भद्रगोल’ को ‘बेलासे’को गुण्डागर्दी

काठमाडौं–नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित हाँस्वव्यंग्य टेलिश्रृंखला ‘भद्रगोल’ मा एकजना चर्चित पात्र छन्– बेलासे । उनको असली नाम हो सुवास कार्की । 

भद्रगोलको कलाकारको साथै उत्पादकसमेत रहेका बेलासे श्रृंखलामा जति चर्चित छन्, त्यति नै चर्चित छ उनले प्रयोग गर्ने थेगो– मैले त केही सोच्नै सकेको छैन । तनावै तनाव छ, खल्तीमा दुई रुपैयाँ छैन ।’

 उनले टेलिश्रृंखलामा यस्तो थेगो प्रयोग गर्ने गरे पनि वास्तविक जीवनमा यस्तो रवैया देखाउलान् भन्न कल्पना सायदैले गर्छन् । 

तर, उनी काँचको पर्दामा जस्तै भूमिका वास्तविक जीवनमा पनि निर्वाह गर्दा उनको विश्वासमा परेर काम गरेका कयन कलाकार र व्यवस्थापक हैरानीमा परेको गुनासो गर्छन् । 

 उता, कलाकारहरुलाई मनपरी राख्ने र निकाल्ने बेलासेको स्वच्छाचारी निर्णयले पनि भद्रगोलभित्रका कलाकारहरु उत्तिकै आजित बन्न पुगेका छन् ।

 स्रोतका अनुसार, बेलासेले लामो समयदेखि भद्रगोल टेलिश्रृंखलाको प्रोडक्सनको सम्पूर्ण जिम्मा लिएर योगदान दिँदै आएका व्यवस्थापक विष्णु बुढाथोकीलाई अपमानजनक ढंगले निकालिदिएका छन् । 

 लामो समयसम्म पैसा नदिएपछि मुख खोलेका बुढाथोकीले कार्कीसँग पैसा मागेपछि उनले निकालेको जानकारी स्रोतले दियो । 

 व्यवस्थापकको जिम्मेवारीबाट निकालिएपछि सुटिङका लागि आवश्यक पर्ने गाडीलगायतको व्यवस्थापन खल्तीको पैसा हालेर गरेका बुढाथोकीको रगत पसिना बेलासेले चुसेको चर्चा कलाकारहरुबीच हिजोहाज चल्न थालेको छ । 

 बुढाथोकीपछि प्रोडक्सन हेर्ने जिम्मा पाएका विकासराज पाण्डेलाई पनि कार्कीले शोषण गरेका छन् । उत्पादक तथा कलाकार कार्कीले हेपाह रबैया देखाउँदा पाण्डेले पाउनुपर्ने महिनौंदेखिको रकम अझैंसम्म पाउन सकेका छैनन् । पाण्डेले पैसा नपाएपछि भद्रगोल व्यवस्थापनको जिम्मेवारबाट हात झिकिसकेका छन् ।

 पाण्डेले पटक–पटक आफूले कार्कीसँग लिनुपर्ने पैसा मागे पनि उनले नदिएर हैरानी खेलाएको गुनासो गरे । पाण्डेका अनुसार, बेलासेले फोन उठाउँदै नउठाउने र उठाए पनि आफू व्यस्त भएकाले पछि सम्पर्क गर्नु भन्दै पन्छिने गरेका छन् । ‘

कार्कीसँग आफूले पाउनेपर्ने रकम लिन बारम्बार सम्पर्क गर्दै आइरहेको छु,’ उनले भने । कार्कीसँग यसबारे जानकारी माग्दा उल्टै पत्रकारलाई नै धम्क्याउँदै भने, ‘समाचार छाप्न मन लागे छाप्नुस् । छापेपछि पैसा नपाएका भन्नेहरुलाइृ कसरी ठेगान लगाउनुपर्छ भन्ने मलाई पनि थाहा छ ।

 समाचार छापिएपछि कसरी दनक दिन्छ भन्ने थाहा पाउँछन् ।’ यतिमात्र होइन उनले अभिनय गर्दै आइरहेका कलाकारहरुलाई पनि लामो समयदेखि पैसा दिने गरेका छैनन् । मिडिया हबले पैसा नदिउको भन्दै उनले कलाकारलाई पैसा नदिएर झुलाउने गरेको गुनासो कलाकारहरुको छ ।

 कार्कीले उत्पादन गरेको कार्यक्रम मिडिया हबमार्फत नेपाल टेलिभिजनमा प्रसारण हुने गर्छ । 

मनपरी कलाकार राख्दै निकाल्दै उता, उत्पादक कार्कीले मनपरी कलाकार राख्ने र अकारण निकाल्ने काम समेत गर्दै आइरहेको दावी स्रोतले गरेको छ ।

 कार्कीको यस्तै स्वच्छाचारी रवैयाको कारण सिपी पुडासैनी ‘धतुरे’, लेखान्त भुसाललगायत केही कलाकार निकालेको बताइन्छ । 

 अभिनय गर्दै आइरहेका कलाकारहरुलाई क्षमताको आधारमा भन्दा पनि निकटताको आधारमा भूमिका दिने गरेको गुनासो पनि भद्रगोलभित्र उत्तिकै चुलिएको छ ।

 स्रोतका अनुसार, कार्कीले पैसा भएका मान्छेलाई क्षमता बिना नै भूमिका दिँदै आइरहेका छन् ।

 ‘राम्रोलाई स्पेस नदिने र पैसा भएकालाई आवश्यकताभन्दा बढी भूमिका दिने काम बेलासेले गर्दा त्यहाँका वास्तविक कलाकार उत्तिकै हतोत्साहित भइरहेका छन्,’

 एक कलाकारले नाम उल्लेख नगर्ने शर्तमा भने । यता निर्देशक शंकर आचार्यले राम्रा–राम्रा युवतीहरुलाई सिरियलमा खेलाइदिने भन्दै शोषण गर्ने गरेको चर्चा पनि कलाकारबीच चल्ने गरेको छ ।

0 comments

Write Down Your Responses