मोरङको बाहुनीस्थित राधानगरमा पेट्रोल खानी अन्वेषण गर्न उत्खनन्को काम सुरु, चिनियाँ टोली मोरङमा चीन सरकारसँग भएको सम्झौताअनुसार चिनियाँ टोलीले देशका विभिन्न दश स्थानमा पेट्रोल तथा प्राकृतिक ग्यासको अध्यायन गर्न सुरु
मोरङ- मोरङको बाहुनीस्थित राधानगरमा पेट्रोल खानी अन्वेषण गर्न उत्खनन्को काम सुरु हुँदा जयप्रकाश गौतम लक्का जवान थिए ।
ऊबेला गाउँमै आएका विदेशी टोलीले दिनरात जमिन छेँडेर पेट्रोल अन्वेषणको काम सुरु गर्दा उनकै उमेरका दौंतरीको दिनचर्या भने ‘भेला हुने र पाइप गाडेको’ हेर्ने थियो ।
गौतमसहित धेरै गाउँले मेसिनले जमिनमा प्वाल पार्दै फलामका बढेमानका पाइप भस्साउँदै गरेको हेर्न दिनहुँ भेला हुन्थे । कतिपय गाउँलेले बालुवा बोक्ने र जमिनबाट निस्किएको लेदो फ्याक्नका लागि रोजगारी पनि पाएका थिए ।
मंगलबार पनि राधानगरमा स्थानीय गाउँलेको ठूलो भिड लाग्यो ।
‘उबेला पनि जमिनबाट तेल निस्किएको हेर्न पाइने कुराले हामी धेरै रोमाञ्चित र आशावादी बनेका थियौं’, गौतमले भने, ‘पच्चीस वर्ष बितेछ विदेशी टोलीले जमिन प्वाल पार्दा बनेका खाल्डो पुरपार गरेर गएको, त्यसयता त पेट्रोल निकाल्ने भनेर कोही पनि आएनन् ।’
मंगलबार ६ जना चिनियाँ टोलीसहित उद्योग मन्त्री सोमप्रसाद पाण्डे राधानगर पुग्दा अहिले वृद्ध अवस्थामा पाइला टेकेका गौतम पहिलेकै दौंतरीसँगै ‘राधानगरको जमिन मुनि पेट्रोल रहेको’ भन्ने विश्वास गरेको ठाउँमा पुगे । उनीसँगै गाउँलेको भिड लाग्यो । धेरै गाउँले त आफ्नै ठाउँमा पेट्रोल खानी छ वा छैन भन्नेमा अन्योल नै रहेका जस्ता थिए । युवक युवतीको पनि ठूलो जमघट थियो ।
पहिले अन्वेषणको काम हुँदा किशोर अवस्थामा रहेका उदय श्रेष्ठले भने, ‘मन्त्री आफैं आएर चिनियाँ सरकारी टोलीका प्राविधिकले काम थाल्ने आश्वासन दिएपछि अब काम बढ्ला भन्ने आशा पलाएको छ ।’
राधानगरमा पेट्रोल भण्डार रहेको पुष्टि भए यो क्षेत्रकै विकास हुनेमा आफूहरु आशावादी भएको श्रेष्ठले बताए ।
पच्चीस वर्षअघि नेपाल सरकारले नर्वेको एक निजी कम्पनी मार्फत् गराएको उत्खनन् बीचैमा रोकिएपछि राधानगरमा ‘ड्रिल’ गरिएको ठाउँमा प्लाष्टर गरेर भ्वाङ परेको ठाउँ पुरेर राखिएको छ ।
त्यतिबेलाको टोलीले जमिन मुनी ३ हजार ५ सय १४ मिटरसम्म भ्वाङ पारेर चट्टान र जमिनको भित्री सतहको अध्ययन गरेको थियो । उद्योग मन्त्री पाण्डेले भने, ‘अब चिनियाँ सरकारी टोलीले पहिलेको प्रतिवेदन अध्यायन गर्दै अन्वेषणको काम थाल्दैछ । पेट्रोल भण्डारणको अवस्था हेरेर व्यवसायिक उत्पादनका लागि उपयुक्त भए तीन वर्षभित्र निकाल्न सुरु गरिन्छ ।’
राधानगरमा सबैभन्दा धेरै पेट्रोल रहेको भन्ने विश्वास गरिएको मन्त्री पाण्डेले बताए ।
चिनियाँ टोलीले सुनसरीको चतरा क्षेत्रको चट्टानको अध्यायन गरेको र राधानगरमा समेत पेट्रोलको ठूलो भण्डारण रहेको आँकलन गरेको मन्त्री पाण्डेले बताए ।
चिनियाँ सरकारको तर्फबाट चाङको नेतृत्व प्राविधिकको टोली खटिएको छ । खानी तथा भूगर्भ विभागको टोलीसँगै उनीहरु केही दिन राधानगरमै रहने छन् । मन्त्रीले पाण्डेले भने, ‘विस्तृत अध्यायन गरेर टोलीले नेपाल र चिनियाँ सरकारलाई जानकारी गराएपछि उपकरणसहित काम थाल्न आउने छन् ।’
अहिले त्यो ठाउँमा सरकारले घेराबारा गरेको तीन बिघा सरकारी जमिन र अन्वेषण गर्दा सामग्री राख्न बनाइएको भवनको सुरक्षाको लागि दुई जना सुरक्षाकर्मी खटाइएको छ ।
चीन सरकारसँग भएको सम्झौताअनुसार चिनियाँ टोलीले देशका विभिन्न दश स्थानमा पेट्रोल तथा प्राकृतिक ग्यासको अध्यायन गर्न सुरु गरेको हो । गत वैशाख २५ गते दैलेख घोषणा जारी गर्दै अन्वेषणको काम आरम्भ गरिएको हो ।
सरकारले दैलेख, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, वीरगञ्ज, मलङ्वा, जनकपुर, राजविराज र मोरङलाई विभिन्न दशवटा ब्लकमा विभाजन गरी ग्यास तथा पेट्रोलियम पदार्थको अनुसन्धान र उत्खनन् सुरु गर्न लागेको हो ।


0 comments
Write Down Your Responses