एमाले सभासद्का छोराबाट नेपाल बैंक शाखा कार्यालयका म्यानेजर माथि मुक्का प्रहार

विराटनगर - मोरङको केरावारी १ मा रहेको नेपाल बैंक शाखा कार्यालयका म्यानेजर ४० वर्षीय अर्विन श्रेष्ठ बिहीबार राति कुटिएका छन् । 

मोरङको कोसीहरैंचा नगरपालिका–१ का ३५ वर्षीय आशिष गुरुङले बियर खाने गिलासले विराटनगर १६ घर भएका बैंक म्यानेजर श्रेष्ठलाई कुटेका हुन् । आशिष मोरङको निर्वाचन क्षेत्र नम्बर ८ का एमालेका प्रत्यक्षतर्फका सभासद् चन्द्रबहादुर गुरुङका छोरा हुन् । केराबारी–२ मा रहेको बाबरी होटेल एण्ड खाजा घरमा खाना खाइरहेको अवस्थामा आक्रमण हुँदा श्रेष्ठको टाउको र दायाँ कन्चट फुटेको छ । गम्भीर अवस्थाका उनको विराटनगरमा उपचार भइरहेको छ । 

इलाका प्रहरी कार्यालय केरावारीका प्रहरी नायव निरीक्षक सूर्य प्रसाईका अनुसार दुईवटा मोटरसाइकलमा होटेलमा पुगेका युवामध्ये श्रेष्ठले खाना खाइरहेको टेबलमा गुरुङ पुगेका थिए । प्रनानि प्रसाईका अनुसार यो होटेलमा बसेर ‘तँ किन ठूलो कुरा गर्छस्’ भन्दै गुरुङले वियर खाने गिलासले म्यानेजर श्रेष्ठलाई एक्कासी प्रहार गरेका थिए । म्यानेजर बनेयता श्रेष्ठ त्यही होटेलमा खाना खाने गर्थे । उनीमाथि आक्रमण हुनुपर्ने कुनैपनि कारण अहिलेसम्म पत्ता नलागेको प्रहरीले जनाएको छ । 

‘होटेलको भिन्दै टेबलमा केही युवा मादकपदार्थ खाइरहेका थिए । सँधैँ खाना खाने होटेलको अर्को टेबुलमा बसेर म खाना खाइरहेको थिएँ,’ घाइते श्रेष्ठले भने, ‘बसिरहेका मध्ये एक युवा बियर भरिएको गिलास बोकेर छेउमा आएपछि निहुँ खोज्न थाले । निहुँ नखोज्न आग्रह गर्दा एक्कासी त्यही गिलास म माथि प्रहार गरियो ।’ घटनालगत्तै गुरुङ र उनका साथीहरु फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses