विदेशमा खुट्टा गुमाएर फर्किएँ, क्षतिपूर्ति माग्दा सरकारले सोध्छ- प्रमाण के छ ?

९ जेठ, काठमाडौं, काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया गएका उदयपुरका विलास राईले देब्रे खुट्टा गुमाएर घर फर्किए । उनी नेपाल फर्किएको डेढ वर्ष भइसक्यो । नेपाल फर्किएपछि आफूले पाउनु पर्ने बीमा वापतको रकम खोज्दै अशक्त र बिरामी शरीर लिएर काठमाडौंमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड धाइरहेका छन् । यसका लागि उनले आफ्नी श्रीमतीलाई साथ लिएका छन्, जसको काँखका एक दूधे बालक पनि छन् । तर, हातलाग्यो शून्य । काठमाडौंमा प्रवासी नेपाली समन्वय समितिको कार्यक्रमका पुगेका राइले आफ्नो व्यथा यसरी सुनाए । 

म मलेसियाबाट फर्किएको डेढ वर्ष भयो । म आरआर गु्रप अफ नेपाल नामको म्यानपावरबाट मलेसियका पुगेको थिएँ । विदेश गएको १९ महिनमा मेसिनमा परेर मैले आफ्नो देब्रे खुट्टा गुमाएँ ।

च्यापिएको देब्रे खुट्टा निकाल्ने क्रममा दाहिने खुट्टा पनि फ्याक्चर भयो । यो पनि अझै निको भएको छैन । विदेश जाँदा ठूलो सपना थियो कि केही पैसा कामएर परिवारलाई खुसी दिँउला भन्ने ।

 तर, सपना त पुरा भएन नै यथार्थमा आफ्नो भएको शरीरका अङ्ग गुमाएर फर्किनुपर्‍यो । म घरको जेठो छोरो ।

 ३ वटा छोराछोरी छन् । बाबुआमा, भाइबहिनी श्रीमतीको पालनपोषणको सबै जिम्मा मेरै हो । तर, यो हालतमा छु । उपचारमा अझै रकम खर्च भइरहेको छ । म घर आएको ९ महिनासम्म हिँड्न सकिँन । घर आएपछि बीमा र क्षतिपूर्ति बापतको रकम पाइन्छ भनेर दाइहरुलाई बुझ्न पठाएँ । तर, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा भने मलाई यस्तो भएको भन्ने पत्याउनु भएनछ । म नै उपस्थित हुनुपर्ने अरे । आफु चल्न नसक्ने हुँदा प्रमाणका लागि म उदयपुरदेखि कसरी आउनु ? मैले बोर्डबाट अझै क्षतिपूर्ति पाएको छैन ।

 मेरो विदेशमा दुर्घटना भएको प्रमाण दिनुपर्छ भनेका छन् । मैले मेरो खुट्टा नै गुमाएर आएपछि अब मैले के प्रमाण देखाउँ ?’ राई त प्रतिनिधि पात्र हुन् । त्यस्ता धेरै युवा छन्, जो विदशेमा अङ्गभङ्ग भएर फर्किएका छन् । तर, यहाँ आएपछि उनीहरुले क्षतिपूर्ति रकम दिन पाएका छैनन् । यसले उनीहरुको घाउमा ननचुक छर्किएझै गराएको छ ।

 दुर्घटना परेको व्यक्ति आफैं सम्हालिएर आउन नसक्ने अवस्थामा विदशमा उपचार गराएको कागज खोज्ने व्यवस्थाले धेरै कामदारलाई क्षतिपूर्तिबाट बञ्चित गराएको पीडितहरुको गुनासो छ । सुनसरीका गजेन्द्र यादव पनि त्यसैमध्यका एक हुन् । उनी पनि म्यानपावरले छक्याएर जोखिमपूर्ण कामका लागि मलेसिया पठाइदिँदा आफ्नो हातका औंला गुमाएर फर्किन बाध्य भए । श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका हाकिमहरु उपस्थित कार्यक्रममा गजेन्द्रले पनि आफ्नो व्यथा सुनाए ।


 ‘म भृकुटी म्यानपावरबाट मलेसिया गएको थिएँ । रामचन्द्र भन्ने सञ्चालक हुन् । मलाई विदेश पठाउँदा सजिलो काम छ भनिएको थियो । तर, त्यहाँ पुग्दा सम्झौतामा लेखिएको तलव पनि छैन, काम पनि छैन । अर्काको भूमिमा पुगेपछि संघर्ष गर्नुपर्छ भनेर काम गरिँरहे, १२ महिना वित्यो ।

 १३औं महिनामा मेसिनमा हात पर्‍यो । एउटा अस्पतालमा पुर्‍याउँदा स्टील जोड्न सकिँदैन भन्यो, अर्कोले औंला काट्नुपर्छ भनियो र काटियो । त्यसपछि मेरा दुःखका दिन सुरु भए । कम्पनीले न खान दियो न कुनै वास्ता नै गर्‍यो । महिनाको १ सय रुपैयाँ मात्रै दिन्थ्यो । त्यसले खाना पनि पुग्दैनथ्यो । साथीहरु कहाँ गएर खाना खान्थेँ । कम्पनीले वास्तै नगरेपछि ट्राभल डकुमेन्ट बनाएर म नेपाल आएँ । त्यसका लागि दूतावासमा १८ सय माग्यो । मैले त्यहाँ उपचार गराएको कागज सबै बोसले राख्यो । अहिले यहाँ क्षतिपूर्ति माग्न जाँदा त्यही कागज खोज्छन् ।

 बोसले राखेको कागज मैले कसरी दिनु ? म अझै पूर्ण रुपमा ठिक भइसकेको छैन । उपचारका लागि पनि मलाई क्षतिपूर्ति चाहिएको छ । तर, यहाँको कोही डाक्टरले पनि मेरो कागज बनाइदिन मान्दैन । मैले कसरी क्षतिपूर्ति पाउने होला ?’ पीडा अङ्गभङ्ग हुनेहरुको मात्रै छैन । विदेशमा गएर दीर्घ रोगी भएर फर्किएकाहरुले पनि यहाँ कुनै क्षतिपूर्ति पाउन सकिरहेका छैनन् । 

मिर्गौलाको समस्या, प्यारलाइसिस, क्यान्सर, उच्च रक्तचाप, एपेन्डिसाइटिस, लगायत रोग लगोर फर्किएकाले सरकारी कोषबाट पाउनुपर्ने क्षतिपूर्ति पाउन सकेका छैनन् । विदेशमा आफू अपाङ्ग र अशक्त भएर आएकालाई क्षतिपूर्ति दिन भन्दै जम्मा गरिएको कोषमा ३ अर्ब रुपैयाँ जम्मा भएको छ ।

 त्यो रकम विदेश जाने नेपालीकै हितकै लागि जम्मा गरिएको भनिएको छ । तर, दुर्घटनामा परेर ज्यानका अङ्ग नै गुमाएर आएकालाई सरकारले सोध्छः प्रमाण के छ ? यही कारण क्षतिपूर्ति दिने व्यवस्थालाई सरलीकृत गर्नुपर्ने र पीडितले असजै आफ्नो अधिकार लाग्ने रकम पाउने व्यवस्था गर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् ।

,

0 comments

Write Down Your Responses