‘हेडमास्टर’ले ‘डूमहरु मन्दिर नजिकमा बस्नु नहुने’ भन्दै उठिवास गर्न खोजेपछि मुद्दा दर्ता

कञ्चनपुर वैशाख - झलारी पिपलाडी नगरपालिका–६ कसरौलस्थित वैजनाथ उमाविका प्राचार्य र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध छुवाछुतविरुद्धको मुद्दा दायर गरिएको छ । 

विद्यालय नजिकै छाप्रो बनाएर बस्दै आएकी द्रौपदी लुहारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिराप्रसाद जोशी, प्राचार्य सिद्धराज भट्ट र शिक्षक खडक साउदविरुद्ध गत चैत ३० गते जिल्ला प्रशान कार्यालय कञ्चनपुरमा मुद्दा दायर गरेकी हुन । लुहारले दायर गरेको मुद्दामा १५ वर्षदेखि बसोबास गर्दै आएको ठाउँमा जबर्जस्ती गौरा मन्दिर स्थापना गरी दलित अछुतले मन्दिर नजिकमा बस्नु नहुने र बसेमा माथिल्लो जातिका व्यक्तिलाई छुवाछुत हुन्छ भनी बस्दै आएको जग्गाबाट जबर्जस्ती उठाउने प्रयास भइरहेको उल्लेख छ । 

दलित समुदायको एकल नारीमाथि छुवाछुतको भावना राखी जबर्जस्ती बस्दै आएको ठाउँबाट उठाउने प्रयास भइरहेकाले अन्यायीमाथि छुवाछुत ऐनअन्तर्गत हदैसम्मको कारबाही गर्न माग गरिएको छ । जग्गा कायम गर्न र जबर्जस्ती बनाइएको मन्दिर हटाउन समेत माग गरिएको छ । विद्यालयका प्राचार्य भट्टले अस्थायी रुपमा लुहार परिवारलाई आश्रय दिइएको जग्गा विद्यालयको भएकाले पर्खाल बनाउनका लागि खाली गर्न भनिएको बताए ।

0 comments

Write Down Your Responses