सांसददेखि ‘डन’सम्म खुमबहादुरको गोप्य भेला, हिन्दू राष्ट्रका पक्षमा फेरि अभियान चलाउने
काठमाडौं असार - नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहदुर खड्काले हिन्दू राष्ट्र र पार्टीभित्रको पदाधिकारी बाँडफाँडका विषयमा आफू निकट दुई दर्जन नेताहरूसँग परामर्श गर्नुभएको छ ।
ललितपुरको लगनखेलमा शनिबार नेता खड्काले हिन्दू राष्ट्रको आफ्नो अभियानलाई फेरि चलाउने बताउनुभयो । भेलामा सहभागी कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री देवेन्द्रराज कँडेलले हिन्दू राष्ट्रको आफ्नो पुरानो अभियानलाई पुनः चलाउने सहमति भएको जानकारी दिनुभयो । ‘हिन्दू राष्ट्रको अभियानलाई फेरि हामीले चलाउँछौँ’, उहाँले भन्नुभयो, ‘राष्ट्रियता र हिन्दू राष्ट्रका पक्षमा समानधारणा राख्ने विभिन्न दलका नेताहरूसँग छलफल गरेर अभियानलाई अगाडि बढाउने सहमति भएको छ ।’
नेता खड्काले आफू निकट मुलुकभरिबाट अभियानमा महत्वपूर्ण सहयोग गर्नेहरूलाई बोलाएका थिए । बाहिरका व्यक्तिलाई प्रवेश निषेध गरेर गोप्य रुपमा गरिएको भेलाले पार्टी सभापति शेरबहादुर देउवाले उपसभापतिमा मनोनयन गर्ने भनेर गरेको पूर्व सहमति कार्यान्वयन नगरेको विषयमा पनि छलफल भएको थियो ।
सभापति देउवाले पूर्व सहमतिअनुसार खड्काज्यूलाई उपसभापतिमा नियुक्त गर्नु पर्नेमा अहिलेसम्म नियुक्त नगर्नुको कारण सोध्ने सहमति भएको कँडेलले उल्लेख गर्नुभयो । ‘खुमबहादुर खड्कालाई उपसभापतिमा नियुक्त गर्ने सहमति भएको थियो’, उहाँले भन्नुभयो, ‘उपसभापतिसहित अरु पदाधिकारी र सदस्यहरू पनि नियुक्त नगर्नुको कराणका विषयमा हाम्रो टिमले सभापतिज्यूसँग भेटेर कुरा गर्ने सहमति गरेका छौँ ।’
हिन्दू राष्ट्रको अभियानलाई बृहत आन्दोलनका रुपमा अगाडि बढाउन भेलाका सहभागीले नेता खड्कालाई दबाब दिएको कँडेलले उल्लेख गर्नुभयो ।
‘मैले गिरिजाबाबुलाई मन्त्रीको पद पनि बुझाएको छु’, खड्काको भनाइ उदृत गर्दै कँडेलले भन्नुभयो, ‘कांग्रेसलाई बचाउन जस्तो पनि कदम उठाउन तयार छु ।’
भेलाले केन्दीय सदस्य देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, शंकर भण्डारी, अजय चौरासियालगायतका कांग्रेस नेताहरूको सहभागिता रहेको थियो ।
यो समूहले सभापति देउवालाई छिट्टै सामूहिक रुपमा भेटेर खड्कालाई उपसभापतिमा नियुक्त गर्न दबाब दिनेछ ।
भेलामा डडेलधुराका जिल्ला सभापति कर्ण मल्ल, दाङ जिल्लाका सभापति कीर्ति खड्का, रौतहट जिल्ला सभापति कृष्ण यादव, मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँ, सासंद तप्तबहादुर बिष्ट, सुशीला चौधरी, दीपक खड्का, दीपक खनाल, राजु खनाल, बुद्धिराम भण्डारी, पूर्वमन्त्री शिवराज जोशी, पूर्वमन्त्री दुर्योधनसिंह चौधरी, पूर्वमन्त्री रबिन्द्र श्रेष्ठ, कांग्रेस नेता चन्द्र केसी, रामजीवन सिंह, भोला थापामगर, रमेशजंग रायमाझी, पत्रकार देवप्रकाश त्रिपाठी, अधिवक्ता कुमार रेग्मी, प्रेम लामा, महासमिति सदस्य एवम् कथित ‘डन’ मीनकृष्ण महर्जन, अमित शेरचन, रमेश पाण्डे, बीरबहादुर लामा, भुमा पाण्डे, पत्रकार छायाँचन्द्र भण्डारी, पशुपति डिसीलगायतको उपस्थिति रहेको थियो ।

0 comments
Write Down Your Responses