श्रीमान्-श्रीमती नै क्रिकेटर, खेलकुदमा त्यस्ता धेरै रोचक रेकर्ड बनेका छन्, जुन कमैलाई थाहा छ । विश्व क्रिकेटमा अहिले त्यस्तै रोचक रेकर्ड चर्चामा छ
सिड्नी - अस्ट्रेलियन टोलीका तीव्र गतिका बलर मिचेल स्टार्क र अस्ट्रेलियन महिला टोलीकी विकेटकिपर अलिसा हेली हालै विवाहबन्धनमा बाँधिएका छन्। उनीहरूको विवाह त्यत्तिमै सीमित रहेन।
अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा स्टार्क र हेली एउटै देशका लागि एकै समयमा टेस्ट क्रिकेट खेल्ने विश्व क्रिकेटको केवल तेस्रो श्रीमान्- श्रीमतीको जोडी हो।
स्टार्क र हेलीले दुई दिनअघि मात्रै आफूहरूको लामो समयको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका थिए। उनीहरूको विवाह समारोहमा केही खेलाडीको पनि उपस्थिति थियो ।
उनीहरूभन्दा पहिले एउटै देशका लागि टेस्ट क्रिकेट खेलेर विवाहबन्धनमा बाँधिएका त्यस्ता दुई जोडीमात्रै थिए।
इङ्ल्यान्डका रोजर प्रिडिउक्स र रुथ वेस्टब्रुकको जोडी त्यस्तो पहिलो जोडी हो । सन् १९६० को अन्त्यतिर रोजरले इङ्ल्यान्डका लागि तीन टेस्ट क्रिकेटमा ओपनिङ ब्याट्सम्यानको भूमिका निर्वाह गरेका थिए।
रुथले आफ्नो देशका लागि ११ टेस्ट क्रिकेट खेलेकी थिइन्। उनीहरूले पनि आफ्नो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका थिए। दुःखको कुरा, रुथको यसै महिनाको सुरुआतमा मृत्यु भएको छ।
उनीहरूभन्दा पछि श्रीलंकाका गाई डी अलविज र रासञ्जली चन्डिमा सिल्भा एउटै देशका लागि टेस्ट क्रिकेट खेलेर श्रीमान् श्रीमती बन्ने दोस्रो जोडी हुन्।
अलविजले श्रीलंकाको सुरुआती ११ टेस्ट खेलेका थिए।
सिल्भाले पनि १९९८ मा देशका लागि टेस्ट खेलेकी थिइन्। न्युजिल्यान्डका रिचार्ड हाडली र करेनको जोडी पनि क्रिकेटकै जोडी हो। यद्यपि करेनले न्युजिल्यान्डका लागि एकदिवसीय क्रिकेटमात्रै खेलेकी थिइन्।

0 comments
Write Down Your Responses