महिनावारीको पीडा पोख्दै प्रधानमन्त्रीलाई किशोरीको पत्र !!

९ जेठ | सम्मानीय प्रधानमन्त्री ज्यु सञ्चै हुनुहुन्छ होला । तपाई सञ्चै भएको कुरा त हामीले प्रत्येक दिनको समाचारबाट थाहा पाउँछौं । 

तर हाम्रो अवस्था जानकारी गराउन हजुरलाई सम्बोधन गरेर यो पत्र लेख्दैछु । मेरो नाम गंगा खड्का हो । मेरो घर गुल्मी हो । 

तपाईंले ल्याउनुभएका नयाँनयाँ योजना म दैनिक सुन्ने र पढ्ने गरेको छ । योजना कार्यन्वयन भए देशले निकास पाउनेछ । त्यसैले तपाईंका योजना सफल हुन् तपाईंलाई शुभकामना । तपाईं भाग्यशाली प्रधानमन्त्री हुनुहुन्छ । 

जसले हजुरलाई जन्माउनु भयो उहाँ महानआमा प्रति म सम्मान ब्यक्त गर्दछु । तर हजुरलाई यो कुरा थाहा छ की छैन हजुर जन्मनु भन्दा अगाडी हजुरको आमा पनि प्राकृतिक अनुपम बरदानको रुपमा महिनावारी हुनुभयो । 

महिनावारी वा रजस्वला हामी महिलाहरुमा हुने सामन्य प्राकृतिक प्रक्रिया हो ।

 जुन प्रक्रियाले विश्वका त्यस्ता मानवहरु जन्मिन सकिरहेका छन् ।

 त्यस्तै मध्येको हजुर पनि एक सपूत हो । हामी महिलाहरुमा महिनावारी हुदैन्थ्यो त सायदै सृष्टिको निरन्तरता पनि सम्भव हुँदैनथ्यो होला । यस विषयमा म भन्दा तपाईं बढी जानकार हुनुहुन्छ ।

 तर यहि प्रक्रियालाई हामीले किन अनुपम बरदानको रुपमा लिन नसकी शारीरिक पीडाको रुपमा लिनुपर्ने बाध्यतामा छौँ । 

महिलाले प्राकृतिक वरदानका रुपमा पाउने यो चक्रको अनुभव हामी महिलाले जसरी लिएका छौं हजुरले चाहेर पनि लिनसक्नु हुन्न् ।

 तर अनुभुत, महसुस त गर्न सक्नुहुन्छ होला नी हैन् ? 

देशको नेतृत्व गर्ने पुस्ता प्रत्येक आमाको महिनावारी चक्र कै कारणले जन्मनु भयो । सोही चक्रको प्रणालीबाट तपाईंको जन्म भयो र संविधानसभाको सदस्य हुनुभयो ।

 तर तपाईंले बनाएको संविधानमा तपाईंकै आमाको यो पीडाको विषयलाई किन कहिल्यै पनि उठाउन सक्नुभएन् ?

के आधा आकाश ओगटेका महिलाको पीडा भएकाले यो विषयलाई टेबुल गर्न नसकिएको हो ?

 प्रधानमन्त्री ज्यू, हामी ग्रामिण ठाउँमा बस्ने छोरीहरु महिनावारीको समयमा कति संवेदनशील हुन्छौ भन्ने विषयमा तपाईंको कहिल्यै ध्यान गएको छ ? 

सामन्यतया नेपालमा बस्ने हामी छोरीले महिनावारीको बेला रगत छोप्नलाई कपडा र बजारमा पाईने स्यानेटरीप्याड प्रयोग गरिरहेका छौ ।

 नेपालमा अशिक्षा र गरिबीका कारण कपडा प्रयोग गर्नेको संख्या धेरै छ ।

 त्यसमा पनि फोहोर र सरसफाईमा ध्यान नपुर्याकै कारण धेरै महिला रोगले ग्रसित छन् । त्यतातिर हजुरको ध्यान खोइत ?

 नेपालका ठूला ठूला नाम चलेका कलेजमा पनि छात्रामैत्री शौचालय छन् कि छैनन् भन्ने तपाईसँग कुनै तथ्यांक छ ?

 हामी आम नागरिकले तिरेको करबाट राज्य सञ्चालन भैरहेको छ तर नेपाल सरकारका कर्मचारीलाई स्यानेटरी प्याड डिस्पोज गर्ने इन्सिनेटरको ज्ञान नभएका कारण इन्सिनेटर बिहीन शौचालय, विद्यालय वा सरकारी 

कार्यलयमा धमाधम निर्माण भैरहेका छन् । अब कसरि ति शौचालय महिला, छात्रामैत्री भए ?

 म बिगत ४ बर्षदेखि गुल्मीमा सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्चालनमा क्रियाशिल छु ।

 सोही अनुसार जिबिस गुल्मीको सानो सहयोगमा महिनावारीका लागी सुरक्षित सामग्रीयुक्त विद्यालय बनाईरहेका छौ तर यो गुल्मीमा मात्रै सीमित हुन सक्दैन । 

राज्यले यस्ता कार्यक्रमलाई अग्रस्थानमा राखेर सञ्चालन गर्न किन सकिरहेको छैन । हामीलाई गरेको बिभेद यहि हैन ? 

विद्यालयका शौचलय छात्रामैत्री हुनुपर्छ, आबश्यक महिनावारी सुरक्षित सामग्री उपलब्ध हुने ब्यवस्था हनुपर्छ । शैक्षिक गुणस्तरमा बृद्धि हुन सक्छ । 

महिनाको चार दिन छात्रा कक्षामा उपस्थित हुन सक्दैनन् । यसले शिक्षा क्षेत्रमा कति घाटा भैरहेको छ भन्ने कुनै एकीन तथ्याङ्क निकालिएको छैन । यी आवश्यक सामग्रीको अभावमा छात्राहरुले कसरी ढुक्कसँग पढ्न सक्छन् ?
 फोहोर कपडाको प्रयोगले हाम्रा छोरीहरु कसरी स्वस्थ जीवनयापन गर्न सक्छन् ? जनचेतना र सरसफाइको कमीले सेतोपानी बग्ने समस्याबाट कति महिला ग्रसित छन् ?

 खाडीमा गएर कमाएको श्रीमानको कमाई के कुरामा खर्च भैरहेको छ ?

 लाजका कारणले योनीमा भएको समस्या टाउको दुखेको बहानामा सिटामोल किनेर घर फर्किनुपर्ने अवस्था किन भएको छ ?

 प्रधानमन्त्री ज्यू, जब महिलाहरुको स्वास्थ्यमा कुनै पनि समस्या हुन्छ त्यसपछि सहज रुपमा कार्यसम्पादन गर्न सक्छन् वा सक्छैनन् ? 

अनि देशको आर्थिक, शैक्षिक र सामाजिक विकासको कल्पना तपाईं कसरी गर्नसक्नुहुन्छ ? सुन्दा आमसमाजको अगाडी सामन्य र लुकाईएको बिषय हो यो । महिलामा हुने फरक क्षमता हो महिनावारी । 

न निश्चित समयमा हुन्छ न निश्चित स्थान र ठाउँ । जहाँ जतिबेला जस्तो अवस्थामा पनि उसले आफ्नो चक्र पुरा गरेकै हुन्छ तर ब्यवहारिक र दैनिक जीवनमा हामी महिलाहरुले भोग्दै आइरहेको महत्वपुरर्ण र संवेदनशील 

बिषय हो । समाजले बनाइएका नियममा बाँधिएर हामी छोरीहरु कति विद्यालय जानबाट बञ्चित छौँ ?
 कुनै लेखाजोखा छ ? 

हाम्रा कलिला सुदुरका चेलीहरु छाउगोठका नाममा कतिले ज्यान गुमाएका छन् ? कति असुरक्षित छन ? यो हिसाब कसले र कहिले हुन्छ ? 

संविधानसभाको सदस्य हुनुभन्दा पहिले महिलाको शारीरिक परिवर्तनको चक्रमा प्रवेश गरेर पार्टीगत प्रतिनिधिको रुपमा कानुन र नियम बनाउन पुग्नुभएका हाम्रा महिलानेत्री आफ्नै स्वास्थ्यको बारेमा आवज उठाउन बिर्सिनुभयो हैन ?

कि यो बिषयमा बोल्न लाज लाग्यो ? जवाफ हामी खोजीरहेका छौँ । प्रसङ्ग ‘मे २८ महिनावारी सरसफाई दिवस २०१६’ हामीले गुल्मीमा दोश्रो पटक मनाउँदै छौँ ।

 महिनावारी सरसफाई दिवस अथवा जेठ १५ गते प्रधानमन्त्री ज्युले नीति तथा कार्यक्रमका लागी बजेट प्रस्तुत गर्ने दिन तपाईंको नीति तथा योजनामा महिनावारी सम्बन्धी कार्यक्रम कतिको रुपमा अगाडी छ ? 

हामी चाहान्छौ महिलाहरुले रगत छोप्नैकै लागी प्रयोग गर्ने स्यानेटरी प्याड उत्पादनमा सरकारले कर लिन जरुरी छ कि छैन ? के रहरले प्रयोग गर्ने हो स्यानेटरी प्याड ?

 एक सेकेण्ड पानी नपिएर बाच्न सजिलो होला तर रगत एक सेकेण्ड पनि रोक्न सक्दैनौ त्यसैले हामी सुरक्षित ब्यवस्थापनको लागी स्यानेटरी प्याड को साहारा लिनुपर्छ ।

 एकातर्फ सरकारले लिएको कर अर्फोतर्फ रगत सोस्ने टेपमा कम्पनीले कमाउने फाईदा यो अन्याय हामीले कसरी सहन सक्छौ ? 

आवश्यकतामा मात्रै प्रयोग गर्ने सामग्री देशका बिभिन्न ठाउँमा फरक फरक मुल्यमा उपलब्ध गराउनुको कारण के हो ? 

प्राथमिक उपचारका सामग्रीभित्र स्यानेटरी प्याडलाई लिन सकिदैन ? गरिब छोरीहरुले सस्तो र धनी छोरीहरुले महँगो सामग्री प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना गरिएको छ ।

यसलाई समान बनाउन सरकारले केही गर्न सक्छ कि सक्दैन ? हामी सबै छोरीको स्वास्थ्य र पीडा एकै प्रकारको हुदैन ? बजारमा पठाउने स्यानेटरी प्याडको गुणस्तरियता कसले मापन गर्छ ? 

सेवा उद्योगको रुपमा दर्ता गरी नेपालमै उत्पादन गरिएको एकै मुल्यको सामग्री गाउँसम्म पुर्याउनु पर्छ ।

 के हाम्रो देशमा गुणस्तरिय स्यानेटरी प्याड उत्पादन हुन सक्दैन ? दोश्रो मुलकबाट भित्रिएका महँगा सामग्री किन्ने सामथ्र्य हामीसँग छैन र अभावमा दीर्घकालिन रोगको संक्रमणले रोगी हुन पनि चाहाँदैनौ ।

 हामीले प्रयोग गर्ने सामग्री हामी आफै उत्पादन गर्न चाहान्छौँ तर आवश्यक सहयोग सरकारले गर्न सक्छ कि सक्दैन ? जवाफ खोजिरहेका छौँ । प्रधानमन्त्री ज्यू, हामी आशावादी छौं ।

 जेठ १५ गते महिनावारी सरसफाई दिवसमा सरकारले नेपाली महिलाहरुलाई सम्बोधन गर्ने गरी महिलाको मासिक चक्रलाई सुरक्षित बनाउन केही न केही सम्बोधन गर्नेछ ।

 किनभने तपाइले पटक पटक भनेको सुन्ने गरेको छु जायज कुरालाई आन्दोलन जरुरी छैन सम्बोधन हुन्छ । 

नेपालीले हामी र हाम्रा चेलीको जीवन अब महिनावारी लुकाएर होइन उत्सव गरेर मनाउन सक्ने वातावरण बनोस् । अनि सबैले ढुक्क भएर महिलामैत्री समाजको महशुस गर्नसकौं ।(अन्नपुर्ण)

0 comments

Write Down Your Responses