वि.सं. २०७३ सालको वर्षफल : वर्ष शुभ....
बैशाख, १ यो वर्ष सौम्य नामक संवत्सरमा प्रारम्भ भएको छ । सौम्यको अर्थ शीतल एवं शान्त प्रकृतिको हुन्छ । यो संवत्सरमा समयअनुकूल प्रशस्त वर्षा हुने हुँदा वर्ष उत्पादनशील रहनेछ, तर महँगी अनियन्त्रित रूपमा बढ्नाले न्यून आय हुनेहरूलाई समस्या पर्ने देखिन्छ ।
असन्तुष्ट समूहले विद्रोही भावना परित्याग गरी शान्तिको मार्ग अवलम्बन गर्नेछन् ।
वर्षाधिपति शुक्र र मन्त्री बुध भएकाले पनि यो वर्ष शुभ रहनेछ ।
सेनापति मंगल जगल्लग्नमा स्वगृही भएकाले निश्चित वर्गले मुलुकको सार्वभौम अधिकार एवं राज्यकोष सञ्चालन गर्नेछ । दलहरूको आ–आफ्नै अडानले संघर्ष निम्त्याउन सक्छ । सरकारले जनताको आकांक्षा सम्बोधन हुने गरी कार्य गर्न सक्नेछैन ।
कलाका पारखी एवं भ्रमण तथा मनोरञ्जनको स्वामी शुक्रले वर्षको नेतृत्व गरेकाले नेतृत्वमा बस्नेहरूले मुलुकको विकासभन्दा सुख–सुविधा, भ्रमण, कला, साहित्य, उपहार तथा पुरस्कार एवं औपचारिकता र मनोरञ्जनमा समय बिताउनेछन् ।
मन्त्री बुधको भूमिका औचित्यहीन देखिएकाले सरकारका मन्त्रीहरू निकम्मा सावित हुनेछन् । सीमा–सुरक्षाको सन्दर्भमा पनि मुलुकको सहभागिता कमजोर रहनेछ । प्रतिपक्षीको इसारामा सरकार सञ्चलन हुनेछ । धर्मको बहस सतहमा आउनेछ ।
राजनीतिक द्वन्द्वलाई नियन्त्रण गर्न बल प्रयोग हुन सक्छ तथापि विदेशी चलखेलविरुद्ध राज्यका शक्तिहरू एकजुट हुनेछन् । सुरक्षा एवं नीतिनिर्माणमा अधिकांश बजेट खर्च भए पनि नीतिगत अन्योल कायमै रहनेछ ।
उद्योगमा लगानी बढ्नेछ भने ऊर्जा तथा सञ्चार क्षेत्रमा उल्लेख्य प्रगति हुनेछ ।
श्रमिकवर्गको हकहितमा आवाज उठ्न सक्छ । २०७३ को साउन २२ गतेदेखि आयभावमा बृहस्पतिको स्थानान्तरणले दीर्घकालीन योजना बन्नुका साथै मुलुकको आयस्रोतमा वृद्धि हुनेछ । समग्र प्रशासन तथा शैक्षिक क्षेत्रमा सुधार आउनेछ ।
असार वा भदौ महिनामा नेतृत्व हेरफेर हुने सम्भावना छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा शस्त्र परीक्षणको होडबाजी चल्नेछ । शक्तिराष्ट्रहरूले कडा नीति अवलम्बन गर्न सक्छन् । भूकम्प, अधिक वर्षा र भूक्षयजस्ता प्राकृतिक प्रकोपले यो वर्ष पनि जनधनमा क्षति पुर्याउन सक्छ । जेठ, साउन, असोज, माघ र चैत महिनामा बढी दुर्घटना हुने सम्भावना छ ।
यो वर्ष दु:खकष्टका कारक शनिदेव फागुन ५ गतेसम्म वृश्चिक र त्यसउप्रान्त धनु राशिमा रहने हुँदा वृश्चिक र धनुराशिमा वर्षभरि साढेसात शनिको प्रभाव रहनेछ । फागुन ५ गतेसम्म तुला राशिलाई र फागुन ५ गतेपछि धनुराशिलाई साढेसात शनिले आफ्नो प्रभावमा लिनेछ ।
यस्तै शनिको अढैया प्रभाव मेष र सिंह राशिलाई फागुन ५ गतेसम्म र त्यसपछि वृष र कन्या राशिमा रहनेछ ।
जन्मसमयमा शनि बलवान् हुनेहरूलाई साढेसात र अढैया शनिले फाइदा दिलाउनेछ भने शनि कमजोर हुनेहरूलाई विभिन्न समस्या निम्त्याउने कारक बन्नेछ । साढेसात र अढैयाको पीडाबाट मुक्तिका लागि शनिदेवको मन्त्रजप, काली भगवतीको पूजा–आराधना तथा शनिबार पीपलको प्रार्थना गरी जल चढाउँदा फाइदा हुन्छ


0 comments
Write Down Your Responses