सेनाको स्पष्टीकरण, भारतीय हिरोइन नाच्दैमा सैनिक मञ्चको दुरुपयोग हुँदैन जर्सा'ब हिरोइनलाई स्वागत गर्न जानुभएको होइनः सैनिक प्रवक्ता

भूकम्प पीडितको सहयोगार्थ नेपाली सेनाको सैनिक श्रीमती संघले दुई भारतीय हिरोइनलाई सैनिक मञ्चमा नचाएको घटनाले सेनालाई विवादमा मुछिरहेको छ । 

हिरोइनलाई स्वागत गर्न विमानस्थलमा सेनाका जर्नेल पुगेकोदेखि सैनिक मञ्च टुँडिखेललाई फिल्मी नाचगानमा प्रयोग गरेको विषयले सेनालाई विवादमा तानेको हो । चौतर्फी आलोचना भएपछि रक्षा मन्त्रालयले जंगीअड्डासँग स्पष्टिकरण सोधिसकेको छ ।

 यिनै विषयलाई लिएर सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीसँग अनलाइनखबरका रमेश धमलाले संक्षिप्त कुराकानी गरेका छन् । सेनाले अरु कसैलाई प्रयोग गर्न नदिने सैनिक मञ्च भारतीय हिरोइनलाई ल्याएर नचाउने काममा प्रयोग गर्‍यो । यो कार्यक्रम सैनिक मञ्चभित्रै गर्नुपर्ने आवश्यकता के थियो ?

 सैनिक मञ्च सिंगै प्रयोग भएको होइन । सेनाकै श्रीमती संघले आयोजना गरेको कार्यक्रम भएकोले सैनिक मञ्चको एउटा भाग दिइएको हो । मैदानको दक्षिणी भाग मात्रै यसमा प्रयोग भएको छ ।

 यतिलाई नकारात्मक रुपमा हर्नु पर्दैन । भूकम्प पीडितहरुको लागि सैनिक श्रीमती संघले बेला-बेलामा सहयोग गर्दै आएको छ ।

 अहिले पनि त्यस्तै सहयोगका लागि केही आर्थिक रकम जुटाउन कार्यक्रम गरेको हो । राम्रो सोचको कार्यक्रम भएकाले पनि दिएका हौं । 

सेनाले आफ्नो गौरवका रुपमा लिने गरेको सैनिकमञ्चभित्र यस्तो नाचगान गरिनु ठीक थियो र ? 

 यसमा हाम्रो नियत के थियो भन्ने कुरा प्रमुख हुन्छ । गलत नियतले कार्यक्रम गरेको होइन । सैनिक मञ्च सबै हिसाबले सेन्टरमा भएको र अन्य ठाउँभन्दा धेरै भिड पनि थेग्न सक्ने भएर प्रयोग गरेको हो । त्यसमा कुनै व्यापारिक प्रयोजन छैन । सेनासँगै जोडिएको एउटा संघले कार्यक्रम आयोजना गरेको भएर सैनिक मञ्च प्रयोग हुनु स्वाभाविक नै हो । आगामी दिनमा अर्को कुनै निजी संस्थाले च्यारिटी कार्यक्रमका लागि भनेर सैनिक मञ्च माग्यो भने दिनुहुन्छ त ?

 त्यसरी त कहाँ दिन मिल्छ र । मैले अघि नै भनेँ नि, अहिलेको कार्यक्रम सेनाले कुनै व्यापारिक प्रयोजनको लागि दिएको होइन । सेनाकै एउटा सम्बन्धित संघले आयोजना गरेको भएर सैनिक मञ्चको एउटा भाग प्रयोग गर्न दिइएको हो । सेनाले आफ्नो कार्यविधिमा रहेर नै त्यसको प्रयोग गरेको छ । 

हिरोइन नाच्दैमा यसको दुरुपयोग भएको भन्न मिल्दैन । सेनाकै सम्वन्धित संघले गरेको कार्यक्रम भनेपछि यस कार्यक्रमको जिम्मेवारी पनि त लिनुहुन्छ होला । भारत र नेपालका पनि चर्चित हिरोइनहरु ल्याइएको छ । उनीहरुलाई पैसा पनि उत्तिकै तिर्नुपर्‍यो होला । भूकम्प पीडितको लागि कति पैसा जम्मा हुन्छ त ? 

 कलाकारलाई कति तिरेको छ, स्टेज बनाउन कति खर्च लाग्यो भन्ने कुराहरु सबै इभेन्ट म्यानेजमेन्ट गर्नेको जिम्माको कुरा हो । सैनिक श्रीमती संघले यसको आयोजना मात्रै गरेको र इभेन्ट गर्ने जिम्मा अरुलाई दिएको थियो । त्यसैले कसलाई कति पैसा तिरेको छ, टिकट कति बिक्री भो भन्ने लगायतका बारेमा इभेन्ट म्यानेजमेन्ट गर्नेलाई मात्रै जानकारी हुन्छ । सायद त्यसको हिसाब किताब पनि भैरहेको होला । यो कुनै व्यक्तिले गरेको कार्यक्रम होइन । संस्थाको कार्यक्रम हो ।

 त्यसैले हिसाब-किताब पनि पारदर्शी हुन्छ । बाहिर त कार्यक्रमका लागि टिकट किन्न सेनामा सर्कुलरै जारी भएको थियो भन्ने हल्ला छ ? त्यो गलत कुरा हो । हामीले इच्छुकलाई मात्रै टिकट किन्न लगाएका छौं । इच्छुक सैनिक तथा उहाँहरुका परिवार कन्सर्ट हेर्न आउनु भएको थियो । कुनै सर्कुलर जारी भएको थिएन । आलोचना यतिमा मात्रै सीमित छैन । हिरोइनलाई स्वागत गर्न जर्नेल नै किन पठाउनु भो ? 

 त्यसमा पनि गलत सन्देश गएको छ । जो जर्साब फोटोमा देखिनु भएको छ उहाँ हिरोइनलाई स्वागत गर्न जानु भएकै होइन । एयरपोर्ट घुम्न जानुभएको थियो त ? होइन । सेनाले बोलाएको पाहुना आउन लागेको र आफ्नो कार्यक्षेत्र पनि विमानस्थल नै भएकाले मात्रै संयोग मिलेको हो । भित्रै गएर जर्नेलले स्वागत गरेको भन्ने होइन । आफनो कार्यक्षेत्रभित्र ड्युटीमै भएको समय परेकाले पोशाकमै देखिनु भएको हो । स्वागत गर्न त श्रीमती संघकै मान्छेहरु पनि जानु भएको थियो । शनिबारको कार्यक्रमलाई लिएर रक्षा मन्त्रालयले समेत चासो देखाएको छ । 

आगामी दिनमा सेनाले पुर्नविचार गर्छ कि गर्दैन ? रक्षा मन्त्रालयले चासो दिनु वा स्पष्टिकरण सोध्नु उहाँहरुको कुरा हो । हामीले आफ्नो कार्यविधि मिचेर कुनै काम गरेका छैनौं । आगामी दिन के गर्ने भन्ने विषयमा पनि छलफल हुन्छ होला । तर त्यो सबै आफ्नै कार्यविधि भित्र रहेर हुन्छ ।

2 comments

नेपालको आर्मीमा त् अमेरिकाको प्राइभेट सेक्युरिटी गार्ड जति पनि ज्ञान र सीप छैन, यो संस्थाको त् काम नै छैन भन्दा पनि हुन्छ. दक्षिण तिर र उत्तर तिर दुवै रास्ट्रहरु शक्तिशाली छन्, भोलि केहि समस्या परेर लड्न पर्यो भने हारेको कुकुर जस्तो कुइ कुइ गर्दै पुछार लुकाएर भाग्न भन्दा अरु उपाय छैन, त्यसैले जनताको पसिनाको कमै खुवाएर बद्नाम गर्दै बस्नु भन्दा पुरै निस्क्रिय गरिदिए हुन्छ.

Nepal army lai road khanne kaam chahi lagaunai parne

Write Down Your Responses