पहिरोको करामत तमोरमा तालः तस्वीरमा हेर्नुहोस्

२६ असार ताप्लेजुङ - प्रकृतिले पनि कहिलेकाँही अनौठो मजाक गर्छ, जसको मूल्य हामी निहत्था मानिसहरुले भोग्नुपर्छ । शनिबार राति तमोर नदीमा यस्तै दुर्दान्त दृश्य देखियो । 








राति नै तमोर नदी थुनिएर ताल बनेको खबर आएपछि ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटामा तमोर गडतिरका बासिन्दाहरु एकाएक त्रसित बने । भनिन्छ, नदीको मुहानतिर के भइरहेको हुन्छ, तल्लो तटीय क्षेत्रका बासिन्दालाई थाहा हुँदैन । 

ताप्लेजुङको सावादिन गाविसमा शनिबार राति खसेको पहिरोले तमोरको पानी थुनियो । दुबैतिर पहाडले चेपेको साँघुरो भागमा पहिरो खसेर नदी थुनिँदा खेत र एउटा घर जलमग्न भयो । नदी थुनिएपछि सावादिन गाविस-१ का जीवन लबुङको एउटा घर डुवाएको छ भने एक हल गोरु र घरमा भएका सरसामान बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख शैलेन्द्र कुमार यादबले बताए । सो घरमा राति कोही पनि मानिस नभएकाले मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । 

आइतबार अपरान्हदेखि नदी आसपासका बासिन्दाले जोखिम घटेको महसुस गर्न थालेका छन् । दुईतिर पहाडले च्यापेको साँघुरो ठाउँमा नदी थुनिएकाले ठूलो फाँटलाई डुबान गर्न पाएन र सानो आकारको ताल बन्यो । अन्यथा, यो निकै जोखिमपूर्ण हुन सक्ने थियो । यद्यपि नदीको पानी तालमा परिणत भई धार परिवर्तन हुँदा नदी किनारमा रहेका दुईवटा बजारसहितका बस्ती जोखिममा परेका छन् । नदीको धार परिवर्तन भएपछि खोक्लिङ गाविसको थुम्बा बेंसीको बस्ती जोखिममा परेको हो । तमोरको किनारमा रहेका हान्द्रुङ र दोभान बजार पनि सामान्य जोखिममा छन् । तर, जोखिममा रहेको भनिएको मितलुङ बजार भने जोखिममुक्त भएको घटनास्थलमा खटिएका सुरक्षाकर्मी र स्थानीयले बताएका छन् । 

शनिबार राति सावादिन गाविसको नाक्ला भीरबाट पहिरो गएपछि तमोर नदी केही समय थुनिएको थियो । दिउँसोदेखि एक छेउबाट पानी बग्न सुरु भए पनि थुनिएको भाग पूर्णरुपमा खुलेको छैन । खोंच र भीर भएका कारण सुरक्षाकर्मीले पहिरो हटाउन सक्ने सम्भावना देखिँदैन । आइतबार बिहान मितलुुङ बजारका स्थानीय बासिन्दा बजार छाडेर सुरक्षित स्थानतर्फ सरेका थिए । दिउँसो पानीको सतह घटेपछि उनीहरु घर फर्किएका छन् । नदी पूरै नखुलेसम्म थुम्बा बेंसीको बस्तीसहित केही किलोमिटर तलको भागमा रहको दोभान र हान्द्रुङ बजार अझै पनि जोखिममै रहको घटनास्थलमा खटिएका सुरक्षाकर्मीले बताएका छन् ।

दोभान र हान्दु्रङका स्थानीयलाई सचेत भएर बस्न आग्रह गरिएको ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले अनलाइनखबरलाई बताए । नदी थुनिएपछि ताप्लेजुङ सदरमुकामबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेका छन् । तर, नदी खुलाउने सम्भावना नरहेकाले उनीहरु हेरेर र्फकन बाध्य भएका छन् ।

, ,

0 comments

Write Down Your Responses