो चलाएर कमाएको पैसा घरखर्चका लागि आमालाई पठाइदिने गरेको राना बताउँछिन् । टेम्पो चलाउन थालेदेखि अहिलेसम्म मासिक आठदेखि १० हजार रुपैयाँ आमालाई घर पठाउने गर्छिन् ।
सामान्यतया हाम्रो समाजमा छोरीलाई अर्काको घर जाने जातका रूपमा बुझ्ने चलन छ । कतिपय अभिभावकको छोरीको कमाइ खानुहुँदैन भन्ने धारणाका पनि छन् । रामेछाप दोरम्काको बानेमा सामान्य परिवारमा जन्मेकी रसना पनि यो धारणाको सिकार भएकी थिइन्
। परिवारको आर्थिक अवस्था कमजोर भएका कारण माध्यमिक तहको पढाइ पूरा गर्न नपाएको रसना सुनाउँछिन् ।
विनायोजना काठमाडौं पसेकी उनी केही समय यत्तिकै बसिन् । काठमाडौंको सडकमा टेम्पो चलाइरहेका महिला देखेर उनलाई पनि रहर जागेर आयो । ऋण गरेर ३० हजार रुपैयाँमा तीनमहिने टेम्पो चालकको तालिम लिइन् । तालिम लिएपछि आत्मविश्वास चुलिएको उनले सगर्व सुनाइन् ।
पढाइ बीचैमा छाड्नुपरेकाले अब मैले के काम गर्न सकुँला र भन्ने चिन्ताले उनलाई सताउँथ्यो । त्यो चिन्ता अब हराएको थियो । उनले भनिन्, ‘अब टेम्पो चलाएर म पनि बाँच्न सक्छु र थोरै भए पनि गाँउमा रहेको परिवारलाई घरखर्च पठाइदिन सक्छु भन्ने कुराले मलाई आनन्दित बनाएको थियो ।
’
छोरीले केही गर्न सक्दैनन् भन्ने गलत संस्कारले खुबी भएका महिला पनि घरको चुलोचौकोमा सीमित हुनुपरेको उनको तर्क छ । महिला र पुरुष समान हुनका लागि छोरीहरू घरको चारदिवार नाघेर बाहिर निस्किनुपर्ने उनी सुझाउँछिन् । हातमा सीप र मनभरि जाँगर हुने हो भने काम गरेर खान कसैले नरोक्ने उनको अनुभव छ ।
SAM_0194कतिपय बाइक, माइक्रोबस र बसचालकले टेम्पो चालकलाई हेप्ने गरेको रानाको अनुभव छ । त्यसमाथि पनि महिला चालक भनेपछि थप समस्या भोग्नुपर्ने उनी बताउँछिन् ।
आफ्नै साइडमा टेम्पो चलाइरहँदा कहिले बाइक, कहिले बस त कहिले माइक्रोबसले च्यापेर ल्याउने गरेकाले तनाव हुने गरेको उनले बताइन् । कतिले चर्को हर्न बजाएर सातो लिने गर्छन् भने कतिले अपशब्द बोलेर गाली गर्छन् । कहिलेकाहीँ त आफूले गल्ती नगर्दा नगर्दै पनि सवारी दुर्घटनामा परिने रसना बताउँछिन् ।
उपत्यकाका करिब तीन लाख सार्वजनिक यातायातसाधनमध्ये ६ सयमा महिला चालक छन् ।
यातायात विभागका अनुसार ६४ रुटमा चल्ने साना तथा ठूला सार्वजनिक यातायातका सवारीसाधन महिलाले चलाउँदै आएका छन् । तर, पुरुष चालकले साइड नदिनु, ट्राफिकले राम्रो व्यवहार नगर्नु र यात्रुले समेत कहिलेकाहीँ अभद्र व्यवहार गर्ने गरेकाले महिलाका लागि सवारीसाधन चलाउन केही कठिन भएको रसना बताउँछिन् ।


0 comments
Write Down Your Responses